Comments Add Comment

संसदीय समितिको निर्देशन : स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्था गर

१ जेठ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्याक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो ।

पीसीआर परीक्षण, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, थर्मल गनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरुको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरुले खानुपर्ने औषधिमा अभाव हुन नदिन पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले बताइन् । सर्वसाधारणलाई सर्वसुलभ रुपमा मास्क र सेनिटाइजरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।

परीक्षणको दायरा तीब्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

समितिले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन र विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

यस्तै लकडाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकको सही तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

क्वारेन्टाइनमा सामान्य उपचार, स्वास्थ्यकर्मी, बास, कपास र एम्बुलेन्सको व्यवस्था गर्न तथा सीमा क्षेत्रमा अलपत्र नागरिकलाई तीन वटै तहका सरकारसँग समन्वय गरी सुरक्षित रुपमा घर फर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

कोरोना महामारीको असर मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि समितिले निर्देशन दिएको सभापति घर्तीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment