Comments Add Comment

प्रचण्डले जिम्मा लिएपछि नेकपामा स्थायी कमिटी बैठक, के छ एजेण्डा ?

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।

बुधबार ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ ।

बैठक २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते बसेको सचिवालय समितिको बैठकमा नेताहरुमा नेताहरुबीच चर्काचर्की भयो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न भन्दै उठेर हिँडे ।

ओलीसहित बहुमत सदस्य बैठकको विपक्षमा उभिएकाले स्थायी कमिटी बैठक स्थगित भयो । त्यसयता प्रचण्डले पटक पटक भेटे पनि प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली बैठक राख्न सहमत थिएनन् । तर एकाएक बैठक तय भएको छ ।

स्रोतकाअनुसार दुई अध्यक्षबीच टेलिफोनमा कुराकानी हुनुका साथै अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएपछि स्थायी कमिटी बैठक बोलाइएको हो ।

बैठक टार्दै आएका ओली के सहमतिका आधारमा बैठक राख्न सहमत भए ? नेकपा नेताहरुको चासो छ । एक सचिवालय सदस्य भन्छन्, ‘स्थायी कमिटी बैठक राखेर दुई अध्यक्षले सम्बोधन गरौं र भोलि नै बैठक सकौं । तपाईलाई कुनै अप्ठ्यारो हुँदैन, म जिम्मा लिन्छु भनेर अध्यक्ष प्रचण्डले भन्नु भएको छ ।’

त्यसअनुसार बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिने र लिपुलेकमा भारतले बनाएको सडकबारे छलफल गर्ने एजेण्डा मात्र राखिएको छ ।

महासचिव विष्णु पौडेलले पनि दुई एजेण्डामा छलफल गरेर बैठक बुधबार नै सक्ने र २० नेताले उठाएका विषयमा पार्टीमा सहमति जुटाएर फेरि बैठक राख्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment