Comments Add Comment

कोरोनाबाट मृत्यु भएका युवक : मुम्बईबाट दुई हप्ता लगाएर आइपुगेका थिए नरैनापुर

४ जेठ, बुटवल । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएका बाँके नरैनापुरका २५ वर्षीय युवक बुधबार मात्र नेपाल आइपुगेको पाइएको छ ।

नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयाँ बस्तीका उनको आइतबार बिहान मृत्यु भएको थियो । उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनी मुम्बईबाट दुई साता लामो यात्रा गरेर नरैनापुर आएका थिए । लामो पैदल यात्राका कारण उनको खुट्टा सुन्निएको थियो । शनिबार राति उनलाई एक्कासी ज्वरो आयो ।

स्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भएको हो । ‘अरु कुनै रोग भएजस्तो थिएन’ नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले भने, ‘राति एक्कासी ज्वरो आएको र वान्ता पनि गरेका रहेछन् । पछि स्वास्सप्रस्वासमा पनि समस्या देखिएछ ।’

एम्बुलेन्स खोज्दाखोज्दै युवकको ज्यान गएको उनले बताए । तर क्वारेन्टाइनमा बसेकाहरुले समयमा उपचार नपाएर उनको मृत्यु भएको बताएका छन् ।

क्वारेन्टाइनमा बसेका उनलाई एक दिनअघि नै वाकवाकी लाग्ने समस्या थियो । शनिबार राति लगातार दुई घण्टा वान्ता गरेका थिए । तर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीद्वय दिनेश मौर्य र प्रेम बुढा दुबै त्यहाँ थिएनन् ।

उनलाई अस्पताल लैजान खोज्दा पीपीई नभएको भन्दै एम्बुलेन्स पनि आएन । क्वारेन्टाइन व्यवस्थापन गरिरहेका नरैनापुर गाउँपालिका–६ का वडा सचिव जीवनलाल यादव पनि सम्पर्कविहीन भएको उनीहरुको आक्रोश छ ।

विहान १० बजेसम्म गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राबाहेक स्वास्थ्यकर्मी र अन्य कर्मचारी घटनास्थलमा नपुगेको बाँकेका पत्रकार विनय दीक्षितले बताए । क्वारेन्टाइनमा बसेकाहरुले असुरक्षित भएको भन्दै घर पठाउन माग गरेका छन् । ‘यो क्वारेन्टाइन असुरक्षित छ, हामीलाई घर नपठाए अन्दोलन गर्छौं’ क्वारेन्टाइनमा बसेका एक युवकले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment