Comments Add Comment

निजी क्षेत्रमार्फत प्राप्त १ करोड ११ लाख सहयोग राहत कोषमा

४ जेठ, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले निजी क्षेत्रमार्फत प्राप्त एक करोड ११ लाख, ११ हजार एक सय ११ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रधानमन्त्री कार्यालयअन्तर्गतको कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गरेका छन् ।

मन्त्री पुनले प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलाई ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।  त्यसक्रममा मन्त्री पुनले कोषमा जम्मा भएको रकम महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक परेका पालिकाहरूमा पठाउने कार्य सुरु गर्न सुझाव दिए ।

सचिव बिडारीले हालसम्म कोषमा दुई अर्ब २६ करोड रुपैयाँ जम्मा भइसकेको जानकारी दिए । उनले माग भई आएको अवस्थामा कोषबाट पालिकाहरूमा रकम पठाउन सकिने बताए । हालसम्म केही पालिकाले मौखिक रुपमा रकम माग गरेकोभन्दै उनले तालुकदार संघीय मामिता तथा स्थानीय विकास मन्त्रालयमार्फत प्रक्रियागत रुपमा पालिकाहरूले कोषको रकम माग गर्न सक्ने स्पष्ट गरे ।

महामारीबाट कम प्रभावित र आन्तरिक श्रोत परिचालन गर्न सक्ने पालिकाहरूका लागि कम र अतिप्रभावित तथा आन्तरिक श्रोत कम भएका पालिकाहरूका लागि बढी प्राथमिकतामा राखेर रकम पठाइने उनको भनाइ थियो ।

संघीय सरकारले पालिकाहरूले क्वारेन्टाइन निर्माण, क्वारेन्टाइनमा राखिएकाहरूको खानपिन तथा उपचारका लागि आफूसँग मौज्दात रकमबाटैै खर्च गरे पनि पछि भुक्तानी दिइने व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment