Comments Add Comment

भारतबाट आएकाहरु क्वारेन्टाइनबाट भाग्न थालिसके, टेस्ट किट अझै आएन

५ जेठ, बुटवल । अहिलेसम्म १२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएको कपिलवस्तुको यशोधरा गाउँपालिकामा मात्र १२ सयभन्दा बढी नागरिक क्वारेन्टाइनमा छन् ।

भारतको मुम्बई, कानपुरलगायतका क्षेत्रबाट आएका उनीहरू क्वारेन्टाइनमा बसेको दुई साता हुन लाग्यो । तर, जम्मा ६२ जनाको मात्रै स्वाब परीक्षण भएको छ ।

‘६२ जनाको पीसीआर परीक्षण हुँदा १२ जनाको पोजेटिभ आयो’ गाउँपालिका अध्यक्ष गिर्जेशकुमार पाण्डेले भने, ‘क्वारेन्टाइनमा बसेका एघार सयभन्दा धेरैको परीक्षण गर्नै बाँकी छ ।’

क्वारेन्टाइनमा बसेको लामो समय हुँदा पनि परीक्षण नभएपछि उनीहरू भाग्न थालेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए । ‘आफ्नै पार्टीको सरकार छ, गाउँमा कोरोनाको भयावह अवस्था आइसक्यो । तर, प्रदेशका सांसदहरूले पनि पहल गरेनन्’ उनले भने ।

परीक्षणका लागि किटको व्यवस्था गर्न उनले आइतबार सामाजिक विकासमन्त्री सुदर्शन बराललाई धेरै पटक पटक फोन लगाए, तर उठेन । त्यसपछि मुख्यमन्त्री शंकर पोखरेललाई फोन गर्दा एकदुई दिनमा व्यवस्था हुने आश्वासन पाएका छन् ।

भाग्न थाले क्वारेन्टाइनमा बसेकाहरू

गाउँपालिकाका २५ वटा क्वारेन्टाइनमा भारतबाट आएकाहरू छन् । उनीहरूको पीसीआर टेस्टका लागि एक हप्ता अघिदेखि नै जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गर्दा कहिले प्रदेश सरकार त कहिले केन्द्रबाट आज-भोलिमा किट आउँदैछ भन्दै अल्झाएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले गुनासो गरे । ‘एक हप्तादेखि सीडीओ र जिल्ला स्वास्थ्य प्रमुखलाई किटको व्यवस्था गरेर छिटो परीक्षण गर्न अनुरोध गरेकोगर्‍यै छौं तर, सुनुवाई भएन’ दुबेले भने ।

कोरोना परीक्षण गर्न ढिलाइ हुँदा क्वारेन्टाइनमा बसेकाहरू भाग्न रातको समयमा थालेका छन् । वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनबाट शुक्रबार राति ३० जना र राष्ट्रिय निमावि सिंहखोरका १५ जना शनिबार राति क्वारेन्टाइन छोडेर भागेका वडा अध्यक्ष सहाबुद्दिन मुसलमान बताउँछन् । ‘न समयमा परीक्षण हुन्छ, न क्वारेन्टाइनमा पङ्खालगायत सुविधा छ, अनि मान्छे भाग्दैनन् त ? गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दुबेले भने ।

भागेकालाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए पनि अझै क्वारेन्टाइनमा आएका छैनन् । ‘भागेकाहरूलाई मर्यादपुर प्रहरी चौकीका प्रहरीले घरघर पुगेर नियन्त्रणमा लिइसकेका छन्’ वडाध्यक्ष सहाबुद्दिनले भने ‘उनीहरू सबैलाई छुट्टै क्वारेन्टाइनमा राख्छौं ।’

यशोधरा गाउँपालिकाका १२ जनामा कोरोना संक्रमितमध्ये पाँच जना वडा नंं ८ कै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment