News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीले प्रभावित रसुवामा विद्युत् आपूर्ति पुनर्स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ।
- स्थानीय विद्युत् प्रणालीमा साञ्जेनबाट उत्पादन जोड्न मेसिनको पासवर्ड रिसेटका लागि ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको छ।
- तत्काल जोड्न नसकिने प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य ऊर्जासहितका वैकल्पिक स्रोतबाट विद्युत् सेवा उपलब्ध गराइनेछ।
१५ भदौ, काठमाडौं । बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनर्स्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ ।
प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा आपूर्ति गर्ने प्रयास गरिरहेको हो । त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ ।
साञ्जेन जलविद्युत् गृहबाट विद्युत् उत्पादन गरी स्थानीय प्रणालीमा जोड्नका निम्ति मेसिनको पासवर्ड रिसेट गर्न आवश्यक सहयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको छ ।
बाढीबाट प्रभावित तथा तत्काल विद्युत प्रणालीमा जोड्न सम्भव नहुने अन्य क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य ऊर्जासहितका वैकल्पिक स्रोत प्रयोग गरी विद्युत् सेवा उपलब्ध गराउने तयारी भइरहेको छ ।
बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा नियमित आपूर्ति पुनःस्थापनाको कामसँगै तत्कालीन आवश्यकता पूरा गर्न वैकल्पिक ऊर्जा स्रोत परिचालन गर्ने रणनीति लिइएको प्राधिकरणले जनाएको छ ।
धुन्चेमा विद्युत् सेवा सञ्चालन
धुन्चेमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ । गोसाईकुण्ड गाउँपालिकाको सम्पूर्ण वडामा विद्युत सेवा बन्द हुन पुगेकोमा वडा नम्बर ६ को सम्पूर्ण स्थानमा विद्युत सेवा सुरु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । धुन्चे बजार वडा नम्बर ६ मा पर्दछ ।
कार्यालयका अनुसार गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ को आधा भू–भागहरूमा विद्युत् सेवा सुरु हुने चरणमा रहेको छ । यो वडामा विद्युत् सेवा सुरु गर्ने गरी काम भइरहेको छ।
यसैगरी नौकुण्ड गाउँपालिका रहेका ६ वटै वडामा विपद्पछि विद्युत सेवा बन्द भएको थियो । जसमध्ये केही स्थानमा विद्युत् सेवा सुचारु भैसकेको र बाँकी स्थानमा सेवा सुचारु गर्ने कार्य भइरहेको जनाइएको छ ।
प्रतिक्रिया 4