१५ भदौ, काठमाडौं । सुस्ताका थारूटोलनिवासी ४४ वर्षीय जोगिन्दर थारूको लागि आयस्ताको एक मात्र स्रोत थियो- उखुबाली । उखु खेती गरेर उनले आफ्नो दैनिक गर्जो मात्र टार्दैन थिए । त्यसबाहेकका सबै कुराहरूको प्रबन्ध उखुखेतीले नै थेगेको थियो ।
तर देशलाई नै आक्रान्त तुल्याएको बाढीपहिरोले सीमावर्ती क्षेत्र सुस्तासम्म क्षति गर्यो । केही अघिसम्म शान्त बगिरहेको सुस्ताले आफ्नो रूप फेर्यो । र, सुस्तामा बनाईएको बाँध भत्कियो । बाँध भत्किएपछि २० बिघा जमिनमा लगाईएको उखुबाली र धानमा क्षति पुगेको छ । यो कटान अझै तीव्र हुँदै जाने स्थानीयहरू बताउँछन् ।
जोगिन्दरले आफ्नो १५ विघा खेतमा लगाएको उखुबली यही कटानमा मिसिन पुग्यो । पानी र लेदोको सतहमुनि आफ्ना समग्र आर्जन पुरिएपछि उनको आयस्ताको स्रोत नै रितिएको उनले सनुाए ।
नारायणी नदीको यो विकराल स्वरूपमा जोगिन्दर मात्र हैन, अन्य सुस्तावासीहरू पनि परेका छन् । तर, १५ कठ्ठाको विशाल क्षेत्रफलमा फैलिएको उनको बाली मासिँदा सबैभन्दा बढी क्षति उनलाई परेको छ ।
बाँध भत्किएलगत्तै नदीको पानी सुस्ता बस्ती र आसपासका कृषि क्षेत्रमा सोझै प्रवेश गरेको छ। नदीले तीव्र रूपमा जमिन कटान गरिरहेकाले खेतीयोग्य जमिन मासिने क्रम रोकिएको छैन ।

सुस्ताको थारू टोल अहिले सबैभन्दा उच्च जोखिममा परेको छ। सुस्ता बचाउ अभियानसँग लामो समय देखि जोडिएका अवधेश कुशवाहाका अनुसार, नदीले गरिरहेको कटान अहिले सुस्ताको थारू टोलबाट जम्मा ८० मिटरको दुरीमा मात्र बाँकी रहेको छ। नदीको कटान गाउँको यति नजिक पुगेपछि थारू टोलका बासिन्दाहरू आफ्नो गाउँ र घर छाड्न बाध्य भइरहेका छन्।
गाउँका बासिन्दाहरूले आफ्ना घरका सरसामानसुरक्षित ठाउँतिर सारिरहेका छन्। स्थानीय मानिसहरूले घरका सामानहरू यताउता बोकेर सुरक्षित स्थानतर्फ गइरहेका छन् ।
स्थानीय बासिन्दाहरूका अनुसार, नदीमा पानीको सतह सामान्य मात्र बढ्दा पनि गाउँमा पानी पस्ने स्थिति बनेको छ। एक स्थानीय भन्छन्, ‘अब ५ फिट पानी बढे पनि १ फिट बढे पनि त्यो गाउँमा त पसिसकेको छ ।’
नदीले कटान जारी राख्दै आफ्नै आकार बनाइरहेकाले साना घर र छाप्राहरू समेत कटानको चपेटामा परिसकेका छन् । मानवीय क्षति हालसम्म ठूलो परिमाणमा नभए पनि मानिसहरूको जायजेथा, घर र जमिनमा पानी पसिरहेको छ । सडक तथा वस्तीमा लेदो सहितको पानी पस्दा अझ दुर्गन्धित भएको छ ।
स्थानीयस्तरमा संकट चुलिँदै जाँदा राज्य तथा सरकारका निकायहरूको उपस्थिति भने न्यून देखिएको छ। सुस्ताको यो भीषण संकटतर्फ कसैको ध्यान नगएको स्थानीयको गुनासो छ। देशमा सबैतिर बाढी पहिरोले संकट सिर्जना गरिरहेको बेला सरकारले बेलैमा सुस्ता क्षेत्रमा पनि ध्यान दिनुपर्ने उनीहरूको माग छ ।

अवधेश कुशवाहाले गुनासो गर्दै भने, ‘रसुवा, नुवाकोट, धादिङ जस्ता क्षेत्रहरूमा सरकारले गरिरहेको काम प्रशंसनीय छ। हाम्रोतिर भने केही प्रयास भएको छैन ।’
यतिखेर स्थानीय सरकार पनि संलग्न हुनु पर्ने र उत्तरदायी भूमिका खेल्नु पर्नेमा त्यस्तो नदेखिएको कुशवाहा बताउँछन् । स्थानीय तहका मानिसहरू संकट समाधान गर्नभन्दा पनि अवलोकन र फोटो खिच्न मात्र आउने गरेको आरोप कुशवाहाले लगाएका छन्। उनले भने, ‘सबैले त केही फोटो खिचेर मात्रै आउँछ ।’
सुस्तामा निर्माण गरिएको बाँध पटक पटक नेपाल र भारत बीचको विवादको विषय बनेको छ । यसअघि जेठ १९ मा भारतीय सुरक्षाकर्मीहरूले विवादित क्षेत्रमा बाँध नबनाउन भनेका थिए ।
प्रतिक्रिया 4