Comments Add Comment

चीनले १० दिनमा वुहानका सबै नागरिकको परीक्षण गर्न सक्ला त ?

पछिल्लो समय चीनले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको विषयले समग्र विश्वको ध्यान आकर्षित गरेको छ । चीनले १० दिनभित्र वुहानका सबै मानिसको कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ । वुहान कोरोना भाइरसको उद्गमस्थल हो ।

तर, चीनले यसअघि नै वुहानलाई कोरोना भाइरसबाट मुक्त सहर घोषणा गरेको थियो । यद्यपि यो सहरमा ६ जना संक्रमित भेटिएसँगै चीनले सबै नागरिकको परीक्षणको योजना अघि सारेको हो । यो सहरमा अप्रिलको सुुरुयता कुनै पनि संक्रमित फेला परेका थिएनन् । त्यसैले सबै मानिसमा कोरोना भाइरस परीक्षणमा सरकार अघि बढेको हो ।

त्यसो त यसअघि नै अधिकारीहरूले वुहानका सबै मानिसमा करोना भाइरसको परीक्षण गरिने बताएका थिए । तर, अहिले सरकारले राखेको समयसीमा भने निकै महत्वाकांक्षी छ ।

परीक्षणका लागि कति समय लाग्छ ?

अप्रिलको अन्तिममा हुबेई प्रान्तको सरकारले प्रतिदिन ६३ हजार मानिसको कोरोना भाइरसको परीक्षण गरेको थियो । मे १० सम्ममा यो संख्या ४० हजारभन्दा कममा झरेको थियो । अहिले वुहानको सहरमा मात्र ६० भन्दा धेरै परीक्षण केन्द्रहरू छन् । यी केन्द्रहरूको समग्र क्षमता अधिकतम एक लाख परीक्षण प्रतिदिनको छ । यस्तोमा एक करोड १० लाख जनसंख्या भएको सहरमा समग्र जनसंख्याको परीक्षण १० दिनमा गर्नु निकै चुनौतीपूर्ण काम हो ।

वुहानको परीक्षणको यो आँकडालाई आधार मान्ने हो भने चिनियाँ अधिकारीले सांकेतिक रुपमा परीक्षण सुुरु भएको १० दिनमा यो सबै जनसंख्याको परीक्षण गर्न नसकिने बताइसकेका छन् ।

वुहानको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले फरक फरक क्षेत्रमा कोरोना भाइरसको परीक्षण फरक फरक मितिमा सुरु गरेर १० दिनमा सकिने बताएको छ । यद्यपि मे १३ मा रोयटर्समा प्रकाशित समाचारअनुसार वुहानको १३ मध्ये दुई जिल्लामा मात्र कोरोना भाइरसको परीक्षणको तयारी सुरु भएको छ ।

अहिलेसम्म कति परीक्षण भयो ?

मे १४ सम्मको तथ्यांक हेर्ने हो भने अहिलेसम्म वुहानमा २७ लाख मानिसमा कोरोना भाइरसको परीक्षण भइसकेको छ । यद्यपि वुहान युनिभर्सिटीका याङ झाङक्युले भने एक अन्तर्वार्तामा अहिलेसम्म वुहानमा ३० देखि ५० लाख मानिसको कोरोना भाइरसको परीक्षण भइसकेको बताएका छन् ।

साथै, यो सहरको जनसंख्या पनि स्थिर छैन । अधिकारीहरूका अनुसार जनवरी २३ मा सहरमा लकडाउन सुरु हुनुभन्दा पहिला नै ५० लाख मानिसले नयाँ वर्ष लुनार मनाउन वुहान छाडेका थिए । अप्रिल ८ मा लकडाउन खुलेको थियो । अहिलेसम्म यीमध्ये कति मानिस फर्किए भन्ने स्पष्ट छैन ।

सबै मानिसको परीक्षण हुनु जरुरी छ ?

वुहान युनिभर्सिटीका झाङक्यु प्रत्येक मानिसमा कोरोना भाइरसको परीक्षण गरिनु जरुरी नरहेको बताउँछन् । छिमेकमा कुनै पनि संक्रमित फेला नपरेको अवस्थामा उनीहरूको कोरोना भाइरसको परीक्षण आवश्यक नपर्ने उनको भनाइ छ ।

अधिकारीहरूले पनि अहिले सबैभन्दा जोखिममा रहेका मानिसहरूमा परीक्षण सुरु गर्ने तयारी भइरहेको बताएका छन् । उदाहरणका लागि वृद्ध, अत्यधिक जनघनत्व रहेको क्षेत्रका साथै स्वास्थ्य सेवाजस्तो क्षेत्रमा काम गर्ने कर्मचारीमा यसको परीक्षण गरिनेछ । अघिल्लो सात दिनमा कोरोना भाइरसको परीक्षण गरिसकेका मानिसहरूको परीक्षण आवश्यक नपर्ने बताइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment