Comments Add Comment

खुल्न थाले पेट्रोल पम्प

२९ वैशाख, काठमाडौं । लकडाउनकारण आंशिक रुपमा सञ्चालनमा रहेका देशभरका पेट्रोल पम्प खुल्न थालेका छन् । लकडाउन खुकुलो हुँदै गएका कारण देशैभरिका पम्पहरू खोल्न सुरु गरिएको नेपाल पेट्रोलियम डिलर एसोसिएसनले जनाएको छ ।

शुक्रबारदेखि ढुवानी र उद्योगका गाडीहरू बाक्लो मात्रामा गुड्न थालेपछि झण्डै १५ सय पम्पहरूले नियमित सेवा सुरु गरेको नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रसाद प्रधानले बताए । लकडाउनको ४५ दिन अवधिमा देशैभरि सीमित पम्पहरू मात्रै सञ्चालनमा रहेको उनको भनाइ छ ।

काठमाडौं उपत्यका र बनेपामा समेत गरेर दुई सय पाँच वटा पम्पहरू सञ्चालनमा आएको वागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काले बताए ।

‘लकडाउनको अवधिमा अनकल सेवा दिनेगरी निश्चित पम्प खुलेको थियो । तर, अहिले सबै पम्पले व्यापार सुरु गरेको छ’ अध्यक्ष खड्काले भने ।

यातायातका साधन बाक्लिएपछि इन्धनको  व्यापार बढ्नेमा आफूहरू आशावादी भएको उनले बताए । पम्प सञ्चालनका क्रममा अपनाइनुपर्ने कोरोना सुरक्षाका सम्बन्धमा सरकार तथा आयल निगमबाट कुनै सहयोग नपाइएको उनले गुनासो गरे ।

नेपाल आयल निगम थानकोट डिपोले शुक्रबारदेखि पेट्रोलियम पदार्थको खपत बढ्न थालेको जनाएको छ । लकडाउको समयमा दैनिक ८० किलोलिटर पेट्रोल र दुई सय किलोलिटर डिजेल खपत हुँदै आएकोमा अहिले औसत दैनिक दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत हुन थालेको छ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकामा मात्र दैनिक ६ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेल खपत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment