+

ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष थापा निलम्बन

२०७७ जेठ  ६ गते १०:५१ २०७७ जेठ ६ गते १०:५१
ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष थापा निलम्बन

६ जेठ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई साधारणसभासम्मका लागि सोमबार निलम्बन गरेको छ ।

सामाजिक सञ्जालमा एन्फा र यसका पदाधिकारीविरुद्ध अपशब्द प्रयोग गर्ने ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापालाई एन्फाले कारबाही स्वरुप निलम्बन गरेको हो । एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै थापालाई आगामी साधारणसभासम्मको लागि निलम्बन गरिएको जनाएको छ ।

गत वैशाख २२ गते एन्फा दिवसका अवसरमा वरिष्ठ उपाध्यक्ष पंकज नमेवाङले दिएका शुभकामना सन्देशको जवाफमा थापाले अपशब्द लेखेको भन्दै एन्फाले ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न भन्दै थापालाई वैशाख २४ गते स्पष्टीकरण सोधेको थियो । तर वैशाख २६ मा प्राप्त स्पष्टीकरण पत्र चित्त बुझ्दो नभएको भन्दै एन्फा सचिवालय बैठकले उनलाई निलम्बन गरेको हो ।

एन्फा विधान विपरीत गतिविधि गरेको र जवाफ चित्तबुझ्दो नदिएको भन्दै वैशाख ५ देखि लागू हुने गरी एन्फाको आगामी साधारणसभासम्मको लागि फुटबल खेलसँग सम्बन्धित, एन्फा र जिल्ला फुटबल संघसमेत सम्पूर्ण गतिविधिहरुमा संलग्न हुन नपाउने गरी अस्थायी निलम्बन गरिएको एन्फाको विज्ञप्तिमा उल्लेख छ ।

लपु जिल्ला संघका अध्यक्ष थापाले भने आफू यसविरुद्धमा अपिल गर्ने बताए । ‘यो चुनावी प्रतिसोधको कारण हो र सत्य बोल्नेसँग डराएर यस्तो भएको हो । म यसविरुद्ध एन्फा र राखेपमा अपिल गर्छु,’ थापाले भने ।

एन्फाको वार्षिक साधारण सभा २०७६ साल चैतमै हुने तय थियो । तर अहिले विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण साधारण सभा स्थगित रहेको छ ।

ललितपुर जिल्ला संघका अध्यक्ष थापासँगै चार जिल्ला फुटबल संघका अध्यक्षले यसअघि नै एन्फाविरुद्ध आफ्नो मत राख्दै आएका छन् ।

काठमाडौं ललितपुर भक्तपुर र धादिङ जिल्लाका अध्यक्षले यसअघि एन्फाविरुद्ध मत राखेका थिए ।

फुटबल ललितपुर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय