Comments Add Comment

‘हामीलाई घर पठाऊ, नभए गोली हान’ भन्दै दाङमा भारतीय मजदुरको प्रदर्शन

६ जेठ, काठमाडौं । दाङका इँटा भट्टामा कार्यरत भारतीय मजदुरहरुले आफूहरुलाई स्वदेश फर्काइदिन माग गर्दै घोराहीमा प्रदर्शन गरेका छन् । हिन्दी भाषमा ‘नेपाल सरकार हामीलाई घर पठाऊ होइन भने यहीँ गोली हान्देऊ’ लेखिएका नारासहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

लकडाउनसँगै इँटाभट्टामा काम बन्द भएपछि भारतका मजदुरहरु सोमबार साँझ आफैं गाडीको व्यवस्था गरेर घर जाने भन्दै घोराहीबाट नेपालगञ्जतर्फ प्रस्थान गरेका थिए ।

तर, बाँकेको नरैनापुरका धेरै व्यक्तिमा कोरोना संक्रमणको समाचार सार्वजनिक भएपछि उनीहरुलाई दाङ प्रहरीले बाँकेको सिमाना अमेलियाबाट फर्काएर पुनः घोराही ल्याएको थियो ।

घर जान रोकेको आक्रोशमा उनीहरु मंगलबार बिहानै प्रदर्शनमा उत्रिए । प्रदर्शनमा महिलार बालबालिकाहरु पनि थिए ।

दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले भारतीय मजदुरहरुलाई फर्काउन बाँके प्रशासनसँग पहल गरिरहेको बताए । ‘बाँकेको सीडीओसा’बसँग हाम्रो समन्वय भइरहेको छ । डीआईजीसा’बले पनि पहल गरिराख्नु भएको छ । आज वा भोलि केही न केही निकास निस्किएला,’ उनले भने ।

दाङका बिभिन्न इँटा उद्योगहरुमा करिब ६ हजार भारतीय मजदुरहरु रहेको अनुमान छ । कतिपय लकडाउन सुरु भएलगत्तै फर्किए पनि अझै करिब ३–४ हजारको संख्यामा दाङमा हुन सक्ने एसपी भट्टराई बताउँछन् ।

हिउँदका महिना इँटा उत्पादन गर्ने सिजन हो । वर्षा सुरु भएपछि यो काम बन्द हुन्छ । लकडाउन तत्काल खुल्ने संकेत भएको र वर्षा पनि केही महिनामै सुरु हुने भन्दै उनीहरु घर फर्किन चाहेका छन् ।

घोराही उपमहानगरपालिका–१२ स्थित गोल्ड इँटा उद्योगमा कार्यरत भारतीय मजदुर तिलकराम चौहानले काम बन्द हुँदा खान बस्न गाह्रो भएको बताए । ‘साहुले रासन बन्द गरिदिएको छ । घर जान पाए खान बस्ने समस्या हुने थिएन,’ उनले भने ।

तर, कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारत दुवै देशले सिमाना बन्द गरेका छन् । नेपाल आउन चाहने धेरैजना भारतीय सीमा क्षेत्रमा र भारत जानेहरु नेपालकै भूमिमा रोकिएका छन् । उनीहरुले जतिसक्यो छिटो आफूहरुलाई आफ्नो देश जान दिनुपर्ने माग राख्दै आएका छन् ।

दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष रोम वलीले उद्योग बन्द भएपछि भारतीय मजदुरलाई घर फर्काउने प्रयास गरे पनि स्थानीय प्रशासनले प्रक्रियामा ढिलाइ गर्दा कतिपय मजदुर भागेर जान थालेको बताए ।

दाङको सिमाना कोइलाबासबाट पनि भारत जान सकिने भए पनि हाल त्यसलाई बन्द गरिएको छ । त्यसैले बाँकेको नेपालगन्ज हुँदै आउजाउ गर्नु पर्दछ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय बाँकेसँग समन्वय गर्नुपर्छ ।

यसअघि बाँके र भारतको बहराइच प्रशासनले नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका २ हजार बढी मजदुरहरुलाई आदान प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment