+
+
Shares

नीति तथा कार्यक्रममा कूटनीतिज्ञलाई बोलाइएन

संवैधानिक आयोगबाट अध्यक्षलाई मात्र निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते ९:३४
Photo Credit : संसद् सचिवालय
संसद् भवन

२ जेठ, काठमाडौं । आज संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट हुने छ ।

तर यो जमघटमा विगत वर्षजस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन । कोरोना संक्रमणको जोखिम कारण दुरी कायम गरी बस्नु पर्ने बाध्यताका कारण स्थान अभाव भएपछि विदेशी राजदूतलगायतका कूटनीतिज्ञहरुलाई नबोलाइएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘कोरोना संक्रमणका कारण विशेष परिस्थिति सिर्जना भएको पूर्वजानकारी गराउँदै यस वर्ष राजदूतलगायतका कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन ।’

संवैधानिक आयोगबाट अध्यक्षलाई मात्र निम्तो

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

यस वर्ष संवैधानिक आयोगबाट पनि अध्यक्षलाई मात्र बोलाइएको छ । अघिल्ला वर्षहरुमा आयोगका सदस्यहरुलाई पनि बोलाउने गरिएकामा यस वर्ष अध्यक्षलाई मात्र बोलाइएको न्यौपानेले जानकारी दिए ।

आमन्त्रण गरिएका सबैले पीसीआर विधिबाट कोरोना परीक्षण गराएको रिपोर्ट पेस गर्नुपर्ने नियम छ । पीसीआर विधिबाट कोरोना परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएकाले मात्र संसदको बैठक कक्षमा प्रवेश पाउने संसद सचिवालयका स्वास्थ्य इकाइ प्रमुख डा. पुष्प रिजालले जानकारी दिए ।

बैठक कक्षभित्र सेन्टर एसी बन्द हुने छ भने भेन्टिलेसन र एडजस्ट फ्यान खुला हुनेछ ।

स्वास्थ्य इकाइ प्रमुख डा. पुष्प रिजालका अनुसार संसद भवन प्रवेश गर्दा सबैले साबुन पानीले हात धुनुपर्ने, सेनिटाइजर र मास्क लगाउनु पर्ने छ । उनीहरुलाई स्वास्थ्यकर्मीले शरीरको तापक्रम जाँचेर मात्र भित्र प्रवेश गराउने छन् । बैठक कक्षभित्र दुरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ । ठीक चिह्न लगाएको ठाउँमा मात्र सांसदहरु बस्नुपर्ने छ ।

बिहीबार साँझ संसद भवनभित्र नीति तथा कार्यक्रम प्रस्तुतको रिहर्सलसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?