Comments Add Comment

कसरी रोकिएको थियो स्पेनिस फ्लू ?

अहिले चलिरहेको कोरोना भाइरसले विश्वलाई आक्रान्त छ । झण्डै ३ लाख मानिसको ज्यान लिइसकेको छ । तर कोरोना भाइरसभन्दा कैयन गुणा भयानक महामारीहरूले करोडौं मानिसको ज्यान लिएको विश्व इतिहास छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको महामारी सबैभन्दा खतरनाक महामारीमध्ये एक हो । स्पेनिस फ्लुले विश्वमा कम्तीमा ५ करोड मानिसको ज्यान लिएको थियो ।

अहिले कोरोना भाइरसबाट ज्यान गुमाउनेहरूमा अधिकांश वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका, अन्य रोगहरूबाट ग्रसित भएका मानिसहरू धेरै छन् । तर स्पेनिस फ्लूबाट ज्यान गुमाउनेमा २० देखि ३० वर्षसम्मका स्वस्थ युवायुवतीहरू धेरै थिए ।

स्पेनिस फ्लूको महामारी सकिएको १ सय वर्षपछि आएको कोरोना भाइरस महामारीसँग जुध्नका लागि विश्वका कैयन देशहरूले स्पेनिस फ्लूका सन्दर्भ सामग्रीहरूलाई उपयोग गरिरहेका छन् । बेलायतको सार्वजनिक स्वास्थ्यसम्बन्धी निकाय पब्लिक हेल्थ इंगल्याण्डले कोरोना भाइसविरुद्धको लडाइँमा एक आपतकालीन योजना तयार गर्नका लागि स्पेनिस फ्लूको संक्रमणको फैलावट सम्बन्धमा अध्ययन गरेको थियो ।

अध्ययनबाट एउटा गम्भीर तथ्य के खुलासा भयो भने सन् १९१८ को जाडो याममा स्पेनिस फ्लूको दोस्रो लहर आएको थियो, जुन निकै घातक सावित भयो ।

तत्कालीन समयमा दुनियाँ प्रथम विश्वयुद्धमा होमिएको थियो । स्पेनिस फ्लूको संक्रमण रोकथाम तथा उपचार र सावधानी अपनाउनेलगायतमा सरकारहरूको पर्याप्त ध्यान जान सकेन । भीडभाडयुक्त सैनिक परिवहन, युद्ध सामग्रीको ओसापसार तथा जंगी सामान बनाउने कारखाना, बस तथा रेलहरूका माध्यमबाट स्पेनिस फ्लू विश्वभर नै डढेलोसरी फैलिएको थियो ।
सन् १९१८ मा इन्फ्लुएन्जाको कुनै उपचार थिएन । साथै निमोनियालगायतका स्वासप्रस्वासजन्य रोगको उपचारका लागि समेत कुनै एन्टिबायोटिक्स उपलब्ध थिएन । त्यस्तोमा अस्पतालमा बिरामीको भीड लाग्यो । त्यस समय संक्रमण रोक्नका लागि देशहरूमा अहिलेसम्म लकडाउन अपनाउन पनि सम्भव भएन । यद्यपि, धेरै व्यापार व्यवसायहरू तथा खेल प्रतियोगिता समेत युद्धका कारण बन्द भएका थिए ।

सडकमा डिसइन्फेक्टेन्ट छर्किने तथा मास्क लगाउने चलन पनि त्यतिबेला देखि चलेको थियो । यद्यपि, मानिसहरूमा स्वास्थ्यसम्बन्धी जानकारीहरू पर्याप्त थिएनन् । अहिले कोरोना भाइरस महामारीका बेला चल्ने विभिन्न अफवाहहरूजस्तै त्यस बेला पनि अनेकखालका अफवाह फैलिए । नियमित चुरोट खाने गर्नाले स्पेनिस फ्लू नलाग्ने हल्ला चलाइयो । बेलायतको संसदमा त एकजना सांसदले नै सोधे : के दिनको तीनपटक कोक लिनाले इन्फ्लुएन्जाबाट बँच्न सकिन्छ भन्ने कुरा सही हो ?

स्पेनिस फ्लूको महामारीबाट सायदै कुनै देश अछुतो रहे । तर महामारीको असर तथा महामारीविरुद्ध चालिएका कदमका सन्दर्भमा भने देशहरूबीच ठूलो अन्तर रह्यो । अमेरिकाका कतिपय राज्यहरूले नागरिकहरूलाई क्वारेन्टाइनको व्यवस्था गरे । कतिपय राज्यले मुखमा मास्क लगाउन अनिवार्य गरे । सिनेमा, रंगमञ्च तथा मनोरञ्जन स्थलहरू पूर्ण रूपमा बन्द गरियो, अमेरिकाभर ।

अन्ततः सन् १९१९ को गृष्मयाममा स्पेनिस फ्लू आफैं नियन्त्रणमा आयो । कुनै खोप वा औषधिको आविष्कार भएर स्पेनिस फ्लू निर्मूल भएको होइन । संक्रमितहरू कि त मरे, कि त रोग प्रतिरोधी क्षमताको विकास गरे । इन्फ्लुएन्जाको खोप त पहिलोपटक सन् १९४० को दशकमा मात्रै पत्ता लागेको हो ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment