Comments Add Comment

४८ दिन मृत्युसँग डराएर थुनिएँ, अब मर्न पनि डर छैन: कामेश्वर चौरासिया

कोरोना संक्रमणको अत्यधिक जोखिम रहेको शहर मानिएको छ, भारतसँग नाका जोडिएको वीरगञ्ज सहर ।

भारतबाट आएका केही व्यक्तिलाई कोरोनाको संक्रमण देखिएपछि वीरगञ्ज पूर्णरुपमा शिल गरिएको छ । स्थानीयवासी त्राशमा छन् ।

त्यही वीरगञ्जका वासिन्दा हुन् अभिनेता कामेश्वर चौरासिया । उनी आफ्नो घरभित्र थुनिएर बसेको ४८ दिन बित्यो । लकडाउनपछि सुरु भएदेखि नै उनले घरबाट बाहिर निस्किने आँट गरेका छैनन् ।

उनी दिक्कै भइसके । अब त मृत्यूको डर पनि लाग्न छोडेको उनले बताए ।

कामेश्वर भन्छन्, ‘मृत्युसँग डराएर घरमा यत्रो दिन थुनिएर बस्यौँ । अब त मर्नसँग पनि डर लाग्न छोडिसक्यो ।’

तर लकडाउनमा नियम मिचेर केही काम नगर्ने कामेश्वर बताउँछन् । उनले थपे, ‘सरकारले लकडाउन गरेको पनि हाम्रै लागि हो । मेरो एरिया शिल गरेको पनि हाम्रै लागि हो । त्यसैले सरकारको नियमलाई मान्नुपर्छ ।’

कामेश्वर आफ्नो एरियामा कुनै परिक्षण भएको पत्तो नपाएको बताउँछन् । उनले भने, ‘खै, यहाँ त पारीबाट पेट्रोल लिएर आएका ड्राइभरको ज्वरो नापेको पनि देख्दिनँ । सुनेको थिए, त्यो ज्वरो नाप्ने पनि बिग्रिएको छ रे ।’

कामेश्वरको दुई पेशा छन्, एक कलाकारिता र दोस्रो होटल व्यवसाय । अहिले दुबै ठप्प भएका छन् । त्यसैले कामेश्वर काठमाडौं छोडेर विरगञ्ज पुगेका थिए ।

दुबै काम रोकिँदा आम्दानी पनि शुन्य भएको कामेश्वर बताउँछन् । उनले भने, ‘अरु अफिसहरु त खुले क्यारे । आफ्नो त दुबै बन्द छ । मेरो त आय नै शुन्यमा नै झ¥यो ।’

अहिले परिवारमा बसिरहेकाले खान चाहीँ समस्या भइनसकेको उनले बताए । ‘घरमा भएकाले पकाएर दिनुहुन्छ । खान पाइएको छ । काठमाडौंमा नै भएको भए तनाब हुन्थ्यो होला’, कामेश्वर सुनाउँछन् ।

फुर्सदिला कामेश्वर विभिन्न चलचित्र तथा पुस्तकहरुसँग समय बिताइरहेका छन् । उनले भने, ‘फुर्सदको समय सबैले चलचित्र हेर्नुहुन्छ वा पुस्तक पढेर नै दिन बिताउनु हुन्छ । मैले पनि त्यहीँ गरिरहेको छु । जाँगर चल्यो भने लेख्छु पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment