Comments Add Comment

पाहुना आएकी बालिकामा कोरोना संक्रमण पुष्टि

३० वैशाख, कैलाली । मध्यान्हको १२ बजे कैलालीको पुरानो सदमुकाम भजनी चकमन्न छ । बजारमा छिटपुट खुद्रा पसलबाहेक अरु खुलेका छैनन् ।

भजनीको मध्य बजारमा एउटा ठूलो पानीट्यांकी छ । त्यसको ठीक तल छ कवि परियारको घर । आज उनको घर पनि बजारजस्तै उराठलाग्दो देखिएको छ ।

१३ वैशाखमा उनको घरमा पाहुना आएकी बालिकामा बर्दियामा जाँच गराउँदा सोमबार कोरोना संक्रमण पुष्टि भयो । यो खबर उनको कानमा परेदेखि उनको आँखामा डर देखिएको छ । उनी हतास भएका छन् ।

‘फिनेल हालेर घरको सफा गर्दैछु’ उनले बसेकै ठाउँबाट जवाफ दिए ।

घरमा ४ दिन बसेकी बालिकामा कोरोना पुष्टि भएपछि उनले हानिकारक किटाणु मार्ने औषधी फिनेल हालेर पुरै घर सफा गरे ।
‘हामी धेरै त्रसित छौँ । उसलाई कोरोना लागेपछि हामीलाई पनि सर्छ कि भन्ने छ । त्यसैले यस्तो गरेका हौँ’ उनले सुनाए ।

सोमबार कोराना पुष्टि भएकी बर्दिया राजापुरकी ११ बर्षकी बालिका एक महिना गोदावरीको मजगाउँमा बसेर भजनीमा कविको घरमा आएकी थिइन् । उनीसँगै थिइन् उनी ५० बर्षकी हजुरआमा पनि ।

उनीहरु वैशाख १३ गते राति करिब १२ बजे आइपुगेका उनी बताउँछन् । त्यसपछि १६ गते बर्दियातर्फ फर्केका थिए । कविले वैशाख १५ गते बिहान दुबैजनालाई मोटरसाइलमा राखेर कर्णालीवारिसम्म छाडिदिएका थिए ।

त्यहाँ सशस्त्र प्रहरीले प्रवेश नदिएपछि उनीहरु दुबै जना फेरि भजनी फर्किए ।

१६ गते बिहानै उनले भजनी रेडक्रसको एम्बुलेन्समा राखेर बर्दिया पठाए ‘त्यसपछि मैले बर्दियामा नेताहरुलाई भन्न लगाएर उहाँहरुलाई क्वारेन्टाइनमा राखियो ।’

बर्दियाको क्वारेन्टाइनमा बसेको १० दिनपछि ११ बर्षकी बालिकालाई कोरोना पोजेटिभ आएपछि कवि त्रसित भए । उनको घरमा रहेका ५ जना सदस्य सबैमा अहिले डर पलाएको छ ।

उनले भने, ‘सँगै खाने, सँगै बस्ने नानीलाई कोरोना लाग्यो । त्यसैले हामी धेरै त्रसित छौं ।’

गाउँमा त्रास

कविका छिमेकी दुर्गादेवी रेग्मीाई पनि डर लागेको छ । ‘यहाँ बसेकी नानीलाई कोरोना लाग्यो रे । अब हामी कसरी सुरक्षित हुने होला ?’ उनले भनिन् ।

भजनीमा बस्दा ती बालिका घरबाहिर ननिस्किएकी कवि बताउँछन् ।

‘ऊ त्यो मेरो पसल हो’ एउटा सिलाइ कटाइ पसल तर्फ देखाउँदै उनले भने ‘कुनै बेला त्यो पसलसम्म पुगिन् होला नत्र घर भन्दा बहिर गएकी छैन ।’

४ दिनसम्म घरमा बसेकी बालिकालाई कोरोना संक्रमण पुष्टि भएपछि त्यो घरमा रहेका सबैको स्वास्थ्य परीक्षण गरिएको छ ।
कविको घरका पाँचै जना सदस्यमा आरडीटी टेस्ट नेगेटिभ देखिएको भजनी नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment