Comments Add Comment

जब अस्पतालले जिउँदो मान्छेलाई मृत भन्यो !

७ जेठ, काठमाडौं । गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षक रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा जेठ १ गते भर्ना भए । उनलाई अहिलेसम्म भेन्टिलेटरमा राखिएको छ । ज्वरो आएर अस्पताल भर्ना गरिएका उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।

कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि दुई दिनयता चिकित्सकहरू उनको छेउ पर्न छाडेका थिए ।

उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर कोरोनाबाट बिरामीको मृत्यु भयो भन्दै शव कहाँ व्यवस्थापन गर्ने भनेर सोधेको थियो ।

अस्पतालबाट प्राप्त सोही सूचनाका आधारमा मन्त्री बरालले कोरोना संक्रमितको मृत्यु भएको सूचना मिडियालाई दिए । साथै, उनले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न अस्पताललाई सुझाए ।

कोरोना संक्रमितको मृत्यु भएको खबर बुधबार बिहानै गुल्मीस्थित आफन्तजनसम्म पुग्यो । अनलाइनखबरकर्मी टोपराज शर्माले अस्पतालका सञ्चालक दूर्गा पाण्डेलाई सम्पर्क गरेर सोध्दा उनले संक्रमितको मृत्यु भएको ‘पुष्टि’ गरेका थिए ।

भेन्टिलेटरमा दुई दिनदेखि अलपत्र बिरामीको ‘शव व्यवस्थापन’ तिर लागिसकेको क्रिमसन अस्पताल प्रशासनले अन्ततः बुधबार दिउँसो एकाएक बिरामी जीवितै रहेको विज्ञप्ति जारी गर्‍यो ।

स्रोतका अनुसार जीवित व्यक्तिबारे झूठो विवरण दिएको भन्दै सामाजिक विकासमन्त्रीले अस्पतालमा फोन गरेर तुरुन्त विज्ञप्ति जारी गर्न भनेका थिए । प्रदेश सरकारलाई झूठो विवरण दिने अस्पताल प्रशासनमाथि मन्त्रालयले थप छानविन गर्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

सामाजिक विकास मन्त्रालयका एक अधिकारीले भने, ‘पोजेटिभ रिपोर्ट आएपछि सोमबारदेखि भेन्टिलेटरमा चिकित्सकले हेरेकै रहेनछन् । हेर्दै नहेरी मृत्यु भयो भनेर परिवारलाई समेत खबर गरेछन् । आज हेर्न जाँदा पो बिरामी जीवितै रहेको पाइएछ ।’

कोरोना संक्रमण पुष्टि भएपछि उपचार र हेरचाह नपाएका ती बिरामीको स्थिति गम्भीर रहेको अस्पताल प्रशासनले स्वीकार गरेको छ ।

गुल्मी निवासी बिरामी गत जेठ १ गते अस्पतालमा भर्ना हुन् । उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको हो । सुरुमा आईसीयूमा उपचाररत उनलाई कोरोना पुष्टि भएपछि सोमबारदेखि भेन्टिलेटरमा सारिएको छ ।

उनी गुल्मी मदाने–६ का स्थानीय शिक्षक हुन् । क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो ।

सुरुमा उनले स्थानीय मदाने पोलिक्लिनिकमा जाँच गराए । त्यहाँ उनलाई टाइफाइडको औषधि दिइएको थियो । औषधि खाएपछि उनलाई दुईदिन जति सञ्चो पनि भएको पारिवारिक स्रोतको भनाइ छ ।

तर, जेठ १ गते वान्ता भएपछि उनी फेरि क्लिनिकमा पुगे । यसपटक स्वास्थ्यकर्मीले जण्डिस भएको बताए । लगत्तै स्थानीय व्यक्तिले मोटर साइकलमा राखेर अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुर्‍याए ।

त्यहाँका स्वास्थ्यकर्मीले बिरामीको अवस्था जटिल रहेको भन्दै मणिग्रामको क्रिमसन अस्पतालमा रेफर गरे । बुटवलबाट गएको एम्बुलेन्समा राखेर उनलाई क्रिमसन अस्पतालमा ल्याइयो ।

अस्पतालमा उपचाररत रहेकै बेला कोरोनाको आशंकामा उनको पीसीआर विधिबाट स्वाब जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको छ । अहिले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले स्पष्ट पारेको छ ।

(पुनश्च : यसअघि अस्पताल स्रोतको अपरिपक्व सूचनामा भर परेर तथ्यहीन समाचार प्रकाशित हुन पुगेकोमा अनलाइनखबर क्षमापार्थी छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment