Comments Add Comment

सिंहदरबार प्रबलीकरणको काम फेरि सुरु

३ जेठ, काठमाडौं । कोरोना कहरका बीच सिंहदरबारमा पुनर्निर्माणको कामले गति लिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार लकडाउनका कारण केही समय रोकिएको सिंहदरबार प्रबलीकरणको काम पुनः सुचारु भएको हो । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भइ टायल र मार्वल एवं पेन्टिङको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

सिंहदरबार प्रबलीकरण कार्यको कार्यान्वयन हेर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रबलीकरण कार्यलाई अघि बढाइएको बताएका छन् । विश्वकर्माका अनुसार निर्माण कम्पनीले हाल निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीय स्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ ।

निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने उनको भनाइ छ । कामदारहरुलाई सानो-सानो समूहमा परिचालन गर्ने तथा कार्यक्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती-न्यू टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले जानकारी दिए ।

चारवटा मोहडाको प्रबलीकरणमा हाल एक सय १९ कामदारले काम गरिरहेका छन् । सुवेदीले कामदारहरुलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएको जानकारी दिए । लकडाउनका कारण रोकिएका रानीपोखरी एवं धरहरा पुनर्निर्माणको काम पनि पुनः सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment