Comments Add Comment

लकडाउन : कसरी बित्दैछ घरभित्र बस्नेहरूको दैनिकी ?

हप्तौं भयो घरभित्र बस्नुपरेको । घरभित्र के गर्दै बस्ने ? कसरी दिन कटाउने ? मोबाइल कति चलाउने ? टिभी कतिबेर हेर्ने ? कहिलेसम्म सुत्ने ? के गफ गर्ने ? धेरैलाई छटपटी भएको हुँदो हो । यही छटपटीले होला कोही भान्सामा पसेर थरीथरी परिकार बनाउन थालेका छन्।

कोही गमलामा फूल र सागसब्जी रोप्न थालेका छन् । कोही नयाँ-नयाँ हस्तकला बनाउन थालेका छन् । कहिलेकाहीँ असहज परिस्थितिले पनि सही काम गर्न उत्प्रेरित गर्छ । सम्भवत: अधिकांशको दैनिकी यस्तै सकारात्मक काममा मोडिएको छ ।

हुन त लकडाउनको कारण जन-जीविका असहज बन्दैछ । धेरैले आय-आर्जन गुमाएका छन्, धेरैको रोजगारी खोसिएको छ। धेरैको उद्यम संकटमा छ । तर, यसको अर्को पाटो भने सकारात्मक छ । खासगरी लकडाउनले धेरैको घर-परिवारमा नयाँ परिवर्तन ल्याइदिएको छ ।

श्रीमान् पनि भान्सामा

हामीकहाँ श्रीमान् खासगरी पुरुषहरू भान्साको काममा उति सक्रिय देखिँदैन । भान्साको काम आमा वा श्रीमती वा छोरी वा बुहारीले गर्नुपर्छ भन्ने बुझाइ छ । त्यसैले सागसब्जी केलाउने, काट्ने, पखाल्ने, पकाउने, जुठो भाँडा माझ्ने, कुचो लगाउने, लुगा धुने जस्ता काममा पुरुष अलग बस्ने गर्छन् । लकडाउनमा भने पुरुषहरूलाई पनि यावत काममा खटाउने अनुकूलता मिलेको छ । कतिपय पुरुष आफैँपनि यस्ता घरायसी कामकाज गरेर परिवारलाई साथ दिइरहेका छन् । यसले दम्पतीबीच मेलमिलापको वातावरण पनि मिलाइदिएको छ ।

बालबच्चालाई व्यवहारिक ज्ञान

बालबच्चा विद्यालय जान पाएनन् वा पढ्न पाएनन् भनेर धेरैजसो अभिभावक पिरोलिएका छन् । जबकी विद्यालयमा उनीहरुले शैद्धान्तिक ज्ञान मात्र आर्जन गर्छन् । जीवनोपयोगी कुरा त घर परिवारबाट नै सिक्ने हो ।

लकडाउनको कारण घरमै बसेका बालबालिकाले आफ्ना परिवारलाई नजिकबाट नियाल्न पाएका छन् । आमाबुवाको कुरा सुन्न पाएका छन् । पारिवारिक कुरा बुझ्न पाएका छन् । साथसाथै घरको काममा सघाउने पनि गरिरहेका छन् । विद्यालयमा सरसफाई बस्नुपर्छ भनेर पढे, अहिले उनीहरु त्यसैको व्यवहारिक प्रयोग गरिरहेका छन् । कतिपय अभिभावकले बालबच्चालाई घरधन्दाको काम सिकाइरहेका छन्, बाली र बगैंचाको काममा खटाइरहेका छन् ।

योग-व्यायाममा जाँगर

घरमा कोही न कोही योग, ध्यान एवं व्यायाम गर्ने हुन्छन् । उनीहरूले परिवारका सदस्यलाई योग, ध्यानमा प्रेरित गर्न पाएका छन् । घरमा यत्तिकै बस्नुभन्दा व्यायाम गरौं, योग गरौं भन्ने जागरुकता पलाएको छ । श्रीमान, श्रीमती मात्र होइन, छोराछोरी समेत योग, ध्यानको अभ्यास गरिरहेका छन् ।

करेसाबारी वा बगैंचा बनाउने

लकडाउन नहुँदो हो त सहरीयाहरूको बगैंचा, बार्दली यति धेरै हराभरा हुने थिएन होला । अहिले धेरैजसोले बगैंचामा फूलहरू रोपिरहेका छन् । करेसाबारी बनाएर सागसब्जी रोपेका छन् । आफ्नै हातले रोपेको सागसब्जी खानुपर्छ भन्ने जागरण फैलिएको छ । यस्ता काममा घरका सबै सदस्यको सहभागिता पनि देखिएको छ ।

थरीथरी परिकार बनाउने

अहिले बजारका खानेकुराहरू सहजै उपलब्ध छैनन् । त्यसैले जिब्रोको तलतल मेट्न वा फुर्सदको क्षण सदुपयोग गर्न धेरैले आफ्नै भान्सामा थरीथरी परिकार बनाउने अभ्यास गरिरहेका छन् । मम, चाउमिन, जेरी, समोस, रसबरी लगायतका परिकार बनाइरहेका छन् । आफ्नो भान्सामा बनाइएका यी परिकारहरू शुद्ध र ताजा हुने नै भयो । भोलिका दिनमा पनि उनीहरूले परिवारमा यस्ता परिकार बनाउन सक्ने छन् ।

हस्तकलाको काम

घरमा बसिरहेको यो क्षणमा कतिपयले भने नयाँ-नयाँ सजावटका सामग्रीहरू, घरायसी सामग्रीहरू बनाइरहेका छन् । कागजको फूल, भास, ब्याग आदि बनाइरहेका छन् ।

रचनात्मक काम

त्यसैगरी कतिपय भने कथा, कविता लेख्ने, चित्र बनाउने काममा लागेका छन् । खासगरी बालबच्चाहरू यस्तै नयाँ नयाँ काममा रुचि देखाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment