News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय संसद्का दुवै सदनमा ३६ वटा विधेयक विचाराधीन रहेका छन्, जसमध्ये प्रतिनिधिसभाका समितिमा २४ वटा विधेयक छन् ।
- राष्ट्रिय सभाका समितिमा कुनै पनि विधेयक विचाराधीन छैनन्, तर राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी छ ।
- प्रतिनिधिसभामा थप ७ विधेयक दर्ता भएका छन्, जसमा संघीय निजामती सेवा विधेयक २०८३ र अधिवेशनपछि दर्ता भएका ६ विधेयक छन् ।
९ कात्तिक, काठमाडौं । संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयकाअनुसार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ५ वटा, अर्थ समितिमा ४ वटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकारमा समितिमा ३/३ वटा विधेयक छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा २/२ वटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैन ।
प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको एउटा मात्रै विधेयक रहेको छ । राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको उनले बताए ।
‘हाल संघीय संसद्मा ३६ वटा विधेयकहरू विचाराधीन अवस्थामा छन् । त्यसमध्ये प्रतिनिधि सभाका समितिहरूमा २४ वटा विधेयकहरू विचाराधीन छन्’, प्रवक्ता गिरीले भनेका छन्, ‘राष्ट्रिय सभाका समितिमा कुनै पनि विधेयक विचाराधीन छैनन् । तर राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट पारित भएको राष्ट्रिय सेवा दल विधेयकको सन्देश प्रस्तुत हुन बाँकी छ । अन्यथा राष्ट्रिय सभामा कुनै पनि विधेयकहरू छैनन् ।’
प्रतिनिधिसभामा थप ७ विधेयक दर्ता
प्रतिनिधिसभामा नयाँ विधेयक दर्ताको संख्या सात पुगेको छ । अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक २०८३ दर्ता भएको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राती १२ बजेबाट लागू हुनेगरी संघीय संसदको अधिवेशन अन्त्य गरेका थिए ।
संसद् अधिवेशन अन्त्य भएपछि थप छ वटा विधेयक दर्ता भएको प्रवक्ता गिरीले जानकारी दिए ।
संसद् अधिवेशन बन्द भएपछि दर्ता भएका थप ६ नयाँ विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा संचालन) (पहिलो संसोधन) विधेयक छ ।
यसैगरी, भवन (दोस्रो संसोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक दर्ता भएको छ ।
त्यस्तै, सभामा प्रस्तुत भएर मात्रै रहेको एउटा विधेयक छ ।
डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिए । उनकाअनुसार समितिमा छलफल भएर प्रतिवेदन तयार भइसकेका दुई वटा विधेयक रहेका छन् ।
संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को समितिले प्रतिवेदन सभामा पेस गरेर सभामा विचाराधीन छ ।
नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको भने समितिको प्रतिवेदन तयार भएर सचिवालयमा प्राप्त भएको उनले बताए ।
उनकाअनुसार संघीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका विधेयकको संख्या १२ पुगेको छ ।
साथै, संसदबाट ६ वटा सन्धी तथा महासन्धी पेश भएर पारित भइसकेका छन् ।
समितिमा विचराधीन विधेयकमाथी दशैँको बिदापछि छलफल गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।
दशैं बिदा अगाडि समितिमा कतिपय विधेयकहरुको दफावार छलफल भइरहेको थिए भने केही विधेयकहरुको सैद्धान्तिक छलफल शुरु गरिएको थियो ।
बिदापछि समितिमा विधेयकलाई टुंगोमा पुर्याउने गरी छलफल अगाडि बढाउने तयारी गरिएको छ ।
प्रतिक्रिया 4