Comments Add Comment

ह्वाइट हाउस कोरोना टास्क फोर्सका प्रमुख तीन सदस्य क्वारेन्टाइनमा

२९ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको ह्वाइट हाउस टास्क फोर्सका मुख्य तीन अधिकारीलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएकाले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सनका डाइरेक्टर रोबर्ट रेडफिल्ड, फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन विभागका कमिश्नर स्टिफन हेनलाई दुई हप्ताका लागि क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ ।

संक्रामक बिरामीको रोकथामको लागि जिम्मेवार अधिकारी एन्थोनी फाउचीले पनि दुई हप्तासम्म घरमै बसेर काम गर्ने बताएका छन् ।

७९ वर्षीय फाउचीसहित तीनै जनाको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छैन ।

उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरी केटी मिलरलाई शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनीहरु होम क्वारेन्टाइनमा बसेका हुन् । उपराष्ट्रपति माइक पेन्स भने क्वारेन्टाइनमा बसेका छैनन् ।

यसअघि गत बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको तीन दिनपछि उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको पनि नियमित स्वास्थ्य परीक्षण गर्ने र सुरक्षाका सबै उपाय अपनाउने बताउँदै आएको छ ।

अमेरिका कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या १३ लाख २९ हजार २ सय ३ छ भने मृतकको संख्या ७९ हजार ५ सय २५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment