Comments Add Comment

सरकारले एक कण माटो छोड्दैन : दीनानाथ शर्मा

५ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलको नेता दिनानाथ शर्माले सरकारले नेपालको एक कण माटो पनि नछोड्ने बताएका छन् ।

लिम्पियाधुरा क्षेत्रलाई समेटेर सरकारले नक्सा पारित गरेको भोलिपल्ट मंगलबार राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि बोल्दै नेता शर्माले यस्तो बताएका हुन् ।

‘सरकारले एक इन्च हाम्रो एक कण माटो छोड्दा पनि छोड्दैन र त्यसलाई फिर्ता गरेरै छोड्छ । हामी कसैले एक टुक्रा जमिन वा एक इन्च माटो अथवा एक मुठी माटोको आशा पनि गर्दैनौं’ नेता शर्माले भने ।

नीति तथा कार्यक्रममा उल्लेख भएको नयाँ नक्सा सार्वजनिक गर्ने र गुमेको भूमि फिर्ता गर्ने विषयमाथि संसदमा प्रश्न उठे पनि सरकार कार्यान्वयनमा गइसकेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा काम गरेको भन्दै शर्माले प्रशंसा गरे ।

संशोधन प्रस्ताव फिर्ता लिन आग्रह

राष्ट्रिय सभा संसदीय दलका नेता शर्माले नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव फिर्ता लिन प्रमुख विपक्षी कांग्रेसलाई आग्रह गरे ।

नीति तथा कार्यक्रमका सबै बुँदा पुनर्लेखन गर्नुपर्छ भनेर कांग्रेसले निषेधको राजनीति गर्न खोजेको भन्दै उनले राम्रा कुराको स्वागत र नराम्रा कुराको विरोध गर्न सुझाव दिए ।

‘लोकतन्त्रमा भिन्न पक्षको अस्तित्व स्वीकार हुन्छ’ नेता शर्माले भने, ‘पुरै पुनर्लेखन गर्नुपर्छ भनेर जुन निषेध गरेर संशोधन आएको छ । लोकतन्त्रको लामो अनुभव भएको पार्टीले यसलाई फिर्ता लिइदिनुभयो भने स्वागतयोग्य हुन्छ ।’

नीति कार्यक्रमलाई परम्पराको निरन्तरता, ठूलो भन्नुको पनि अर्थ नरहेको उनको जिकिर छ । ‘राष्ट्रिय आवश्यकता र सोचाइको धरातलबाट आएको छ । यो सरकारको सोचलाई विशाल छ त्यसकारण ठूलो आउनु स्वाभाविक हो । बाहिरी रुपमा टीकाटिप्पणी भयो । तर, त्यो परिपक्व टिप्पणी हो भन्ने लाग्दैन’ उनले भने ।

सरकारका तीन चुनौती

नेता शर्माले वर्तमान सरकारको मुख्य तीन चुनौती रहेको उल्लेख गरे । कोभिड–१९, आर्थिक संकट र राष्ट्रियता । यी तीनवटै चुनौतीका विरुद्ध सबै एक ठाउँमा उभिएर एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए ।

यी तीनवटै चुनौतीलाई सामना गर्ने गरी नीति तथा कार्यक्रमले संकल्प गरेको उनको भनाइ छ । ‘नागरिकलाई बचाउने संकल्प आएको छ । आर्थिक संकट आउँछ, योसँग बेरोजगारी र भोकमरीका लागि पनि आफ्ना नीतिहरुलाई सरकारले स्पष्ट रुपमा राखेको छ’ शर्माले भने ।

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने गरी योजना समेत बनाइरहेको भन्दै उनले त्यसमा सहयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment