Comments Add Comment

‘हामी बाँचाैं र बचाऔं भन्ने अभियानमा केन्द्रित भएका छौं’

५ जेठ, काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) का कारण ऋणीहरूलाई ठूलो असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका ऋणीहरूलाई ब्याजमा सहुलियत, किस्ता तिर्ने अवधिमा थप, पुनर्कर्जा आदि विभिन्न सहुलियत प्रदान गर्न निर्देशनसमेत जारी गरिसकेको छ ।

राष्ट्र बैङ्कले ल्याएको सहुलियत छँदैछ । यसका अतिरिक्त एनआईसी एसिया बैङ्कले आफ्ना ग्राहकहरूका लागि थप सहुलियत दियो ।

गत वैशाख महिनामा बैङ्कले राष्ट्र बैङ्कको निर्देशन पालना गरेर राष्ट्र बैङ्कले भनेको दुई प्रतिशत ब्याज छुटमात्रै होइन छुटपछि तिर्नुपर्ने ब्याज रकमको १० प्रतिशत छुटसमेत दियो । वैशाखका लागि ल्याएको उक्त योजनालाई बैङ्कले जेठ महिनामा समेत निरन्तरता दिने भएको छ ।

बैङ्कले ग्राहकहरूको इच्छा, चाहना तथा आवश्यकताहरू जस्तोसुकै विषम परिस्थितिमा पनि प्रभावकारीरुपले सम्बोधन गर्नको लागि सहज, सबल, गतिशील, विश्वसनीय, उत्तरदायी भन्ने मूल मन्त्रका साथ काम गरिरहेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने बताउँछन् । उनी बैङ्क अहिले नाफा कमाउनेभन्दा पनि ग्राहकको सेवालाई प्राथमिकतामा अघिबढेको बताउँछन् ।

प्रस्तुत छ, कोडिभ–१९ का बेला बैङ्कले दिइरहेको सेवा सुविधा तथा बैङ्कका योजनाबारे सीईओ न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंशः

नेपाल राष्ट्र बैङ्कले दोस्रो चरणमा घोषण गरेको सहुलियतले ऋणीहरूलाई कत्तिको राहत भएको छ ?

नेपाल राष्ट्र बैङ्कले मिति २०७७ वैशाख १६ गते कोरोना भाइरसबाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न बैङ्क तथा वित्तीय संस्थाहरूले ऋणीहरूको २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशतले कम गर्न निर्देशन जारी गरेको छ ।

यसबाट ऋणीहरूको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दुले कम गरी आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैङ्क तथा वित्तीय संस्थाहरू आधारदरभन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्र बैङ्कले निर्देशन गरेको छ ।

तर, खाद्यान्न प्रशोधन तथा बिक्रीवितरण, ग्यास उत्पादन तथा बिक्रीवितरण, सोप एण्ड केमिकल्स, औषधि बिक्रीवितरण, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सुर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत् परियोजनाहरूका हकमा उक्त छुट नपाइने व्यवस्था गरिएको छ ।

साथै, २०७७ असार मसान्तपश्चात विद्यमान व्यवस्थाअनुसार आधारदरका आधारमा कायम हुने ब्याजदर बैङ्क तथा वित्तीय संस्थाहरूले निर्धारण गर्नसक्ने समेत उक्त निर्देशनमा उल्लेख छ ।

कोरोना भाइरसबाट उत्पन्न परिस्थितिबाट प्रभावित होटल, रेष्टुरेन्ट, रिसोर्ट, ट्राभल, ट्रेकिङलगायतका पर्यटन क्षेत्र तथा हवाई उड्डयन, व्यवसायिक प्रायोजनका सवारी साधन, साना तथा मझौला उद्योग, निर्यात उद्योग, मनोरञ्जन उद्योग, अस्पताल, पोल्ट्री व्यवसाय आदिको आवश्यकता पहिचान गरी बैङ्कले स्वीकृत सीमाको १०% सम्म चालुपुँजी कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसरी सीमा प्रदान गर्दा कर्जा स्वपुँजी अनुपातको व्यवस्था अनिवार्य नहुने, प्रदान गरिएको सीमा नवीकरण गर्न नपाइने तथा भुक्तानी अवधि बढीमा एक वर्षसम्मको हुने व्यवस्था समेत गरेको छ ।

गत महिना एनआईसी एसिया बैङ्कले राष्ट्र बैङ्कले घोषणा गरेभन्दा थप छुट दियो, ग्राहकहरूको प्रतिक्रिया के छ ?

एनआईसी एसिया बैङ्कले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरूमा लागू हुनेगरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जना तथा पेनल ब्याजको शतप्रतिशत मिनाहा गर्ने योजना दिएको छ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाका लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैङ्कले नेपाल राष्ट्र बैङ्कले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको हो ।

यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन गई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास हामीले लिएका छौं ।

ग्राहकहरूको यस योजनामा सहभागिता निकै उत्साहपूर्ण रह्यो । उहाँहरूले हामीमाथि गरेको यो विश्वासले गर्दा हामीलाई थप योजना गर्ने हौसला समेत प्राप्त भएको छ । समग्रमा भन्दा नेपालको समग्र बैङ्किङ इतिहासमा यस्तो खालको योजना बिरलै हुने गर्छ ।

त्यसैले यो योजनाले ग्राहकको सर्वोपरि हितलाई मनन् गर्दै यस अत्यन्त प्रतिकूल घडीमा समेत ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई चरितार्थ गर्दै हाम्रा समस्त ग्राहकहरूलाई अधिकतम फाइदा पु¥याउने काम गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले निर्देशित गरेको सहुलियतको अलावा थप सहुलियत प्रदान गर्दा ग्राहक महानुभावहरूको सर्वोपरि हितको प्रवद्र्धन हुने विश्वास हामीले लिएका छौं ।

वैशाखका लागि सहुलियत त दिनुभयो अब जेठमा चाहिँ के गर्नुहुन्छ ?

एक उत्तरदायी बैङ्कको हिसाबले हामीले ग्राहक महानुभावहरूलाई सकेसम्म सहुलियतका साथ अतुलनीय फाइदाहरू दिँदै आएका छौं । त्यसैले यसका लागि हामीले नियमनकारी निकायको निर्देशन नै कुर्नुपर्छ भन्ने पनि होइन । यो विषम परिस्थितिमा कर्जामा सहुलियत दिनु नै ग्राहक महानुभावहरूका लागि सबैभन्दा उत्कृष्ट उपहार हो ।

त्यसैले, वैशाख महिनामा जे सोचले हामीले छुट दिएका थियौं । त्यसमा ग्राहकहरूले प्रगाढ विश्वास गरिदिनुभयो । जसकारण हामी आफूलाई उत्तिकै जिम्मेवार सम्झेर जेठ महिनाका लागि समेत उत्कृष्ट योजना ल्याउनमा थप हौसला प्राप्त भएको छ ।

हामीले जसरी नेपाल राष्ट्र बैङ्कको दुई प्रतिशत सहुलियतका अलावा ऋणीहरूले वैशाख महिनासम्ममा तिर्नुपर्ने चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट दियौं । ठिक त्यसैगरी जेष्ठ महिनामा पनि ऋणीहरूलाई सहुलियत दिनेगरी सो व्यवस्था गरेका छौं ।

कोरोना भाइरसले समग्र अर्थतन्त्रका चक्काहरूलाई शिथिल बनाउन लागेकोमा हाम्रो बैङ्कबाट कर्जा सुविधा उपभोग गरिरहनु भएका ग्राहक महानुभावलाई यो अप्ठ्यारो समयसँग जुध्न केही सघाउ पुगोस् भन्ने हेतुले हामीले यस्तो योजनाको निरन्तरता दिएका हौं ।

राष्ट्र बैङ्कले भनेको सहुलियत कोरोना प्रभावितलाई मात्रै हो । तपाईंहरूले दिने सहुलियत पनि काेरोना प्रभावितलाई मात्रै हो कि सबै ऋणीले यो सुविधा पाउछन् ?

अहिलेको विषम परिस्थितिको प्रतिकूल असर सम्पूर्ण व्यवसायलाई नै परिरहेको हुनाले बैङ्कले ल्याएको १० प्रतिशत छुटको योजना सम्पूर्ण प्रकृतिका कर्जा र क्षेत्रका ग्राहकहरूले उपभोग गर्न सक्नुहुन्छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालु पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैङ्कबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरूमा लागू हुनेछ ।

बैङ्कले २०७७ जेठ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेका छौं ।

बैङ्कले प्रदान गर्ने १० प्रतिशत ब्याज छुट चैत्र महिनाको आधार दर ९.६१ प्रतिशतमा कर्जा उपभोग गरिरहेका ऋणीहरूको हकमा भने लागू हुने छैन तथा बैङ्कले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरूको ब्याजदर बैङ्कको चैत्र मसान्तको आधारदर ९.६१ प्रतिशतभन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था समेत मिलाएका छौं ।

ब्याज छुटको व्यवस्था निष्कृय तथा खराब कर्जाको हकमा समेत लागू हुन्छ ?

यो १० प्रतिशत ब्याजको सुविधा निष्कृय तथा खराब कर्जामा समेत प्रदान गर्ने व्यवस्था बैङ्कले गरेको छ । यदि उहाँहरूले जेष्ठ मसान्तसम्म चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम पूर्ण रुपमा भुक्तान गर्नुहुन्छ भने त्यो अवस्थामा उहाँहरूले १० प्रतिशत ब्याज छुट पाउनुहुनेछ ।

यसबाहेक खराब वा निष्कृय कर्जाको ब्याज भुक्तानी ढिला भएकोमा लाग्ने सम्पूर्ण जरिवाना शुल्क तथा हर्जाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिएको छ । अहिले मात्र होइन, यो अफर वैशाख महिनाको हकमा समेत लागू गरेका थियौं र त्यसैअनुसार हाम्रा ऋणीहरू लाभान्वित भइरहनुभएको छ ।

कर्जाको ब्याज बुझाउन भएको ढिलासुस्तीबापत ऋणीहरूले जरिवाना तिर्नुपर्ने हुन्छ । यससम्बन्धमा के–कस्ता छुटका योजना रहेको छ ?

यस योजनाअन्तर्गत ऋणीहरूको वित्तीय भार कम गर्ने हेतुले हामीले जेष्ठ महिनाभित्र चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्नुभएमा जरिवाना शुल्कमा शतप्रतिशत छुटको पनि व्यवस्था गरेका छौं ।

बैङ्कले प्रदान गर्ने १० प्रतिशत छुट ऋणीहरूले कहिलेसम्म प्राप्त गर्छन् ?

नेपाल राष्ट्र बैङ्कले व्यवस्था गरेको २०७६ चैत्र मसान्तसम्म चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम ग्राहक महानुभावहरूको खातामा जम्मा गरिसकेका छौं ।

त्यसैगरी हामीले वैशाख महिनाको १० प्रतिशत छुट सहुलियतको हकमा प्राप्त गर्नुपर्ने साधारण ब्याजको १० प्रतिशत छुट रकम जेठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक महानुभावको बैङ्क खातामा जम्मा गर्ने व्यवस्था मिलाएका छौं र जेष्ठ महिनाको कर्जा छुट रकमको हकमा असारको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गर्ने व्यवस्था मिलाएका छौं ।

कुन–कुन अवस्थामा ग्राहकले यस योजनामार्फत १० प्रतिशत ब्याज छुट प्राप्त गर्न सक्नुहुन्न ?

बैङ्कले प्रदान गर्ने १०% छुट चैत्र महिनाको आधारदर ९.६१ प्रतिशतमा कर्जा उपभोग गरिरहेका ऋणीहरूको हकमा भने लागू हुने छैन । जसका लागि बैङ्कले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरूको ब्याजदर बैङ्कको चैत्र महिनाको आधार दर ९.६१% भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था मिलाएका छौं ।

उक्त ब्याज छुट ऋणीहरूको उपभोग गर्न बाँकी कर्जा तथा सीमा थप गरी ब्याज भुक्तानी गरिएको कर्जा सुविधाको हकमा भने नपाउने व्यवस्था गरिएको छ । साथै, यस छुट सुविधा उपभोग गर्नका लागि ग्राहक महानुभावहरूले जेष्ठ महिनामा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम भुक्तान गर्नुपर्ने हुन्छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारी गरिरहेको छ र विभिन्न राहत तथा सहुलियतको कुराहरू आइरहेका छन् र सरकारले केही सहुलियत प्रदान गरेको अवस्थामा यहाँहरूको १० प्रतिशत ब्याज छुटको सुविधा निरन्तर रहन्छ की रहँदैन ?

हामीले ल्याएको १० प्रतिशत ब्याज छुटको योजना अन्य सरोकारवाला वा नियमनकारी निकायद्वारा व्यवस्था गरिएकोमा समेत थप सहुलियत प्रदान गर्ने उद्देश्यले ल्याएका हौं । उदाहरणको लागि हामीले वैशाख महिनामा १० प्रतिशत ब्याज छुटको योजना सार्वजनिक गरी लागू ग¥यौं । तत्पश्चात राष्ट्र बैङ्कद्वारा पनि वैशाख १६ गते सूचना जारी गरी कोभिड १९ को प्रभावित ऋणीहरूलाई दुई प्रतिशत छुट दिने व्यवस्था गरियो । उक्त व्यवस्था कोभिड–१९ प्रभावित क्षेत्रहरूमा प्रवाह भएको कर्जाहरूमा मात्रै थियो तथापि हामीले सम्पूर्ण क्षेत्रका कर्जाहरूमा नै सहुलित हुनेगरी राष्ट्र बैङ्कले दिएको २ प्रतिशतका अलावा थप १० प्रतिशतको ब्याज छुटको योजना निरन्तर ग¥यौं ।

यसर्थ आगामी वर्षको बजेटमा पनि विशेष प्रकारको राहत तथा सहुलियतको व्यवस्था आएमा पनि हामीले आफ्नो तर्फबाट यो १० प्रतिशत ब्याज छुटको योजना निरन्तर नै जारी राखी थप सहुलियत प्रदान गर्ने योजना बनाएका छौं ।

ग्राहकहरूलाई यस विषम परिस्थितिमा के सन्देश दिन चाहनुहुन्छ ?

सर्वप्रथम त सम्पूर्ण विश्वलाई नै चुनौती दिइरहेको कोभिड–१९ को संक्रमणबाट बच्न अपनाउनुपर्ने सम्पूर्ण सावधानी अपनाई र धैर्यवान भई यो विषम परिस्थितिसँग सामना गर्दैअघि बढ्न म सबैलाई अनुरोध गर्दछु । कुनै पनि संकट अनन्तकालसम्मका लागि हुँदैन र संकटसँगै सम्भावनाका ढोकाहरू पनि क्रमशः खुल्दै जान्छन् भन्ने तथ्यलाई आत्मसाथ गर्दै हतोत्साही नहुने र ऊर्जाशील रहिरहने तर्फ हामी सबैले हातेमालो गर्दै एकताबद्ध भई अगाडि बढेमा निश्चय पनि यो संकटमाथि विजय प्राप्त सकिन्छ भन्ने मलाई लाग्छ ।

हरेक संकटले नयाँ सम्भावनाको ढोका खोल्ने गर्छ यसर्थ कोभिड–१९ ले पनि हाम्रो देशमा सूक्ष्म रुपमा विकास भइरहेको डिजिटल संस्कारलाई थप उचाइमा पु¥याउन सहयोग पु¥याउँछ । यो समय डिजिटल इकोनोमी र डिजिटल गभर्नेन्सलाई मूर्तरुप दिने एक स्वर्णीम अवसर पनि हो ।

तसर्थ ‘कोरोनासँगको लडाइँ, बैङ्किङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने मूल नाराका साथ घरमै बसी डिजिटल बैङ्किङमार्फत खाता खोल्ने, कर्जासम्बन्धी कारोबार गर्ने, अन्तरबैङ्क रकम स्थानान्तरण गर्ने, बिजुली महसुल, खानेपानी महसुल, इन्टरनेट सेवा, बिमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू सहज रुपमा गर्न सकिने व्यवस्था मिलाएका छौं ।

म हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरूलाई घरमै बसी आवश्यक सम्पूर्ण बैङ्किङ सेवाहरू डिजिटल बैङ्किङ मार्फत नै लिनको लागि विनम्र अनुरोध गर्दछु ।

यस्तो विषयमा परिस्थितिमा ग्राहकहरूको गुनासा तथा समस्यालाई कसरी समाधान गरिरहनुभएको छ ?

सरकारले बन्दाबन्दी घोषण गरेपश्चात ग्राहकलाई बैङ्किङ पहुँच तथा सुविधा पहिलेकै अवस्था जसरी प्रदान गर्न त पक्कै पनि सकिन्न’थ्यो । त्यसैले ग्राहक महानुभावहरूको बैङ्किङ आवश्यकतालाई सहज तथा सरल ढंगबाट यस विषम परिस्थितिमा पनि सुचारु गर्नको लागि हामीले सोच बदलेर बैङ्कको ग्राहक सहायताको संरचनालाई नै परिवर्तन ग¥यौं । देशमा भएको बन्दाबन्दीको कारणले विभिन्न डिजिटल माध्यमहरूमार्फत कारोबार गर्न अझ सहज हुने अवस्थालाई मध्यनजर गर्दै र यस्तो डिजिटल बैङ्किङ कारोबारलाई थप विश्वसनीय, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि हामीले ‘डिजिटल हेल्प डेस्क’ को स्थापना ग¥यौं ।

उक्त डिजिटल हेल्प डेस्कमार्फत डिजिटल बैङ्किङ्ग कारोबारमा देखिएका समस्या जस्तै ग्राहकहरूको मोबाइल बैङ्किङ एक्टिभेसन, पासवर्ड रिसेट, तथा अन्य डिजिटल प्लेटफर्महरूमा देखिने समस्या समाधान गर्नको लागि बैङ्कको सबै तहमा कार्यरत कर्मचारीहरू समेत संलग्न गरायौं ।

यस सहायता केन्द्रले ग्राहकहरूको समस्याको तुरुन्त समाधान गरी ग्राहकहरूको सन्तुष्टि र अनुभवलाई थप उचाइमा पु¥याउने कार्य ग¥यौं । यस्तै विभिन्न आकर्षक अफरहरू समेत ल्याइयो । जसको परिणास्वरुप होला आज हाम्रो डिजिटल कारोबार र मोबाइल बैङ्किङ प्लेटफर्ममा ग्राहकहरूको इन्गेजमेन्ट ह्वात्तैले बढेको छ ।

साथै, केन्द्र स्तरबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने भएकोले हामीले केन्द्रीय स्तरमा रहेको ग्राहक सहायता केन्द्रलाई सोच बदलेर प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृतमा कार्यरत कर्मचारीसहित संलग्न रहेको ग्राहक सहायता केन्द्रको स्थापना ग¥यौं ।

जसमार्फत् यस विषम परिस्थितिमा ग्राहकहरूले भोग्नु परेको विभिन्न कर्जा, निक्षेप, ट्रान्जेक्सन बैङ्किङ, ट्रेड फाइनान्स, रेमिट्यान्स तथा अन्य बैंकिङ्ग समस्याहरू पहिचान गरी सुक्ष्म रुपले हल गरिरहेका छौं र ग्राहकहरूलाइ सुसुचित गरिरहेका छौं ।

विभिन्न अप्ठ्यारा एवं असिमितताका बाबजुत सञ्चालित यस्ता इकाइहरूले २४ सैं घण्टा युद्धस्तरमा ग्राहक महानुभावहरूलाई सेवा तथा सुविधा दिइरहेका छन् । यस्ता सहयोगी केन्द्रबाट ग्राहक महानुभावहरूले बैङ्कको सेवा लिंदा भोग्नुपरेका समस्याको तुरुन्तै समाधान गर्ने गरी अगाडि बढीरहेका छौं ।

यस विषम परिस्थितिमा ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैङ्कले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैङ्कको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्नुहुन समेत म सम्पूर्ण ग्राहकमहानुभावहरूलाई विनम्र अनुरोध गर्दछु ।

अन्त्यमा अन्य सरोकारवालाहरूलाइ के सन्देश दिन चाहनुहुन्छ ?

अहिलेको परिस्थितिको गम्भिर्यता तथा यसले गर्दा समग्र अर्थतन्त्रमा पारेको बहुआयामीक, दुरगामी तथा चौतर्फी प्रभावलाइ मध्येनजर गर्दै नेपाल राष्ट्र बैङ्क तथा नेपाल सरकारले दोस्रो चरणको राहत तथा सहुलियतको व्यवस्था गरिसकेका छन् ।

अहिलेको टड्कारो आवश्यकता भनेको सकेसम्म न्यून क्षतिमा छिटो भन्दा छिटो कसरी अर्थतन्त्रलाइ चलायमान राखेर अगाडि बढ्न सकिन्छ भन्ने नै हो त्यसैले, सम्पूर्ण सरोकारवालाहरूले हातेमालो गर्दै एकताबद्ध भएर यस विषम परिस्थितिमा देशको अर्थतन्त्रलाइ सबल कसरी बनाउने एवम् आफु पनि बाँच्ने र अरुलाइ पनि बचाउने अभियानमा मन, बचन र कर्मले दत्त चित्त भएर ठोस कार्ययोजनाका साथ युद्धस्तरमा अघि बढ्न अति आवश्यक छ, भन्ने तथ्यलाइ ह्दयंगम गर्दै एन आइ सी एशिया बैङ्क अगाडि बढेको छ ।

यसका साथै कोभिड १९ बाट प्रभावित व्यक्ति तथा क्षेत्रहरूको उचित पहिचान गरी प्रभावकारी रिलिज, रेश्क्यू तथा स्टूमुलस प्याकेजको व्यवस्था आगामी बजेट तथा मौद्रिक नीति मार्फत हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment