Comments Add Comment

कविता : कोसी कहिरन

म सप्तकोसी !

अब एकै छिन थुनिन्छु !

म समय–गति

अब एकै छिन रोकिन्छु !

ए…

अक्करहरू जिन्दगीका

सुन–सुन–सुन

मेरा कथाहरू सुन

मेरा व्यथाहरू सुन

समयका दारुण क्रन्दन

र, रोदनहरू सुन

यसअघि

कहिल्यै नसुनिएका

इतिहासका धुनहरू सुन !

म सप्तकोसी !

अब एकै छिन थुनिन्छु !

म समय–गति

अब एकै छिन रोकिन्छु !

कति बग्नु बोकेर ढाकरमा

मयलहरू पहाडका

कति कहनु रोकेर दोभानमा

कथाहरू गाउँका !

कति फलाक्नु बिजुवा

कति गाउनु रिसिया !

इतिहासले चिन्दै नचिनेका

समयले सुन्दै नसुनेका

पुर्खाका पदचापहरू सुन !

म सप्तकोसी !

अब एकै छिन थुनिन्छु !

म समय–गति

अब एकै छिन रोकिन्छु !

अक्करबाट खसेर

नदीको घागीमा घुमिरहेका

ढाक्रेका आत्माहरू सुन

खरितेले धपाउँदा धपाउँदै

तर्सेर भीरबाट खसेका

मृत तारीगाईका आत्माहरू सुन

वायु भएर

वायुमण्डलमा घुमिरहेका

समस्त प्राणीका प्राणहरू सुन !

म सप्तकोसी !

अब एकै छिन थुनिन्छु !

म समय–गति

अब एकै छिन रोकिन्छु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment