Comments Add Comment

कोरोना सन्त्रासबीच डेंगुको जोखिम

अहिले जसरी कोरोना भाइरसले आतंक मच्याइरहेको छ । यसैगरी विगतमा डेंगुले भयभीत बनाउँ’थ्यो । गर्मीयाममा खासगरी तराई क्षेत्रमा डेंगुको ठूलो भय हुन्थ्यो । अहिले पनि डेंगुको जोखिमबाट हामी मुक्त छैनौं । डेंगुको संक्रमण वर्षेनी बढ्दै गएको छ, विश्वव्यापी रुपमै ।

त्यसैले सम्पूर्ण ध्यान कोरोना भाइरसतर्फ केन्द्रित भइरहँदा डेंगु, मलेरियाजस्ता संक्रमणबाट बच्न पनि उचित सर्तकता अपनाउनुपर्नेछ । कतिपय घर बाहिर विद्यालय वा भवनमा क्वारेनटाइनमा बसेका छन्, कति आइसोलेसनमा छन् । उनीहरूले अरू बढी डेंगुको संक्रमणबाट सावधानी अपनाउनुपर्नेछ ।

अर्काेतिर जलवायु परिवर्तनका कारण लामखुट्टे पहाडी क्षेत्रमा समेत फैलिँदै गएको पाइन्छ । त्यसैले नयाँ-नयाँ ठाउँमा समेत डेंगुको जोखिम हुन सक्छ ।

मध्यतराईलाई विगतदेखि नै डेंगुले सताउँदै आएको छ। वर्षेनी त्यहाँ डेंगुको संक्रमण फैलिने गरेको छ । उचित सावधानी र जनचेतनाको अभावमा यसको जोखिम कायमै छ । अहिलेको अवस्थामा डेंगुको संक्रमण भइहालेमा के गर्ने ? कहाँ उपचार गर्ने ? निकै जटिल छ । डेंगुको उपचार गर्ने क्रममा कोरोना भाइरस लाग्ने भय उत्तिकै छ ।

एक तथ्यांकअनुसार विश्वको आधाभन्दा बढी जनसंख्या यो संक्रमणको जोखिममा छन् । बितेको ५० वर्षमा यो संक्रमण ३० प्रतिशतले बढेको पाइन्छ ।

डेंगु के हो त ?

–डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो ।

–एडिस एजप्टाई/एलबोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ ।

–जुनसुकै उमेरका व्यक्तिलाई यो रोग लाग्न सक्छ ।

जटिलता

गर्मीमा लामुखुट्टेबाट बच्न निकै सजगता अपनाउनुपर्छ । यो लामुखट्टेको भयानक पक्ष भनेको एउटा लाखुट्टेले एक पटकमा एकभन्दा धेरै व्यक्तिलाई टोक्न सक्छन् । त्यसैले एउटै लामखुट्टेले धेरैलाई एकसाथ डेंगुको संक्रमण गराउन सक्छ ।

खासगरी यो पोथी लामखुट्टेले आफूलाई अण्डा पार्नका लागि चाहिने प्रोटिनको आवश्यकता मान्छेको रगतबाट पूर्ति गर्छ । यदि उक्त व्यक्ति डे‌ंगु संक्रमित रहेमा अरू व्यक्तिलाई सोही लामखुट्टेमार्फत फैलने गर्छ ।

यो लामखुट्टेले ५ सय मिटरको दुरीसम्म यात्रा गर्न सक्छ । यो लामखुट्टे दिनमा सक्रिय हुन्छ । खासगरी बिहान घाम लागेको २ घण्टा पछि र सूर्य अस्तअघि । डेंगुको संक्रमण लामखुट्टेको माध्यमबाट मात्र सर्ने गर्छ, मान्छेबाट अर्को मान्छेलाई भने सर्दैन ।

के हुन्छ लक्षण ?

–अत्याधिक ज्वरो आउने

–जोर्नी तथा मांशपेशीहरू दुख्ने

–शरीरमा बिबिरा देखापर्ने ।

–आँखा रातो हुने

–निरन्तर वान्ता हुने वा वाक वाक लाग्ने

–पेट दुख्ने

यी लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सम्पर्कमा पुग्नुपर्छ ।

कसरी सुरक्षित रहने ?

एडिस जातका लामखुट्टे जुनसुकै बेला टोक्ने भएपनि खासगरी बिहान र सूर्य अस्तअघि बढी सक्रिय हुन्छ । त्यसैले दिनको समयमा हामीले बढी सजगता अपनाउनुपर्छ । यसका लागि शरीरका सम्पूर्ण भागहरू ढाक्ने लुगा लगाउनु उपयुक्त हुन्छ । खासगरी हात, खुट्टा ढाक्ने लुगा लगाउनुपर्छ ।

घर वरिपरि सरसफाइमा ध्यान दिने । खाली बोत्तलहरू, टायर आदि जथाभावी नफ्याल्ने ।

–घर आसपास सफा राख्ने ।

–पानी जम्ने ठाउँहरू पुर्ने । गमला, प्लास्टिकको बट्टा, टायर, भाँडा आदिमा पानी जम्न नदिने ।

–पानीको ट्यांकीमा लामखुट्टे पस्न नसक्नेगरी बन्द गर्ने ।

–दिउँसो बस्दा शरीर ढाक्ने लुगा लगाउने ।

–साना बालबच्चालाई दिउँसो सुताउँदा झुल लगाइदिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment