Comments Add Comment

प्रदेश ५ ले ल्यायो ५१ करोडको कोभिड विशेष कृषि कार्यक्रम

१ जेठ, बुटवल । प्रदेश ५ सरकारले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैयाँ साउन मसान्तसम्म खर्च गर्ने सरकारको लक्ष्य छ ।

कोभिड विशेष कृषि कार्यक्रम अन्तर्गत कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैयाँ खर्च गरिनेछ । यस्तै बेमौसमी आलु उत्पादन कार्यक्रमका लागि १ करोड २० लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

यो कार्यक्रम गुल्मी, प्युठान, रुकुम र रोल्पामा सञ्चालन हुने र यसबाट ५ सय किसान लाभान्वित हुनेछन् । किसानले कम्तीमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गर्नुपर्ने र प्रति रोपनी ६ हजार रुपैयाँको दरले अनुदान पाउने छन् ।

प्रदेश सरकारले व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमका लागि १४ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ । दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम जिल्लामा सञ्चालन हुने यो कार्यक्रममा कम्तीमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने तोकिएको छ ।

मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैयाँका दरले अनुदान दिइने यो कार्यक्रमबाट ७ हजार जना लाभान्वित हुने प्रदेश सरकारको लक्ष्य छ ।

सरकारले कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रमका लागि २१ करोड ८० लाख रुपैयाँ खर्च गर्ने भएको छ । यो कार्यक्रम प्रदेशका सबै स्थानीय तहका अर्थात १ सय ९ वटै स्थानीय तहमा सञ्चालन गर्ने भएको छ ।

यो कार्यक्रममा प्रतिकिसान २० हजार रुपैयाँका दरले मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने छ । यसबाट १० हजार ९ सय जना लाभान्वित हुने प्रदेश सरकारको प्रक्षेपण छ ।

यस्तै ब्रोइलर कुखुरापालन, साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड रुपैयाँ खर्च गर्ने भएको छ । यसमा २ हजार किसानलाई ३५ हजार रुपैयाँका दरले अनुदान दिइने र ६ हजार जना लाभान्वित हुने छन् ।

दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैयाँ खर्च गरिने सरकारले जनाएको छ । यसमा दूध उत्पादनको विगत आठ महिनाको बिक्री तथ्याङ्क हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैयाँका दरले अनुदान दिइने छ ।

यस्तै बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैयाँ खर्च गर्ने सरकारको लक्ष्य छ । प्रदेशका १२ वटै जिल्लामा सञ्चालन हुने यो कार्यक्रममा २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने र प्रति बिघा २० हजार रुपैयाँका दरले अनुदान दिइने प्रवक्ता चौधरीले बताए ।

यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने उनले बताए ।

मन्त्रिपरिषद वैठकले प्रदेश स्वास्थ्य नीति—२०७७ र स्वास्थ्य नियमावली स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

वैठकले रोल्पामा बम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैयाँका दरले राहत दिने निर्णय पनि गरेको छ ।

यस्तै केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्वीकृति दिने, जेठ ९ गते प्रदेश सभा वैठक आह्वानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

वैठकले नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा क्वारेन्टाइनको विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने, कोरोना विशेष अस्पतालको क्षमता बढाउने, बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने, बुटवलमा कोरोना अस्पतालमा २ सय बेड थप्ने निर्णय गरेको छ ।

भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने, बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने निर्णय पनि गरेको छ ।

विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने र स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने निर्णय वैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment