Comments Add Comment

गोकर्णेश्वरको खाना कार्यक्रम रोकियो, विपन्नलाई अब रोजगारी

२८ वैशाख, काठमाडौं । काठमाडौंको गोर्कर्णेश्वर नगरपालिकाले विपन्न तथा असहायहरूका लागि सञ्चालन गरेको निःशुल्क खाना वितरण कार्यक्रम स्थगित गरेको छ ।

लकडाउनपछि नगरपालिकाले जोरपाटी, नारायणटार, माकलबारीलगायत १० स्थानमा स्थानीय युवाहरूसँग मिलेर निःशुल्क खाना वितरण गर्दै आएको थियो । यस्ताे कार्यक्रमले कोरोना भाइरसको संक्रमण बढ्ने खतरा बढेकाे भन्दै नगरपालिकाले स्थगित गरेकाे हाे ।

गत बिहीबार बसेको नगरप्रमुख, स्वयंसेवी र दाताबीचको बैठकले शनिबारदेखि खाना कार्यक्रम स्थगित गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले जानकारी दिए ।

स्थगित खाना वितरण कार्यक्रम उचित वातावरण तयार भएपछि सञ्चालन हुने ढुंगानाले बताए ।

नगरपालिकाले सञ्चालन गरेको मेसबाट दैनिक २ हजारभन्दा बढी मानिस लाभान्वित हुँदै आएका थिए । खाना कार्यक्रम रोकिएसँगै उनीहरू समस्यामा परेका छन् ।

रोजगारी दिने तयारी

कोरोनाको सम्भावित संक्रमणबाट जोगिन सरकारले लकडाउन सुरु गरेदेखि नगरपालिकाले विपन्नका लागि राहत उपलब्ध गराउँदै आएको छ । खाना कार्यक्रमका अतिरिक्त २२ हजार मजदुर तथा विपन्न परिवारलाई राहत बाढेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विपन्न तथा मजदुरहरूका लागि खाना तथा राहतभन्दा पनि रोजगारी दिने तयारी गरेको छ ।

समस्यामा परेका मजदुर तथा विपन्नले नगरपालिकामा सम्पर्क गरे विकास निर्माणको काममा रोजगारी दिने प्रवक्ता ढुङ्गानाले बताए । यद्यपि, हालसम्म रोजगारीका लागि कोही पनि नआएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment