Comments Add Comment

रक्षामन्त्रीलाई प्रश्न : कालापानी भ्रमण औपचारिक कि व्यक्तिगत ?

५ जेठ, काठमाडौं । प्रमुख विपक्षी कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कालापानी क्षेत्रमा गरेको निरीक्षण औपचारिक हो कि व्यक्तिगत भन्दै प्रश्न गरेका छन् ।

दार्चुलाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद बडूले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उक्त भ्रमणबारे यथार्थ जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरे ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत रुपमा निर्णय गरेर कालापानी क्षेत्रको अनुगमनका निमिक्त हेलिकप्टर माग गर्दा उपलब्ध गराउन असमर्थता देखाएको तर उपप्रधानमन्त्रीलाई पठाएको भन्दै असन्तुष्टि जनाए ।

‘राज्य व्यवस्था तथा सुशासन समितिले कालापानी क्षेत्रको अनुगमनका निमिक्त औपचारिक पत्र पठाएर हेलिकप्टर माग गर्दा असमर्थता देखाएको सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलाई त्यसलगत्तै आफ्ना पार्टीका नेता र कार्यकर्तालाई लिएर सेनाको हेलिकप्टर कालापानी क्षेत्रमा पठाएको औपाचारिक निरीक्षण हो वा व्यक्तिगत हो ?’ बडुले प्रश्न गरे ।

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकको केही भुभागलाई आफ्नो नक्सामा पारेपछि रक्षामन्त्री पोखरेलको टोली त्यस क्षेत्रमा अवलोकनका लागि गएको थियो । उपप्रधानमन्त्रीको उक्त निरीक्षणबारे प्रधानमन्त्री, सरकार, संसद र जनतालाई अहिलेसम्म कुनै जानकारी नगराएको उल्लेख गर्दै उनले भने, ‘यसबारे सत्यतथ्य प्रधानमन्त्रीबाट स्पष्ट गराउन माग गर्न चाहन्छु ।’

सीमा क्षेत्रमा भन्सार स्थापना गरियोस्

सांसद बडूले कालापानी लिपुलेक र लिम्पियाधुरामा भइरहेको वर्तमान सुरक्षा अपर्याप्त रहेको उल्लेख गर्दै कौवा र टिंकर क्षेत्रमा स्थायी सुरक्षा उपस्थिति गराउन माग गरे ।

सहज यातायात सुविधा पुर्याएर चिनको ताक्लाकोट र मानसरोवारसम्मको यात्रा सहज बनाउन र सीमामा भन्सार कार्यालय स्थापना गर्न पनि सांसद बडुले सरकारसमक्ष माग राखेका छन् ।

लकडाउनका दार्चुलाको व्याँस गाउँपालिका १ मा रहेका १७२ परिवारमा लागि खाद्यान्नको चर्को समस्या रहेको उल्लेख गर्दै उनले त्यक्ष क्षेत्रमा तत्काल हेलिलिफ्ट गरेर खाद्यान पुर्याइदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment