+
+
Shares

आफन्त चिने, शव लैजान पाएनन्

डीएनए रिपोर्ट कुर्दै पीडित परिवार

शव पहिचान भएको विश्वास हुँदाहुँदै पनि घर लैजान नपाउँदा पीडितहरू थप मानसिक पीडामा देखिन्छन्।

शान्ता अधिकारी शान्ता अधिकारी
२०८३ भदौ १८ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा भेटिएका ३५५ शवमध्ये १२ को मात्र पहिचान भएको छ, र ८३६ जनाले आफन्त हराएको भन्दै प्रहरीमा नाम टिपाएका छन्।
  • भैरहवाका अनिल यादव र गोरखाका मनबहादुर लामाले तस्वीर र शरीरका चिनारीका आधारमा आफन्त पहिचान गरेको दाबी गरे पनि डीएनए रिपोर्ट नआएसम्म शव बुझ्न पाएका छैनन्।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भदौ १६ गतेदेखि डीएनए नमुना संकलन सुरु गरिएको छ र दुई दिनमा २५ जनाको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ।

१८ भदौ, भरतपुर । भैरहवाका अनिल यादव तीन दिनदेखि भरतपुरमा छन्। उनको हातमा हरदम मोबाइल छुट्दैन। त्यही मोबाइलको स्क्रिनमा एउटा शवको तस्वीर छ, जसलाई उनी पटक–पटक हेर्छन् र वरिपरिकालाई भन्छन्, ‘यो मेरो मान्छे हो।’

अनिलले भदौ १३ गते नै तस्वीर हेरेर आफ्ना भाइको पहिचान गरिसकेका थिए। तर थप पीडा नहोस् भनेर परिवारलाई तत्काल खबर गरेनन् ।

अनिल भाइको शव घर लैजाने प्रक्रिया बुझ्न आफन्त सहित चितवन आएका हुन् । तीन दिन बितिसक्दा पनि उनले शव घर लैजान भने पाएका छैनन् ।

शवको अनुहार हेरेर भाइको पहिचान गरिसकेको उनी बताउँछन्। प्रहरीले भने डीएनए परीक्षण गरेर मात्र आफन्तलाई शव जिम्मा लगाउँदै आएको छ।

प्रहरी नजिक गएर अनिल बारम्बार भन्छन्, ‘त्यो दिनदेखि नै मैले हजुरहरूलाई भनिरहेको छु, यो मेरो आफन्त हो भनेर।’

घरका अन्य सदस्यले पनि तस्वीर हेरेर शव अनिलको भाइकै भनिरहेका छन्। उनी भन्छन्, ‘घरमा परिवारका सदस्यहरू अन्तिम संस्कारका लागि पर्खिरहनु भएको छ। म यहाँ डीएनए रिपोर्टको कुरिरहेको छु।’

शव भेटिएको विश्वास भइसके पनि अन्तिम संस्कार गर्न नपाउँदा आफ्नो परिवारको पीडा झन लम्बिएको अनिल बताउँछन्।

गोरखाका मनबहादुर लामा पनि अनिल जस्तै भरतपुरमा दौडधुप गरिरहेका छन्। रसुवाको टिमुरेबाट हराएका आफ्ना छोरा चितवनमा फेला परेको खबर पाएपछि उनी नातिनीसहित शव पहिचान केन्द्र आईपुगेका हुन्।

मोबाइलको स्क्रिनमा शवको तस्वीर देखाउँदै उनी आफ्नो छोरासँग अनुहार हुबहु मिलेको बताउँछन्। ‘अनुहार हेर्नु, चिउँडो हेर्नु, छोराको ओठ सबै मिल्छ’, उनी भन्छन्।

शव तत्काल घर लैजान नपाइने भएपछि उनी अन्योलमा छन्। किन लैजान नपाइने हो भन्ने स्पष्ट जानकारीसमेत नपाएका उनी शव पहिचान केन्द्रमा प्रहरी र स्वयंसेवकसँग प्रक्रिया बुझ्न खोजिरहेका थिए।

‘मेरो छोराको फोटो हेर्नु त ठ्याक्कै मिल्छ,’ बुधबार उनले भने ।

परिवारका सदस्यहरूले फोटो, कपडा, गहना तथा शरीरका अन्य चिनारीका आधारमा आफ्ना आफन्त पहिचान गरिसकेको दाबी गरिरहेका छन्। तर यतिकै आधारमा उनीहरूले शव घर लैजान पाइरहेका छैनन्।

उता प्रहरी भने यस्तो संवेदनशील अवस्थामा पहिचानमा कुनै त्रुटि नहोस् भन्नेमा सचेत छ। गलत व्यक्तिलाई शव हस्तान्तरण हुने अवस्था नआओस् भनेर डीएनए परीक्षणलाई अन्तिम आधार बनाएको प्रहरी अधिकारीहरूले बताएका छन्।

शव पहिचान कक्षमा खटिएका प्रहरी नायब निरीक्षक हरि ढकाल अनिल र मनबहादुरहरूलाई यही प्रक्रिया सम्झाउन व्यस्त छन् । ढकाल भन्छन्, ‘प्रारम्भिक रूपमा पहिचान भए पनि औपचारिक रूपमा शव हस्तान्तरण गर्न डीएनए परीक्षण आवश्यक छ।’

डीएनए रिपोर्ट नआएसम्म शव दिन नमिल्ने उनी बताउँछन्। यसरी पीडित परिवारको भावनात्मक आवश्यकता र प्रहरी प्रशासनले अपनाएको वैज्ञानिक तथा कानुनी प्रक्रियाबीच दूरी देखिएको छ।

चितवनमा फेला परेका ३५५ मध्ये १२ शवको मात्र पहिचान भएको छ।

तस्वीर हेरेर पहिचान भएको दाबी गर्ने परिवारको संख्या पनि बढ्दै गएको प्रहरीले जनाएको छ।

चितवनमा अहिलेसम्म ८३६ जनाले आफन्त हराएको भन्दै प्रहरीमा नाम टिपाएका छन्। पीडित परिवारको संख्या बढ्दै जाँदा शव पहिचान, नमुना संकलन र व्यवस्थापनमा प्रहरी प्रशासनमाथि पनि दबाब बढेको हो।

चितवनमा भदौ १६ गतेदेखि डीएनएको नमुना संकलन सुरु गरिएको हो । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर ईकाई कार्यालय भरतपुर, जनस्वास्थ्य कार्यालय भरतपुर र भरतपुर सरकारी अस्पतालको सहकार्यमा नमुना संकलन भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी चन्द्रभूषण यादवका अनुसार चितवनमा दुई दिनमा २५ जनाको डीएनए नमुना संकलन भएको छ। संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाइनेछ। काठमाडौंमा परीक्षण प्रक्रिया पूरा भएपछि मात्रै नतिजा प्राप्त हुनेछ।

यादवका अनुसार नमुना काठमाडौं पठाएर परीक्षण गर्नुपर्ने भएकाले रिपोर्ट आउन केही समय लाग्न सक्छ। तर त्यो ‘केही समय’ आफन्तका लागि ‘लामो समय’ भइदिएको छ।

रिपोर्ट आउन दुई–तीन महिना लाग्न सक्ने यादव बताउँछन्।

शव पहिचान भएको विश्वास हुँदाहुँदै पनि घर लैजान नपाउँदा पीडितहरू थप मानसिक पीडामा देखिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?