+
+
Shares

सुस्ता डुबान : सशस्त्र प्रहरीद्वारा २९ जनाको सकुशल उद्धार

उद्धार गरिएका स्थानीय तथा चौपायालाई सुस्ता गाउँपालिका–५ मा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १३:२९

१० असोज, काठमाडौं । नारायणी नदीको बाढीले बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि सुस्तास्थित थारुटोलमा पानी पसेको थियो। आज बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका २९ जना स्थानीयको उद्धार गरेको हो। टोलीले एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ।

उद्धार गरिएका स्थानीय तथा चौपायालाई सुस्ता गाउँपालिका–५ मा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

यसअघि नारायणीको बाढी सुस्ताको थारु टोलमा पसेर १६५ घरमा असर गरेको थियो। थारु टोलका ७८ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो भने सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो।

नारायणी नदीको पानीको सतह बढिरहेको र सुस्ताका अन्य बस्तीसमेत जोखिममा रहेको स्थानीयले बताएका थिए। सुस्तामा निर्माणाधीन तटबन्धको १३२ मिटर भाग निर्माण हुन बाँकी रहेकाले उक्त क्षेत्रमा नदी कटानको जोखिम रहेको स्थानीयको भनाइ छ।

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलको थप उद्धार कार्य जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?