Comments Add Comment

‘पोखरा प्रयोगशालाले कोरोनाको परीक्षण गर्न मानेन’

प्रशासन भन्छ : कर्मचारी अभाव भएर हो

फाइल तस्वीर : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

३१ वैशाख, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ठीक अघिल्तिर बिहानै एउटा बस रोकिएको छ । बसमा ४ जना छन् ।

बिहानैदेखि भोकै बसेका उनीहरु बिस्कुट र पानीले आँत भिजाउँदै चित्त बुझाइरहेका छन् । घरिघरि प्रयोशालाबाट कोही निस्किन्छन् कि भनेर पनि आँखा डुलाइरहन्छन् ।

तर प्रयोगशालाका कर्मचारीले उनीहरुलाई वास्ता गरिरहेका छैनन् । बेलाबेला जाँच नगरेरै ‘फर्केर जाओ’ पनि भन्छन् । आधा बाटोमा पुगिसकेपछि फेरि प्रयोगशालाको कर्मचारीले फोन गरेर बोलाउँछन् । उनीहरु फेरि फर्किएर त्यहीं आउँछन् । यो क्रम बिहानैबाट चलिरहेको छ ।

‘आफैं कोरोना चेक गर्न आयौं । अस्पतालले वास्तै गरेको छैन,’ बसका चालक खगेन्द्र खड्का भन्छन्, ‘चेकजाँच नै नगरेर फर्केर जा भन्छन् । आधा बाटोमा पुगिसकेपछि फेरि बोलाउँछन् ।’

उनीहरु कोरोना प्रभावित क्षेत्र उदयपुरबाट आएका हुन् । पोखरामा अलपत्र परेका ३५ जना मजदुर पुर्‍याएर फर्किएको उनीहरु आफ्नो कोरोना भाइरस (कोभिड–१९) परीक्षण गराउन चाहन्छन् । ‘२८ गते गएका हौं । बाटोमा गाडी बिग्रिएर ढिलो गरी आइपुग्यौं,’ बसका सहचालक रवि शंकरले भने ।

तर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालाका कर्मचारीले उदयपुरबाट आएकै कारण परीक्षण नगरी फर्काउन चाहेको उनीहरुको आरोप छ । ‘पूर्वबाट आएको भनेर हामीलाई चेक नगरेर नै फर्काउन खोजे । घर नगएर यतै बसिरहँदा पनि वास्ता गरेनन्,’ बसका एक कर्मचारीले भने ।

प्रयोगशालामा कार्यरत एक कर्मचारीले भने बुधबारबाट सेवाग्राहीको संख्या बढेकाले परीक्षण गर्न ‘नभ्याइएको’ दाबी गरे । ‘कर्मचारीको संख्या थोरै छ । ओपीडीको प्रयोगशाला पनि हामी हेर्नुपर्छ,’ उनले भने, ‘कर्मचारी नभएपछि स्वाब लिन आउनेलाई फर्केर जानुस् भन्ने अवस्था आएको छ ।’

मंगलबारदेखि पश्चिामाञ्चल क्षेत्रीय अस्पतालको ओपीडी सेवा पनि सुरु भएपछि ल्याबमा चाप बडेको छ ।

तर अस्पताल प्रशासनले भने कर्मचारी अभावका कारण भिड बढे पनि परीक्षणै नगरी फर्काउने स्थिति नरहेको बताएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रमुख डा‍. अर्जुन आचार्यले भने, ‘हिजोदेखि ओपीडी पनि सुरु भएको छ । कर्मचारी यता नि उता नि धान्नु पर्‍यो, यता नि धान्नु पर्‍यो । कर्मचारी सीमित भएकाले समस्या भएको हो ।’

उनले पहिले नै कर्मचारीको अभाव रहेकोमा एकैचोटी दुवै ठाउँमा सीमित कर्मचारी खटिनुपर्ने भएकाले समस्या आएको स्वीकारे ।

प्रयोगशालाले स्वाब संकलन गर्न दिउँसो १ बजेदेखि २ बजेसम्म समय तोको छ । त्यही टाइममा आएकोबेला मात्रै हामीले चेक गर्ने हो,’ उनले भने, ‘प्रदेशबाट खटिएका कर्मचारी पनि आएका छैनन् ।’

प्रयोगशालामा अहिले १९ जना कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment