+
+
Shares

सुस्तामा नेपाल–भारत सीमा छुट्याउने सिमलको रुख बाढीले बगायो

स्थायी सीमा स्तम्भ तत्काल राख्नुपर्ने माग

नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नेपाल–भारतको सीमा छुट्याउने सिमलको रुख बगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नारायणी नदीको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा नेपाल–भारत सीमा मानिएको सिमलको रुख बगाएको छ।
  • सुस्ता बचाउन सरकारले थालेको १ सय ३२ मिटर तटबन्ध निर्माणमा भारतीय एसएसबीले अवरोध गर्दा दुई महिनादेखि काम रोकिएको स्थानीयले बताएका छन्।
  • सुस्तावासी र गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले स्थायी सीमा स्तम्भ तत्काल राख्न संघीय सरकारसँग माग गरेका छन्।

१८ भदौ,बुटवल । नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नेपाल–भारतको सीमा छुट्याउने सिमलको रुख बगाएको छ ।

सुस्ता गाउँलाई बाढीबाट जोगाउन नारायणी नदीमा सरकारले १ सय ३२ मिटर तटबन्ध निर्माण थालेकामा भारतीय एसएसबीले अवरोध गरेका कारण दुई महिनादेखि काम रोकिँदा सोही क्षेत्रबाट बाढी पसेको स्थानीयले बताएका छन् ।

सुस्ता–५ का वडा सदस्य समेत रहेका सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खानले बुधबार राति आएको बाढीले सीमा स्तम्भ मान्दै आइएको सिमलको रुख बगाएको जानकारी दिए ।

नारायणी नदी पारी थारू टोलमा रहेको यो रुखलाई नेपाल र भारतका जिल्लास्तरका सुरक्षा प्रमुख र स्थानीयको सहभागितामा १८ वर्षअघि २०६५ सालमा सीमा स्तम्भको रूपमा मान्ने सहमति भएको थियो ।

बाढीले यो सिमलको रुख बगाएपछि सुस्तावासीले स्थायी सीमा स्तम्भ तत्काल राख्नुपर्ने माग गरेका छन् ।

सुस्तामा स्थायी सीमा स्तम्भ नहुँदा भारतीय पक्षले पटक-पटक विवाद गर्दै आएकोले स्थायी सीमा स्तम्भ तत्काल राख्नुपर्ने सुस्ता गाउंपालिका अध्यक्ष टेकनारायण उपाध्यायले संघीय सरकारसँग माग गरे ।

‘स्थायी सीमा स्तम्भ नभएकै कारण भारतीय पक्षले पटक पटक नेपाली भूमि अतिक्रमण गर्ने र विवाद निम्त्याउने गरेको छ,’ अध्यक्ष उपाध्यायले भने ।

दुई दिन अघि आएको बाढीका कारण सुस्ताको थारू टोलामा समेत पानी पसेर २० बिघा क्षेत्रफलमा लगाइएको उखु खेतीमा क्षति पुराएको थियो ।

सीमा विवाद रहेको सुस्ता ५ मा २२० घरधुरीका १४ सय ५७ घरपरिवारको बसोबास छ ।

प्रधानमन्त्री बालेन शाहले संसद्‍को रोष्ट्रमबाट नेपालले भारतको सीमा थुप्रै ठाउँमा मिचेको अभिव्यक्ति दिएपछि सुस्ताको सीमा विवादमा भारतीय पक्षलाई बल पुगेको उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?