Comments Add Comment

‘भारतबाट आएका व्यक्तिलाई चेकजाँच नगराउनु नै लापरबाही भयो’

जब वीरगञ्ज र उदयपुरका मस्जिद एवं मदरसामा मानिसहरू भेटिए र उनीहरूमा कोभिड १९ संक्रमणको पुष्टि पनि भयो, एक व्यक्तिले गर्दा सम्पूर्ण समुदाय बदनाम नहोस् भनेर मुस्लिम आयोगले सबै पक्षसँग सल्लाह गरी देशभरका मदरसा र मस्जिदको अनुगमन गर्न समिति बनायो । अरू ठाउँमा पनि मानिसहरू यसरी बसेका हुन सक्छन् भनेर अनुगमन समिति बनाइयो ।

समिति बनेपछि हामीले नेपालगञ्जको स्थानीय सरकारलाई खोज्यौं, स्थानीय प्रशासनलाई खोज्यौं, विभिन्न धर्मका गुरुहरूलाई भेट्यौं र जिल्ला प्रशासनमा बैठक गरेर कोही विदेशबाट आएका र कोही कोभिडको लक्षण देखिएकाहरूको स्वास्थ्य परीक्षण गराउने भनियो ।

विशेष गरी धर्मगुरुहरू, जो चाहे मन्दिर मस्जिदका हुन्, चाहे चर्च र गुरुद्वाराका नै किन नहुन्, उनीहरूबाट चेकजाँच सुरु गरौं भनेर सल्लाह भयो ।

मुस्लिम समुदायको महान् पर्वको रोजा चलिरहेको छ । त्यसैले उनीहरूलाई साँझ ७ बजेपछि चेक गर्ने, अरूलाई दिउँसो चेक गर्ने भन्ने पनि तय गर्‍यौँ । चेकजाँचकै क्रममा फैजाने मदिनामा १० जनालाई चेक पनि गराइयो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आयो ।

त्यसको भोलिपल्ट फूलबारीवाली मस्जिदमा ११ जनामा परीक्षण गराइएको थियो । त्यस स्वाब संकलन गरेको हामीलाई जानकारी नै भएन । स्थानीयले मलाई खबर गरेपछि मैले सीडीओ सा’बलाई फोन गरें ।

उहाँले मलाई पनि थाहा छैन, तर तपाईंहरूकै एक सदस्यले सबै गराउनुभएको छ भन्नुभयो । मैले पनि ठिकै भयो भनें । तर, त्यही ११ जनामध्ये ६० वर्षको एकजनामा कोरोना संक्रमण भएको पुष्टि भयो ।

उनी आजभन्दा डेढ महिना अगाडि भारत गएका थिए र फर्किने क्रममा ८/९ सय मान्छे एकैपटक नेपाल प्रवेश गर्दा महेन्द्र बहुमुखी क्याम्पसमा राखेको थियो ।

त्यहाँ व्यवस्थापन राम्रो भएन वा केही कारणले हुन सक्छ, उनीहरू भागे । त्यही भागेकाहरूमध्ये उनी पनि रहेछन् ।

उनले जुन मदरसामा अजान गरिरहेका थिए, बच्चाहरूलाई पढाइरहेका थियो, कम्तिमा त्यहाँका जिम्मेवार व्यक्तिहरू वा व्यवस्थापन समितिले उनलाई त्यसबेला नै जाँच गर्नुपर्ने थियो । तर, लापरवाही भयो, चेक गराइएन । एक/डेढ महिनासम्म महेन्द्रपार्कमा अजान दिने काम गरिराखे, घरघरमा गएर ट्युसन पनि पढाइरहे ।

जब चेक गर्दा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरूको खोजी भयो । ९४ जनाको थ्रोट स्वाब संकलन गरियो । उनीहरूमध्ये २२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरूमध्ये धेरै वडा नम्बर ८ को एउटै टोलका छन् । जुन टोलमा उनी पढाउने गर्थे, त्यही जोलहनपूर्वा मञ्जिद टोलमा धेरैमा संक्रमण देखिएको छ ।

हुन त हाम्रो रोजा चलिरहेको छ । तर, ६० वर्षको व्यक्तिमा संक्रमण देखिएपछि उनको सम्पर्कमा गएकाहरू आफैँ गएर परीक्षण गराइरहेका छन् ।

धार्मिक दृष्टिकोणले पनि चेकजाँच गराउन कुनै अप्ठ्यारो छैन । धर्मले त यहाँसम्म भनेको छ कि समय परिस्थिति अनुकूल छैन, बिरामी हुनुहुन्छ भने रोजा नबस्नूस् । तपाईंलाई पाप लाग्दैन । धर्मले रोकेको छैन ।

तर, चेकजाँचका लागि चाहिले सामग्रीहरू पर्याप्त नभएका कारण हुनुपर्ने जत्ति भएको छैन । यहाँ स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीहरूको कमी हुन दिनुभएन । साथै, भारतसँग खुला सीमा छ । यसमा सरकारले विशेष ध्यान दिनुपर्ने हो, त्यो हुन सकेको छैन । उल्टो के–के भनिरहेको छ ।

प्रदेश ५ कै मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मुस्लिम समुदायले जमातको साथमा मस्जिदहरूमा नमाज पढिरहेका छन्, घरघरमा ट्युसन पढाएका छन् । त्यसले गर्दा यो समस्या बढेको हो ।’ जबकि म प्रष्टसँग भन्नसक्छु, वास्तविकता के हो भनेर उहाँले आफ्नो पार्टीका नेता, मुस्लिम अगुवाहरूलाई सोध्नुभए हुन्छ ।

मंगलबार नै यहाँ प्रहरीसँग झडप भएको विषय पनि आएको छ । मैले जाने बुझेअनुसार स्थानीय प्रशासनले ११ बजेबाट निषेधाज्ञा लगाएको छ । प्रहरीले १० बजे नै माइकिङ सुरु गर्‍यो । ११ बजेबाट निषेधाज्ञा लागु हुने भएकाले घरभित्र बस्नूस् भन्यो । तर, जो मानिसहरू भिड लगाएर बसेका थिए । उनीहरूलाई प्रहरीले घर जानूस् भन्यो । तर, उनीहरूले भने कि ११ बजेबाट निषेधाज्ञा लागु हुने हो । अहिले त बस्न छुट छ । हामीले के बुझेनौँ भने ११ बजेसम्म केही आवश्यक काम छ भने गरिहाल्नुस् भनेर छुट दिएको हो । भिडभाड गर्न त होइन । त्यही नबुझेर तनाव भएको हो । अहिले त्यो साम्य भएको छ ।

कोरोना भाइरस मानव जातिका लागि संकटको विषय हो । त्यसैले हामीले छिमेकी राष्ट्र भारतसँग सीमामा कडाइ गर्नुपर्छ । अर्को, नेपाल सरकारले जुन लकडाउन गरेको छ, त्यसको म समर्थन गर्छु । साथै, यसको पूर्ण पालना गर्न पनि अपिल गर्छु । साथै, जबसम्म भारतमा नियन्त्रणको अवस्था बन्दैन, तबसम्म सीमामा कडाइ गर्नुपर्छ ।

यससँगै नेपालगञ्ज उपमहानगरपालिकाले के ध्यान दिनुपर्‍यो भने निम्नवर्गका मानिसहरू भोको भइसके । उनीहरूलाई घरघरमा राहत पुर्‍याउन सक्नुपर्छ । यो हुन सकेको छैन ।

मुस्लिम समुदायलाई पनि मेरो अपिल छ— हामीले रमजानको अवसरमा जति नमाज, प्रार्थना गर्नुपर्ने हो, त्यो घरमा नै बसेर गरौँ । आफन्तहरूलाई पनि नबोलाऔँ । हामीले निर्णय पनि गरेका छौँ कि मुस्लिम समुदायले आफ्नो सम्पत्तिबाट जति दान दिने गर्छौँ, त्यो यो वर्ष मस्जिद र मदरसामा होइन, गरिब गुरुवालाई दिऔँ ।

(बाँकेका पूर्वसभासद सिद्दिकीसँग अनलाइनखबरले गरेको टेलिफोन कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment