
६ जेठ, वीरगञ्ज । वीरगञ्जसँग सिमाना जोडिएको रक्सौल क्षेत्रको क्वारेन्टाइनमा बसेका २२२ जना नेपालीहरुको उद्धार गरिने भएको छ ।
वीरगञ्जमा क्वारेन्टाइन बनाउने तयारी अन्तिम चरणमा पुगेकाले उनीहरुलाई बुधबार नेपाल ल्याइने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।
सहायक प्रजिअ बस्नेतले भने, ‘पर्सालगायत २५ जिल्लाका नेपालीहरु रक्सौलमा भारतीय पक्षले बनाएको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुलाई राख्नका लागि क्वारेन्टाइनको व्यवस्थापन गरिरहेका छौं । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस लगायत अन्य स्थानमा क्वारेन्टाइनको व्यवस्थापन गरिरहेका छौं ।’
ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका भारतीय नागरिक मंगलबार स्वदेश फर्किसकेकाले अहिले सो क्वारेन्टाइन खाली छ ।
बस्नेतका अनुसार सीमा पारी भारतीय क्षेत्रमा पर्साबाहेक काठमाडौं, कैलाली, सुर्खेत, झापालगायतका जिल्लाका छन् ।
काठमाडौंबाहेक अन्य जिल्लाकालाई सम्बन्धित जिल्लामै पठाइने तयारी भइरहेको उनले बताए ।
सहायक प्रजिअ बस्नेतले भने, ‘काठमाडौंका २ जना छन् । उनीहरुलाई अहिले नपठाउनू भन्ने कुरा आएको छ । त्यसैले उनीहरुलाई वीरगञ्जकै क्वारेन्टाइनमा राख्छौं । बाँकी अन्य जिल्लाकालाई उतै क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित जिल्लाका प्रजिअसँग समन्वय भइसकेको छ ।’
सोमबार मार्फत मुम्बईबाट मजदुरी गरी फर्किएका २४ जना नेपालीलाई पर्साकै ठोरी नाकाबाट पुनः भारततर्फ नै फिर्ता पठाइएको थियो । नेपाल–भारत सीमा नाकामा आइपुगेका नेपालीहरुलाई पुनः भारततर्फ नै फिर्ता पठाइएपछि यसको चौतर्फी विरोध पनि भइरहेको छ ।
प्रतिक्रिया 4