+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सीमामा भारतीय सुरक्षाकर्मीको असहयोग

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ वैशाख ३१ गते ११:१९

३१ वैशाख, रौतहट । लकडाउनमा भारततर्फ रोकिएका नेपाली तथा नेपालतर्फका भारतीयलाई यथास्थानमै व्यवस्थापन गर्नुपर्ने प्रावधान छ । तर भारततर्फ रोकिएका नेपालीहरूलाई भारतीय सुरक्षाकर्मीले नै सीमापार गर्न लगाइरहेका छन् ।

मंगलबार राति भारतीय सुरक्षाकर्मीले रौतहटको नेपाल–भारत सीमाक्षेत्र इशनाथको औरैयामा १७ नेपालीलाई सीमापारि पठाइदिएका छन् । सीमाक्षेत्रमा भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) र नेपालतर्फ सशस्त्र प्रहरी बलले निरन्तर गस्ती र निगरानी गरिरहेका छन् । भारतका विभिन्न स्थानबाट आएर नेपाल प्रवेश गरेका १७ नेपालीलाई प्रहरीले नियन्त्रणमा राखेको छ । कोरोना भाइरस संक्रमणका बेला समूहमा नेपाल प्रवेश गरेका उनीहरूलाई पुनः भारत नै पठाउनु पर्ने हुन्छ ।

यसअघि पनि भारतीय सुरक्षाकर्मीहरूले रौतहटको पश्चिमी नाका इशनाथबाटै १८ जनालाई नेपाल पठाएका थिए । सीमाक्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीहरूले नै विभिन्न स्थानबाट आएका नेपालीहरूलाई सीमासम्म ल्याएर चोर बाटोहरू प्रयोग गरी पठाउने गरेको सुरक्षा स्रोतले बताएको छ ।

भारततर्फबाट यसरी नेपालीहरू सीमापार हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । लकडाउनका बेला सीमापार गरेर नेपालतर्फ जान नदिन भारतीय सुरक्षाकर्मीले चासो नदेखाएको उनले बताए ।

भारतीय क्वारेन्टाइनमा नेपालीको बिजोग

लकडाउनका कारण रौतहटसँग सीमा जोडिएको भारतीय क्षेत्रमा ३ सय ५० भन्दा बढी नेपाली छन् । भारत बिहारको सीतामढीमा २ सय र मोतिहारीमा १ सय ५० नेपाली क्वारेन्टाइनमा छन् ।

लकडाउनपछि भारततर्फका क्वारेन्टाइनमा रहेका नेपालीहरूको अवस्था दयनीय बनेको छ । क्वारेन्टाइनमा राखिएको भने पनि खानपान र बसोबासको व्यवस्था उचित ढंगले नभएको उनीहरूको गुनासो छ । यति मात्रै होइन, भारतीय प्रहरीले ज्यादती गरिरहेको आरोप पनि उनीहरूको छ । क्वारेन्टाइनबाहिर बाट ताल्चा लगाएर भित्र राखिएको आफन्तको दाबी छ ।

भारतका विभिन्न सहरबाट लामो पैदल यात्रा गरेर सीमा क्षेत्रसम्म नेपालीहरू आइपुगेका छन् । तिनलाई आएकै स्थानतर्फ फर्कन भन्दै कुटपिट गरेको गुनासो नेपालीको छ ।

रौतहटका स्थानीय तहले भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न तयार रहेको बताएका छन् । तर,सरकारी नीतिले सकस भएको उनीहरूको भनाइ छ ।

‘भारतबाट फर्किन चाहेका इशनाथ नगरपालिकाका सबैलाई सुरक्षित क्वारेन्टाइनमा राख्न तयार छु,’ इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले भने, ‘सरकारले आफ्ना नागरिकलाई फर्काउने हो भने उनीहरू आफ्नै देशको क्वारेन्टाइनमा बस्न तयार छन् ।’ रोजगारीको सिलसिलामा भारत रहेका नेपाली नागरिकको सरकारले उद्धार गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?