Comments Add Comment

अहिले नक्साको विषयमा मात्र संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

६ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नक्शालाई कानूनी मान्यता दिन संविधान संशोधनको तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार उक्त संशोधन प्रस्ताव छिट्टै संघीय संसदमा दर्ता हुनेछ । संविधानको अनुसूची ३ मा नेपालको निशान छाप छ । उक्त निशान छापभित्र नेपालको पुरानो नक्सा अंकित भएकाले त्यसलाई सच्याएर संविधानमा नयाँ नक्शा अंकित निशान छाप राख्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार निशान छाप फेर्नका लागि संविधान संशोधन गर्दा नक्शा बाहेक अरु विषय समेटिने छैन ।

जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘होला अरु थुप्रै विषयहरु होलान् । संविधान असंशोधनीय दस्तावेज होइन भनेर उहिलेदेखि म भनिरहेको छु । आवश्यकता अनुसार संशोधन हुन्छ । औचित्यका आधारमा संशोधन हुन्छ ।’

तर, यतिबेला नक्शासँग सम्बन्धित विषय बढी महत्वपूर्ण र तत्कालिक महत्वको विषय भएका कारण अगाडि बढाउन खोजिएको उनले प्रष्टीकरण दिए । ‘यतिबेला नक्शासँग सम्बन्धित संविधानको अनुसूची ३ मा रहेको निशान छाप त्यसलाई संशोधन गर्नुपर्ने भएकाले संविधान संशोधन त्यस बुँदामा आउँछ’ ओलीले भने ।

अन्य विषयमा पछि छलफल गर्ने प्रधानमन्त्री ओलीले आश्वासन दिए । ‘अरु विषयको सन्दर्भमा हामी भोलि फेरि छलफल गर्न सक्छौं । संविधान संशोधनका कुरा गर्न सक्छौं’ उनले भने ।

संसदमा आउने संविधान संशोधनको प्रस्ताव सदनबाट सर्वसम्मत पारित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म ठान्छु, संविधानको अनुसूची ३ । त्यो संसदले पारित गरेका दिन देशमा दिपावली हुनेछ राष्ट्रियताको पक्षमा । मैले त्यो विश्वास गरेको छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक आवश्यकता र औचित्यतताको आधारमा संशोधन गर्न सकिने बताउँदै आएका छन् । यसपटक पनि सोही दोहोर्‍याएका छन् ।

असन्तुष्ट पक्षको माग सम्बोधन गर्न कांग्रेसको सुझाव

नक्शाका लागि संविधान संशोधन गर्दा असन्तुष्ट पक्षको माग सम्बोधन गर्न राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दलका नेता राधेश्याम अधिकारीले सुझाव दिएका छन् ।

संविधान घोषणा हुँदा सरकारमा रहेका र प्रतिपक्षमा रहेका तत्कालिन मुख्य तीन दल (नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र) का शीर्ष नेताहरुले संविधान संशोधन गर्दै जाने भनेर गरेको बाचालाई पनि सम्झाए ।

‘संविधान जारी गर्दा केही साथीहले बहिष्कार गर्नुभयो । त्यसबेला मेरै पार्टीका नेता प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रतिपक्षी सबैले भन्नुभएको छ ‘समय सुहाउँदो गरेर संशोधन गर्दै जाने’ सांसद अधिकारीले मंगलबार राष्ट्रियसभाको बैठकमा भने, ‘यो (नक्साका लागि संविधान संशोधन) बेला संविधान संशोधनको विषयलाई उठाउन जरुरी छ । हिजो गरेको बाचा बिर्सन भएन नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment