Comments Add Comment

राजेन्द्र महतोको प्रश्न : दुई कौडीको सरकारसँग के माग्ने ?

‘कोरोना भनेको मजाक हैन, महामारी हो’

२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले यो दुई तिहाईको सरकारले दुई कौडीको काम गर्न नसकेको बताएका छन् । यस्तो ‘दुई कौडी’ को सरकारसँग केही पनि माग्न नसकिने बताउँदै महतोले देशलाई विकल्प चाहिएको बताए ।

शुक्रबार संसदलाई सम्वोधन गर्दै महतोले भने, ‘जनता महामारीबाट पीडित छ, यहाँ त अर्कै धन्दा पो भइरहेको छ । सरकार अर्को धन्दामा लागेको छ । पार्टी फोर्ने, सांसद चोर्ने ? सांसद अपरहण गर्ने ? गराउने ? के हो भयो ?’

सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेर सरकारले मानवताविरुद्धको अपराध गरेको भन्दै महतोले यस्तो सरकारले केही दिन नसक्ने बताए । उनले भने, ‘दिन पनि के सक्छ ? गुण्डा लगाएर अपहरण गर्छ । विपक्षीलाई ठेगान लगाउने रे ! यो सरकार कुर्सीको लडाइँ गर्नचाहिँ बडा सिपालु छ । त्यो काम त रातारात गर्दोरहेछ ।’

सांसद महतोले कोरोनालाई मजाकका रुपमा नलिन आग्रह गर्दै परीक्षणको दायरा बढाउन सरकारसँग माग गरे । सरकार जस्तोसुकै निकम्मा भए पनि मोदी वा सि चिनफिङसँग नभई आफ्नै प्रधानमन्त्री केपी ओलीसँगै माग गर्नुको विकल्प नरहेको महतोले बताए ।

सांसद महतोको सम्वोधनको सम्पादित अंश

कोरोना महामारी विश्वव्यापीरुपमा फैलिएको अवस्थामा हाम्रो देश पनि अछुतो छैन । आजको बैठक संवैधानिक वाध्यताकै कारणले भए पनि बोलाइएको हो । यो परिस्थितिमा यो बैठकलाई व्यापकरुपमा जनताको हितमा, महामारीको विरुद्धमा काम गर्नुपर्ने हो, यसको सदुपयोग हामी गर्छौं ।

सरकारलाई आफ्नो बजेट अधिवेशनका लागि बैठक बोलाइएको भए पनि जनतालाई परिरहेको कष्ट÷पीडासमेत यो बैठकमा उठाउन पाउने छौं ।

विश्वमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । संक्रमित भई उपचार गराइरहेका देशमा, विदेशमा जहाँ भए पनि सबै नेपालीहरुमा स्वास्थ्यलाभको कामना गर्दछौं । अग्रपंक्तिमा संघर्ष गरिरहेका डाक्टर, नर्स, सुरक्षाकर्मी लगायत प्रत्यक्षरुपले लागिरहेकाप्रति पार्टीका तर्फबाट आभार व्यक्त गर्दछु ।

आज हामी सम्पूर्ण नेपाली, दल र नागरिक समाज एक भएर लड्नुपर्ने आवश्यकता छ । देशबासीहरु एकतावद्ध भएर यो साझा महामारीबाट जोगाउने, जोगिने र यसलाई परास्त गर्ने साझा दायित्व हो । हामी सबै नेपालीले एकतावद्ध भएर काम गरिरहेका छौं । लकडाउन जीवनरक्षाका लागि बाध्यकारी हो । अति पीडाका साथ भए पनि हामीले यसको पालना गरिरहेकोमा म सम्पूर्ण नेपालीलाई आभार व्यक्त गर्न चाहन्छु ।

यो महामारी संक्रमबाट पीडामै रहेको अवस्थामा बैठक प्रारम्भ भएको छ । म सम्झिन चाहन्छु, प्रथम बैठक हुँदा हामी कति खुशी थियौं ? सम्पूर्ण नेपाली जनता धेरै खुशी थियौं । जनताले शक्तिशाली सरकार बनाएको छ, सुशासन होला, समृद्धि होला, पहिचानवादीले अधिकार पाउलान्, हिमाल पहाड मधेसले अधिकार पक्का पाउला भनेर हामीले सरकारलाई सहयोग समर्थन पनि गरेकै हो ।

तर, आज प्रश्न उठेको छ, नेपाली जनताले के पाए ? आज नेपाली जनताले शक्तिशाली सरकारबाट के पाए ? जुन सपमा हामीले देखेका थियौं, सुशासन पायौं ? समृद्धि पायौं ? के सबैका लागि संविधान बन्यो ? के हामीले खोसिएका अधिकार पायौं ?

तर, आज म यी सबै सवाल उठाउँदिनँ । निर्वाचित सांसद रेशम चौधरीलाई किन रिहाइ भएन, उठाउँदिनँ । आज केही कुरा उठाउँदिनँ । आज एउटा मात्रै कुरा उठाउन मन लागेको छ । एउटा मात्रै प्रश्न हो, एउटा मात्रै माग हो– सभामुख महोदय, तपाईमार्फत यो सरकारलाई एउटामात्रै सवाल हो– नेपाली नागरिकलाई बचाउ, उसको जीवन रक्षा गर । यो एउटा मात्रै उठाउन खोजेको हुँ । बाँकी सवाल आज उठाउँदिनँ ।

यो काम सरकारले कति इमान्दारिताका साथ गरिराखेको छ ? जनताको जीवन त कता रक्षा होला, यहाँ त मानवताविरुद्धको अपराधसमेत सरकारले गरिहाल्यो । अपहरित कारवाही गरिदेऊ भन्दा उजुरी नलिने ? हुकुम आयो होला नि । यो सरकार कुर्सी जोगाउ, कुर्सी पाऊ, यही धन्दामा लाग्यो ।

जनता त्राहीमाम, उता कुर्सी बचाउनका लागि अध्यादेश । के हो यो ? सरकार के गरिराखेको छ ? यो रातारात आध्यादेश केका लागि आयो ? लोकतन्त्र बलिायो पार्न, पार्टी फुटाउने रे ! के हो यो ?

यस्तै बेलामा जनताले सरकारबाट सुरक्षा राहत खोजेको हुन्छ । काम न काजको दुईतिहाईको सरकारलाई जनतालाई पीडा पु¥याउन भोट दिएको हो ? आजको दिनमा दुई तिहाईको सरकार दुई कौडीको काम नगर्ने ।

हाम्रो पार्टी पनि फुटाउने रे ! हाम्रो मित्र पार्टीलाई फुटाउने रे ! सरप्राइज ! खुदा पहाड निकला चुहिया ! यहाँ त अर्कै पो सरप्राइज आएको रहेछ त ! यस्तो काम न काज सरप्राइज नेपाली जनतालाई चाहिएको छैन । हामीले पनि सरप्राइज गरेर देखाइदियौं । लु फोर् त हाम्रो पार्टी !

आज म केही कुरा उठाउँदिनँ । निर्मला पन्तका हत्यारालाई किन कारवाही भएन, यो कुरा उठाउँदिनँ । स्वास्थ्य सामग्रीको भ्रष्टाचार, वाइडबडी केही पनि उठाउँदिनँ । एउटा कुरा उठाउँछु, सरकारको कानमा पुगोस्– जनता जोगाइ देऊ ।

सरकारले कोरोना सय नाघेको छैन भन्दैछ । कतिको जाँच ग¥यौ ? अनि कोरोना छैन ! व्यापकरुपमा जाँच भए पो पत्ता लाग्छ त । जाँचै नगर्ने, कछुवाको गतिमा कोरोनाको टेस्ट गर्ने ? व्यापकरुपमा परीक्षण हुनुप¥यो । हामी सांसदले हिजो टेस्ट गरायौं, कुनै सांसदमा निस्के न रे ! जनताको चाँडै नगर्ने, अनि क्षेत्रमा घुम्दा केरोना बाँड्ने ? जाँच त हुनुप¥यो नि । सरकारले गर्नुपर्ने काम गरिहरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment