Comments Add Comment

पशुपतिमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द

४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द भएको छ । कोरोनाबाट पहिलो संक्रमित सिन्धुपाल्चोककी महिलाको शनिबार राति विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको थियो ।

त्यसपछि मेसिनलाई पूर्ण स्यानिटाइज गर्ने क्रममा प्राविधिक समस्या आएका कारण विद्युतीय शवदाह गृह बन्द भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

‘कोरोना संक्रमितको अन्त्येष्टिपछि विद्युतीय शवदाह गृहलाई पूर्ण स्यानिटाइज गर्नुपर्छ,’ उनले भने, ‘सोही क्रममा केही प्राविधिक समस्या आएपछि बन्द भएको हो ।’ उनका अनुसार इन्जिनियरहरुले यसको मर्मतपछि एक/दुई दिनमै सञ्चालन गरिने उनको भनाइ छ।

यता, किरियापुत्री भवन भने तत्कालका लागि बन्द गरिएको छ। अहिले किरियामा बसिरहेका मानिसहरूबाहेक नयाँ किरिया पशुपतिमा नबस्ने गरी बन्द गरिएको उनले जानकारी दिए ।

किरियापुत्री भवनका सम्पूर्ण कोठाहरू केही समय खाली राखेर भाइरसरहित बनाउनुपर्ने भएका कारण केहीदिन नयाँ किरियापुत्रीलाई पशुपतिमा बस्न रोक लगाइएको हो ।

‘नियमित प्रयोगमा रहेका कोठाहरू आइसोलेसन गर्नुपर्छ,’उनले भने,’सोहीकारण पूर्णतया सरसफाइ गरी कोठाहरू राखी राख्नका लागि नयाँ किरियापुत्रीलाई तत्काल पशुपतिमा नराख्ने निर्णय भएको हो ।’

कोरोना भाइरसको संक्रमण फैलन नदिन र फैलने जोखिम न्यूनीकरणका लागि समेत यसो गर्नुपरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment