Comments Add Comment

‘चिउराकै भरमा नौ दिन हिँडियो, बबईमा प्रहरीले थन्क्यायो’

फाइल फोटो

५ जेठ, सुर्खेत । “रसुवा जिल्लाबाट हिँडेको सोमबार नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ”, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे ।

हर्कबहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवा जिल्लाको आमा छेदुङ्मोमा पुगेको थियो । भूकम्प पीडितहरुको घर निर्माण गर्न पुगेको उनीहरुको ज्यालादारी काम दुईसाता नपुग्दै रोकियो । नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि कामविहीन भएको हर्कबहादुरले बताए ।

उनले भने, “लकडाउन खुलेपछि घर फर्कने आश गर्दै करिब दुई महिना बित्न थाल्यो । कमाउने आधार बन्द हुँदा खान बस्न समस्या भयो । बन्दले गाडी पाउन सक्ने अवस्था रहेन । त्यसपछि हिँड्न बाध्य भयौँ । नौ दिनपछि आज आफ्नै प्रदेशको मूलद्वारमा आएका छौँ ।”

अर्का मजदुर कर्णबहादुर बुढामगरले नौ दिनसम्म चिउरा र चाउचाउ खाएर मात्र पैदलयात्रा गरेको बताए।  दुःखेसो पोख्दै बुढामगरले भने, “बाटोमा कतै पनि खाना पाइएन । चिउरा र चाउचाउ पनि कठिनले पाउने अवस्था रह्यो ।”

यति दुःखका साथ आफ्नै प्रदेशमा पुगेर घर पुग्ने अवस्था असहज भएपछि भने निकै दुःख लागेर आएको उनको भनाइ थियो । उनले सरकारले घर पुर्‍याएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने बताए ।

यता डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष नगेन्द्र मल्लले प्रदेश सरकारले दैलेख-सुर्खेतको सीमा पुर्‍याएपछि मात्र आफूहरूले बुझ्ने  जानकारी दिए ।

“हामीलाई बबई नाकाबाट आफैँले ल्याउने अनुमति छैन”, अध्यक्ष मल्लले भने, “यसका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय भइरहेको छ ।”

दालभात कस्तो हुन्छ भन्ने भइसक्यो पोखराबाट हिँडेर सात दिनपछि कर्णाली प्रदेशको बबई सिमानाकामा पुगेका मुगु खत्याड गाउँपालिका निवासी पञ्चबहादुर रावतले पैदल अवधिभर खाना नपाएको गुनासो गरे।

मजदुरीका लागि पोखरा गएका उनले नेपाल सरकारले गरेको लकडाउनले काम गर्ने ठाउँ नै बन्द भएपछि कमाउने आधार सकिएको बताए ।

“कमाएको पैसा यो बीचमै सकियो । त्यसपछि त्यहाँबाट हिँडे”, रावतले भने । दाङ पुगेपछि भने रसुवाबाट फर्केका डुङ्गेश्वर गाउँपालिका दैलेखका साथीहरूसँग भेट हुँदा यात्रा अलि सहज भएको उनले भने ।

उनले भने, “यो सात दिनको १४ छाक चाउचाउ र चिउरा खाएरै पैदल हिँडिएको छ । दालभात कस्तो हुन्छ भन्ने भइसक्यो । बाटोमा खानबस्न कसैले नदिँदा यात्रा झनै कष्टकर बन्यो ।”

कर्णाली प्रदेशका थुप्रै बबई पुग्दा पनि मुगु पुग्ने यात्राको टुङ्गो नलाग्दा घर पुग्ने पिरलोले सताएको उनले दुःख व्यक्त गरे । गाउँकै स्थानीय क्वारेन्टाइनमा बस्ने भन्दै रावतले सुर्खेत, दैलेख, कालीकोट, बाजुरा भएर मात्र मुगु सकिने भएकोले घरसम्म पुर्‍याइदिन सरकारलाई आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारीले बबई पुग्ने सबै कर्णालीवासीलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको समन्वयमा जिल्ला पठाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment