Comments Add Comment

बैंकको ब्याज मिनाहा हुँदैन, भाका सार्न सकिन्छ : गभर्नर अधिकारी

२३ वैशाख, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीले बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने बताएका छन् ।

मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी उनले ब्याज मिनाहाको माग आए पनि कार्यान्वयन गर्न सम्भव नभएको बताएका हुन् ।

‘ब्याज मिनाहको माग त आउँछ । आइरहेको पनि छ । तर त्यो सम्भव छैन,’ उनले भने ।

व्यवसायीले तिर्नुपर्ने ऋणको भाका सार्न भने सकिने गभर्नर अधिकारीले बताए । ‘अहिले ब्याज तिर्नपर्ने तनावमा नपर्नुहोस् । भोलि त तिर्न परिहाल्छ । अहिलेलाई समय सार्ने, विजनेसमा अप्ठेरो नपरोस भन्नेमा छौं’ उनले व्यवसायीहरुलाई भने ।

बैठकमा सांसदहरुले नेपालमा बैंक ब्याजदर बढी रहेको भन्दै कम गर्नुपर्ने बताएका थिए । जवाफमा गभर्नर अधिकारीले विकसित देशमा भन्दा अल्पविकसित देशमा ब्याजदर बढी नै हुने बताए ।

यस्तै, वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको उनले बताए । सांसदहरुको प्रश्नमा गभर्नर अधिकारीले पाँच करोडभन्दा बढी ऋण लिनेहरु ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको बताए ।

बैठकमा उनले अर्काे वर्ष रेमिट्यान्स र राजस्वका स्रोतहरु घट्दा अर्थतन्त्र अप्ठेरोमा पर्न सक्ने विषयलाई समेत ख्याल गरी मौद्रिक नीति बनाउनुपर्ने बताए ।

बैठकमा सांसदहरुले निर्वाहुमुखी अर्थतन्त्रलाई आत्मनिर्भर र औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment