
१ जेठ, बुटवल । लकडाउनको मौका छोपेर रुपन्देहीको देवदहमा नदीजन्य पदार्थको चोरी–तस्करी हुने गरेको पाइएको छ ।
देवदह नगरपालिका ८ टटेरा, बुद्धपार्क नजिक घोडाहा खोलाबाट रातको समयमा तस्करहरूले अवैधरुपमा नदीजन्य पदार्थ निकालेर बिक्री गर्दै गरेको अवस्थामा स्थानीयले रंगेहात फेला पारेका छन् ।
खोलाबाट निकालिएको गिट्टी–बालुवा वडा नंं ७ का वडाध्यक्ष पदम थापाको घर छेउको सार्वजनिक जग्गामा रातिको समयमा जम्मा गरेर राख्ने र बिहान अन्यत्र लगेर बिक्री गर्ने गरिएको हो । लकडाउनको मौका छोपेर केही हप्तादेखि यसरी नै रातारात नदीजन्य पदार्थ चोरी गरेर बिक्री गर्ने गरिएको टोल विकास संस्थाकी अध्यक्ष मैना आचार्यले बताइन् ।
‘रातभरि गिट्टी बालुवा ओसार्ने ट्याक्टर चलेको हल्लाले सुत्न समेत पाइएको छैन’ उनले भनिन् ‘सबैले लकडाउन पालना गरेर बसेका बेला रातारात सरकारी सम्पत्ति चोरी–तस्करी हुँदा स्थानीय सरकार, प्रहरी प्रशासन र ठूला दलहरू थाहा पाएर पनि नपाएजस्तै गरेका छन् ।’
देवदह क्षेत्रमा विगत वर्षदेखि नै नदीजन्य पदार्थको चोरी तस्करी हुँदा सरोकारवाला निकाय मुकदर्शक बन्ने र यस्ता गलत काममा प्रमुख दल र तिनका युवा र विद्यार्थी संगठनका स्थानीय नेतृत्व नै संलग्न हुने गरेको स्थानीय बुद्धिजीवी शिव ढकाल बताउँछन् । ‘नदीजन्य र वन पैदावरको चोरी तस्करीबाटै मौलाएको हो’ ढकालले भने, ‘प्राकृतिक स्रोत साधनको चोरी तस्करीलाई नरोक्ने हो भने यसले अपराधको रुप लिन्छ ।’
नदीजन्य पदार्थको चोरी तस्करी रोक्न र यसमा संलग्नलाई कारबाहीको माग गर्दै बिहीबार स्थानीय दुई सय जनाले हस्ताक्षर गरी नगरपालिकाका प्रमुख हीरा खत्री, प्रहरी कार्यालय, रेन्जपोस्ट, वन कार्यालय र वडा नं ७ का वडाध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।
रातको १२ बजेदेखि बिहान चार बजेसम्म घोडाहा खोला किनारबाट केही हप्तादेखि नियमित नदीजन्य पदार्थको चोरी तस्करी हुने गरेकाले कारबाहीका लागि निवेदन दिएको स्थानीय गोपाल दुबेले बताए । ‘खोलाबाट गिट्टी बालुवा ल्याएर वडाध्यक्षको घर छेउमा डम्पिङ गरेको देखेपछि नगर प्रमुखलाई बिहान ८ बजे जानकारी दियौं’ दुबेले भने, ‘फोन गरेको आधा घण्टाभित्र त्यो ठाउँबाट गिट्टी बालुवा खाली गराइएर देवदहतिर लगेको हाम्रै आँखाले देख्यौं ।’
स्थानीयले नदीजन्य पदार्थको चोरी तस्करीमा जनप्रतिनिधिको संलग्नता रहेको दाबी गरेका छन् ।
नगरप्रमख खत्रीले बिहीबार वडा नंं ७ का अध्यक्षको घर छेउको सार्वजनिक जग्गामा तीन–चार टिप्पर नदीजन्य पदार्थ थुपारिएको फेला परेको स्वीकार गरे । नदीको ठेक्का नलगाएको अवस्थामा रातको समयमा नदीजन्य पदार्थको चोरी हुनुलाई नगरपालिकाले गम्भीर रुपमा लिएको र कारबाहीका लागि प्रकृया अघि बढाइएको बताए ।
प्रतिक्रिया 4