Comments Add Comment

पर्सामा क्वारेन्टाइनमा भन्दा घरमै बस्नेको संख्या बढी

७ जेठ, वीरगञ्ज । पर्सामा क्वारेन्टाइनमा बस्ने भन्दा होम क्वारेन्टाइनमा (घरमै) बस्नेको मानिसको संख्या बढी रहेको पाइएको छ । कोरोना संक्रमण फैलिन नदिन संक्रमणको जोखिममा रहेकालाई १४ दिनसम्म क्वारेन्टाइन राखेर निगरानी गरिन्छ ।

तर कोरोना संक्रमणको हटस्पट बनेको पर्सामा ३१ जना महिलासहित ४०० जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । ६६७ जना होम क्वारेन्टाइनमा बसेको सरकारी अधिकारीहरु बताउँछन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार क्वारेन्टाइनमा बस्नेमा भारतबाट आएका र कन्ट्याक ट्रेसिङको आधारमा कोभिड १९ शंकास्पद मानिएका व्यक्तिहरु छन् ।

जिल्लाका १४ वटा स्थानीय तहकाे २५ स्थानमा एक हजार बेड क्षमताको क्वारेन्टाइन भए पनि होम क्वारेन्टाइनमा बस्ने मानिसको संख्या बढी छ ।

तर स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनको व्यवस्थापन उचित नभएका कारण मानिसहरुले होम क्वारेन्टाइनमै बस्न रुची देखाएका हुन् । तर होम क्वारेन्टाइनमा बस्नेहरुले सजगता नअपनाउने हो भने परिवार र समुदायमा पनि यसले नकरात्मक असर पार्न सक्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।

९६ जना संक्रमित उपचाररत

वीरगञ्जमा १६ जना महिलासहित ९६ जना संक्रमित आइसोलेसनमा छन् । नारायणी अस्पतालमा ७२ जना र सिद्धार्थ माविको आइसोलेसनमा २४ जना उपचाररत छन् ।

पर्सामा अहिलेसम्म २ हजार ३१८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइसकेको उनले बताए । जसमध्ये एक हजार ९४२ जनाको रिपोर्ट आइसकेको छ भने ३७६ जनाको रिपोर्ट आउन बाँकी छ । आरडीटीमार्फत भने हालसम्म २ हजार ४५० जनाको परीक्षण गरिएको छ ।

पर्सामा कोरोना पुष्टि भएकामध्ये तीन जना भारतीय नागरिक छन् भने ८८ जना नेपाली नागरिक छन् ।

संक्रमितमध्ये रौतहटका एक जना र तीनजना भारतीय नागरिकलाई वैशाख १४ गते डिस्चार्ज गरिएको थियो । तर उनीहरु मध्ये एक जना भारतीय र एक जना नेपालीलाई पुनः अस्पताल भर्ना गरिएको छ ।

आइसोलेसन बेड संख्या ९६

सहायक प्रजिअ बस्नेतका अनुसार नारायणी अस्पतालमा ७० बेड र नारायणी अस्पतालकै सुपरीवेक्षणमा रहने गरी सिद्धार्थ माविमा २६ बेडको आइसोलेसन बेड विकास गरिएको छ ।

संक्रमितको संख्या बढ्दै गएकोले नारायणी अस्पताल तथा वीरगञ्ज महानगरपालिकाको समन्वयमा गण्डक अस्पताल तथा अन्य अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्ने कार्य पनि भइरहेको उनले बताए ।

पर्सामा २२ हजार बढीलाई राहत

पर्सामा लकडाउनका कारण समस्यामा परेका २२ हजार बढी विपन्न परिवारलाई राहत विरतण गरिएको छ ।

सहायक प्रजिअ बस्नेतका अनुसार जिल्लाभर २२ हजार ७५८ गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment