Comments Add Comment
 जेनेटिक वैज्ञानिकसँगको वार्ता   :

एक महिनामै देशभर यसरी बने १६ कोभिड ल्याब 

८ जेठ, काठमाडौं ।  नेपालमा कोभिड-१९ को महामारी सुरु नहुँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) को क्षमतामा प्रश्न उठेको थियो । धेरै जनस्वास्थ्य विज्ञहरूले देशमा महामारी फैलियो भने एनपीएचएलको ल्याबको क्षमताले नधान्ने बताएका थिए ।

देशमा संक्रमितहरू थपिन थालेपछि सरकारलाई ल्याब विस्तार गर्न चौतर्फी दबाब बढ्यो । त्यसपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशाला क्षेत्रमा काम गरिरहेका केही प्रयोगशाला विज्ञ र वैज्ञानिकहरूलाई सहभागी गराएर कोभिड-१९ ल्याब व्यवस्थापन समिति गठन गरी ल्याब सेटअप गराउने जिम्मा दियो ।

उनीहरूले जिम्मा पाएको एक महिनाभित्रै देशभरि १६ वटा कोभिड-१९ परीक्षण गर्ने ल्याब सञ्चालनमा आए । अहिले देशभरिका १९ स्थानबाट कोरोना भाइरसको पीसीआर परीक्षण हुन थालेको छ । बिहीबार थप एक स्थानमा ल्याब सञ्चालन हुने र देशभरिका २० स्थानबाट काेभिडकाे परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

सुरूमा स्वाब संकलन गरेर हङकङ पठाउनुपर्ने स्थिति थियो । एक महिनामै यति धेरै ल्याब निर्माण गरेर सञ्चालन गर्न कसरी सम्भव भयो ?

समग्र प्रयोगशालाको क्षेत्रमा भएका कामबारे ल्याब सेटअप गर्ने टिमका सदयस्यहरू पुष्पराज खनाल, डा. महेन्द्रप्रसाद भट्ट, जेनेटिक वैज्ञानिक बलराम गौतम र गोविन्द अकेलासँग अनलाइनखबरले संयुक्त कुराकानी गरेको छ :

एउटा मात्र ल्याबमा भर पर्नुपर्ने अवस्थामा रहिरहेको बेला एक महिनामै देशभर १६ वटा ल्याब सञ्चालनमा ल्याउन कसरी सम्भव भयो ?

नेपालमा पनि कोभिडको महामारी फैलिने सम्भावना बढ्दै गएपछि टेस्टिङको कुरा आयो। तर, कोभिड टेस्ट गर्ने ल्याब त काठमाडौंमा एनपीएचएल मात्र थियो । देशभरको स्वाब काठमाडौंमा ल्याएर जाँच्दा समय, जनशक्ति र स्रोत बढी लाग्थ्यो । त्यो व्यवहारिक हुँदैन थियो । हामी वर्षौंदेखि ल्याब क्षेत्रमा काम गरिरहेका थियौं । हामी देशभर गर्न सक्छौं भन्नेमा ढुक्क थियौं । हामीलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बोलाउनुभयो । हाम्रो कुराबाट उहाँ कन्भिन्स हुनुभयो ।

आपतकालीन व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले एउटा कमिटीमा कुरा राख्नुभयो। हामी त नेपाल सरकारको आधिकारिक संस्था होइनौं । त्यो काम एनपीएचएलले गर्नुपर्थ्यो।

त्यसपछि हामीसँग समन्वय गर्न एनपीएचएलकी प्रमुख डाक्टर रुना झालाई मन्त्रालयले तुरुन्त बोलायो। डाक्टर लोहनीले तुरुन्तै कोभिड-१९ एडभाइजरी कमिटी गठन गरे। मिटिङ बस्यो। हामीले ल्याब कसरी बनाउने भनेर तुरुन्तै एउटा डिजाइन गर्‍यौं।

ल्याबको संख्या देशभर विस्तार गर्ने र कोभिड भयावह भयो भने सबैलाई जाँच गर्न आह्वान गर्ने र प्रोटोकल बनाउने त्यो छलफलको डिजाइन थियो। डिजाइन गर्नासाथ हामी लगभग ४०/४५ जना ल्याब कसरी बनाउने भन्ने अध्ययनमा जुट्यौं। सम्बन्धित विज्ञहरूको राय मानेर मुलुकभरि ल्याब बनाउन जुट्ने कोर टिम बनाउन थाल्यौं।

हाम्रो अध्ययनले देशभर कहाँकहाँ ल्याब छ, के-के मेसिन छ, के-के सामग्री आवश्यक पर्छ  ? भनेर अध्ययन गर्यौं। त्यसैगरी, यस्तै आरएनए भाइरससम्बन्धी काम गरेको एक्सपर्टहरूलाई सम्पर्क गर्यौं। त्यसैगरी लोकल ल्याबमा काम गरेका मानिसलाई पनि सम्पर्क गरेर ट्रेण्ड गर्ने योजना बनायौं। किनकि हामीले ल्याब सेट गरेपछि उहाँहरूले नै काम गर्नुपर्थ्यो।

म पुन: दोहोर्‍याउँछु, मानिसको स्याम्पलमा काम गरेको एक्सपर्ट जस्तो कि स्याम्पल कलेक्सन गर्दा कसरी बोल्ने, कसरी मास्क लगाउने, नाक र मुख कसरी खोल्ने ? भन्ने कुरा एकदम टेक्निकल हुन्छ। स्वाब झिकेपछि प्रोसेसिङ गर्नुपर्छ र प्रोसेसिङ गरेपछि मेसिनमा हाल्नुपर्छ। मेसिनको रिपोर्ट पनि ‘रिड’ गरेर रिपोर्ट दिनुपर्छ।

एउटा मात्र पाटोमा एक्सपर्ट भएर हुन्न । सबै कुरामा एक्सपर्ट हुनुपर्छ। स्याम्पल कलेक्सन गर्न राजी गराउनेदेखि मेसिनमा हालेर रिपोर्ट दिनसक्ने जनशक्ति चाहिन्छ। ल्याब सेटअप गर्दै हामीले यस्तै जनशक्ति ट्रेन्ड पनि गर्‍यौं।

पुष्पराज खनाल

१६  वटा ल्याब बनाउन आवश्यक उपकरणहरू हामीसँगै थियो कि पुरानै ल्याबलाई मर्मत गरिएको हो ?

पहिले  बर्डफ्लुको बेला केही ल्याबहरू सेटअप भएका रहेछन्। तर, त्यसपछि सञ्चालन भएको रहेनछ। ल्याबका लागि सुरुमा इन्फाइन्सटक्चर, इन्सट्रुमेण्ट र सेक्युरिटी चाहिन्छ।  त्यसपछि धेरै लजिस्टिकहरू चाहिन्छ। हामीसँग पहिले बनाएको भाँडो चाहिँ रहेछ। तर, अरू लजिस्टिकहरू केही रहेनछ।

कुनै ठाउँमा पशु भेटेरिनरीको ल्याब रहेछ। कुनै ठाउँमा इन्फ्लुएञ्जाको ल्याब रहेछ। जस्तै, चितवनको उदारण लिउँ। त्यहाँ बर्डफ्लुका लागि पशुपन्छी ल्याब रहेछ। तर, त्यो त एकदम फोहोर रहेछ। भवन पनि नमिल्दो रहेछ।

हामीले दमकल ल्याएर सुरुमा बिल्डिङ सफा गर्‍यौं। उद्योग वाणिज्य संघले एकदिनमा रङ लगाइदियो। त्यहाँको स्थानीय सामान प्रयोग गरेर मर्मत गर्यौ‌ं। चिनवन रामपुरको कृषि विश्वविद्यालयबाट पीसीआर मेसिन ल्यायौं। काठमाडौंबाट बायोसेफ्टी लगेर फिट गर्यौं। एउटा बायोसेफ्टी त्यहीँ रहेछ।

ल्याबका लागि भवन सफा हुनुपर्छ। बत्ती २४ घण्टा आउनुपर्छ। एकदम चहकिलो बत्ती चाहिन्छ। चितवनमा विद्युत प्राधिकरण आएर डेटिकेटेड लाइन फिट गरिदियो। टेलिकम आएर वाइफाई जोडिदियो। त्यहाँको विभिन्न निकायहरूले राम्रो सहयोग गरे।

प्राय: सबै ठाउँमा हामीले यसरी नै फिट गरेका हौं। ल्याब फिट गरेर सबै ठाउँमा सञ्चालन गरेपछि हामी फेरि निरीक्षण गर्न गयौं। एनपीएचलभन्दा राम्रो ल्याब धनगढी र विराटनगरमा बन्यो। टेस्टहरू भएको भयै छ। त्यहाँको ल्याबले गरेको नतिजा टेकुमा ल्याएर जाँच गर्दा गढबढ भएको छैन्, शतप्रतिशत सही नतिजा आएको छ।

कोभिडको महामारी सुरु नहुँदै  नेपालमा तुरुन्त ल्याब सेट गर्न असम्भव भनिएको थियो। त्यो केको आधारमा गरिएको प्रक्षेपण थियो ?

राष्ट्रिय स्वास्थ्य सुरक्षा हामीले अहिलेसम्म महसुस गरेका थिएनौं। तर, यो महामारीपछि हाम्रो सबै सरोकारवालाहरूले राष्ट्रिय स्वास्थ्य सुरक्षा हुनुपर्छ भन्ने महसुस गरे। तर, तुरुन्त कसरी गर्ने ? हामीसँग त पुरानो संरचना थिएन। त्यही आधारमा छिट्टै ल्याब बनाउन सकिन्न भनिएको थियो होला । तर, हामीसङ्ग त कहाँ कस्तो उपकरण छ भन्ने डाटा नै थियो। त्यसैले हामीलाई सक्छौं भन्ने आत्मविश्वास भयो।

महामारीविरुद्ध जुट्न तत्काल स्वास्थ्य मन्त्रालयले मात्र गर्न सक्ने थिएन। त्यसैले सबै सरोकारवालाहरूले अब यो महामारीविरुद्ध लड्न सबै तरिकाले जुट्नुपर्छ भन्ने महसुस गरे। भएका स्रोतसाधनलाई कसरी उपभोग गर्ने भन्नेमा ध्यान केन्द्रित भयो।

ल्याब त झन् स्वास्थ्य सुरक्षाको अभिन्न अङ्ग हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पहिलेको अवस्थामा राम्रो काम गरिरहेको थियो। तर, यो कोभिड महामारी त एनपीएचएलले मात्र धान्न सक्दैन भन्ने सबैलाई थाहा भयो। त्यसैले विकल्प खोज्नुपर्छ भन्नेमा सरोकारवालाको ध्यान केन्द्रित भयो ।

एनपीएचलको आफ्नो छुट्टै दायरा छ। थोरै कर्मचारी छन् । उनीहरूले महामारी धान्न सक्दैनन्। राज्यले पहिला नै गर्नुपर्ने काम नगरेको महसुस गरेर नै हामी जस्ता स्वतन्त्र विज्ञलाई ल्याब विस्तार गर्ने जिम्मा दिएको हो। हाम्रो सबै टिमले भोलेन्टियर काम गरेका छन् ।

हाम्रो विडम्बना नै भन्नुपर्छ। ल्याबको आवश्यकता बल्ल महसुस गर्यौं। अहिले मात्र धेरैलाई ल्याब भनेको के हो, थाहा भयो। अहिले क्लिनिसियनहरू पनि टोटल्ली ल्याबमा डिपेण्ड हुनुहुन्छ। हिजोको दिनमा ल्याबलाई कसैले महत्व दिएनन्।

पहिले अस्पताल खोल्दा पनि अस्पताल बिल्डिङको नराम्रो ठाउँ छुट्याइयो। भर्‍याङमुनिको सानो अँध्यारो कोठामा ल्याब बनाइयो। सबैको नजरमा ल्याब भनेको दिसा पिसाब टेस्ट गर्ने ठाउँ मात्र भन्नेभयो। मानिसको स्वास्थ्य के छ भन्ने कुरा ल्याब टेस्टले भन्ने हो। तर, कसैले बुझेनन्। हिजोका राज्यका अङ्गहरू, मन्त्रीदेखि सबै पदाधिकारीहरूले ल्याबलाई गरेको उपेक्षाको कारणले यो स्थिति आएको हो। मान्छेको रोग पत्ता लगाउने त ल्याबले हो नि।

राम्रो रिजल्टको लागि त राम्रो ल्याब हुनुपर्यो। अहिले ल्याबले गलत रिपोर्ट दिन्छ भनेर आरोप लगाउँछन्। ल्याबले राम्रो रिपोर्ट दिनको लागि राम्रो ठाउँ, राम्रो मेसिन, राम्रो मान्छे र ट्रेनिङ दिनुपर्यो। सबै राम्रो भयो भने न राम्रो रिपोर्ट दिने हो । राज्यले मात्र होइन अरू कुनै पनि निकायले ल्याबलाई महत्व नदिएको कारणले अहिलेको स्थिति आएको हो। सोही कारण मानिसहरू तत्काल ल्याब बनाउन सकिन्न भनेर प्रक्षेपण गरेका हुन्।

बलराम गौतम

भनेपछि गर्न चाहने हो भने त सकिँदो रहेछ नि ?

हो चाह्यो भने धेरै कुरा गर्न सकिन्छ। आवश्यकता र चाहनाले नै अहिले छोटो समयमा १६ वटा मेसिन सञ्चालन गर्न सम्भव भयो। सरकारी सिस्टमबाट ल्याब बनाउने थालेको भए त्यो पत्र अझै मन्त्रालयको कुनै कोठामा घुमिरहन सक्थ्यो होला। तर, हामी स्वतन्त्र विज्ञहरूले गरेको कारण द्रूत गतिमा भएको हो।

भलै सामान जोहो गर्न हामीले भोगेको दु:खको कथा लामो छ। अब राज्यले निति बनाउँदा प्रयोगशालालाई प्राथमिकता दिनुपर्छ। राम्रो उपकरण र राम्रो जनशक्तिलाई जोड दिनुपर्छ।

हामी अहिले सरकारलाई सहयोग गर्नकै लागि भनेर रिस्कमा काम गरिरहेका छौं। दौडिरहेका छौं। कुनैकुनै ठाउँमा त कोभिडको ल्याबमा काम गर्ने भएकै कारण भेदभाव पनि भोग्यौं। तर, अहिले यसरी लाग्नुको एकमात्र लाग्नुको कारण देशमा ल्याव स्थापना होस् भनेर हो।

हामी सबैको विषय नै ल्याब हो। हामीले ल्याब विस्तारमा जोड नदिने हो भने कहिलेपनि ल्याब स्थापना हुन्न।

अहिले धेरले आफूहरूलाई विज्ञ भनेर ल्याबको बारेमा बोलेको सुनेको छु। तर, स्याम्पल कलेक्सन गर्नेदेखि लिएर रिपोर्ट निकाल्नेसम्म कति धेरै प्रकियाहरू हुन्छन् । आफूलाई विज्ञ भन्नेहरूलाई म सोध्न चाहन्छु, ‘तपाईंहरूलाई स्याम्पल कलेक्सन गर्न आउँछ कि आउन्न ? क्वालिटीको कुरा स्याम्पल कलेक्सनदेखि सुरु हुन्छ। त्यही भएर वास्तविकता नबुझिकन कमेन्ट नगर्नुस्।’

देशभर ल्याब सेटअप गर्न जादाँ के कस्ता समस्याहरू भोग्नुपर्‍यो ?

अन्य देशभन्दा नेपालमा कम संक्रमण देखिनुको मुख्य कारण हाम्रो जनताहरूको सचेतना र लकडाउन नै हो। हाम्रो सुरुदेखिको चाहना प्रयोगशालालाई विकेन्द्रिकृत गरिनुपर्छ भन्ने हो। किनकि स्याम्पल कलेक्सन गरेर काठमाडौं ढुवानी गर्दा धेरै कुरा बिग्रिन सक्छ।

हामीले ल्याब बनाउन गएको कतिपय ठाउँमा राजनीति पनि भयो। कतिपय ठाउँमा  कर्मचारीहरूले डरको कारण असहयोग  गरे। कतिपय ठाउँमा यहाँ सम्भव छैन भने। तर, हामीले त्यहाँको राजनीतिक दल, प्रदेश सरकार र स्थानीय प्रतिनिधिहरूलाई राखेर कन्भिन्स गर्न सफल भयौं।

कतिपय ठाउँमा त हामी कोभिडको ल्याब सेट गर्ने मानिस भन्ने थाहा पाएपछि खाना दिनलाई पनि डराए। उनीहरूले खाना बनाएर छुट्टै राखिदिन्थे। पछि सोध्न र थप्न पनि आउँदैनन् थिए। डिस्पोजल प्लेटमा खाना खान्थ्यौ।

कोभिड भनेपछि सबैलाई एक किसिमको डर हुने रहेछ। हामी त्यसको साक्षी भयौं। कोही नजिक ल्याब राख्दा खतरा हुन्छ भनेर डराउने। कोही आफू काममा खट्नुपर्छ भनेर डराउने।

हामीमा ल्याबको विस्तार चाहिँ छिटो भयो तर टेस्टको सङ्ख्या त खासै बढेको देखिएन नि ?

यो प्रश्नको उत्तर हामीले भन्दा पनि सरकारले दिने हो जस्तो लाग्छ। हामीले त ल्याब तयार गरिदिएको मात्र हो। अब स्याम्पल किन बढी कलेक्सन भएन्, किन परीक्षण भएन भन्ने कुरा हामीले भन्दा आधिकारिक हुन्न।

हामीले भारतभन्दा छिटो १६ ठाउँमा ल्याब बनाएका थियौं। अझै पनि भारतको कतिपय ठाउँमा स्याम्पल रिफर गर्नपर्छ। तर, हाम्रो त्यो अवस्था छैन्।

स्याम्पल कलेक्सनदेखि रिपोर्ट निकाल्दासम्म हुने प्रकियाहरू के-के हुन र त्यसमा कस्तो जटिलता देखिन्छ ?

हामीले जाँच्न खोजेको आरएनए एकदम सूक्ष्म हुन्छ। पीसीआर प्रविधिले सूक्ष्म रुपमा रहेको आरएनलाई लाखौं करौडौंको सङ्ख्यामा एम्प्लिफाइ गर्छ। त्यसपछि मात्रै हामी त्यसको विश्लेषण गर्न सक्छौं।

पीसीआर पनि दुई किसिमको हुन्छ। कन्भेन्सनल पीसीआरबाट हामीले भाइरस छ कि छैन भन्ने हेर्न मिल्छ भने रियल टाइम पीसीआरबाट क्वान्टिफिकेसन गर्न मिल्छ। भाइरसको सङ्ख्या कति छ थाहा हुन्छ।

रियल टाइम पीसीआरमा भाइरसको प्रिजेन्स के-के भयो भन्ने सबै थाहा हुन्छ। कुन स्टेजमा के भयो भनेर हामी मजाले हेर्न सक्छौ‌ं। अहिले हामीले कोभिड १९ को लागि प्रयोग गरेको रियल टाइम रिभर्स ट्रास्किप्सन हो।

पहिला हामीले के बुझ्नुपर्छ भने भाइरस आरएन र डीएनए गरी दुई किसिमको हुन्छ। आरएनएको एउटा मात्र स्टाण्ड हुन्छ। डीएनए भाइरसमा दुईवटा स्ट्याण्ड हुन्छ। त्यही भएर हामीले रिभर्स ट्रान्सक्रिप्सन प्रयोग गरेको हो। यो प्रविधिले आरएनएलाई दुईवटा बनाउँछ। हामीले अहिले यस्तो रिएजेण्टहरू हालेका छौं कि जसले कोभिड-१९ मात्र डिडेक्ट गर्छ। अर्थात‍् हामीले प्रयोग गरेका रिएजेण्ट भनेको अरूसँग नमिल्ने कोभिड-१९ को हो।

डा. महेन्द्रप्रसाद भट्ट

अहिले प्रयोग गरेका ल्याब पहिले के को लागि प्रयोग हुन्थे ?

यो धेरैले हामीलाई सोध्ने प्रश्न हो। विभिन्न स्थानमा फरक-फरक ब्राण्डको रियल टाइम पीसीआरहरू छन्। कतिपय पहिले नै भएका स्रोत साधन हुन्। जस्तै, एचआइभीको भाइरल लोड भएको पोखरा र विराटनगरमा ल्याब थियो। त्यसैगरी कृषि र भेटको ल्याबहरू पनि थिए। आखिर एप्लिकेसन त फरक हो नि, टेक्ननोलोजी र प्रिन्सिपल त एउटै हो।

हामीले पहिले प्रयोग भएका ल्याबहरूलाई खोजेर नै कोभिड टेस्टिङमा प्रयोग गरेका हौं। धेरैजसो राज्यले नै सञ्चालन गरेको ल्याब हो।

तर, हामीले थाहा पाउनुपर्ने कुरा के हो भने पीसीआरले मात्र पुग्दैन्। बायोसेफ्टी चाहिन्छ लेभल टू को। कन्जुम लेभल पनि चाहिन्छ। सेन्ट्री फ्युज, प्रोटेक्ट सेकर पनि चाहिन्छ। कतिपय ठाउँका ल्याब प्रयोग नभएको, कतिपय इन्स्टल नै नभएको पनि रहेछ।

विभिन्न ठाउँका ल्याबहरूबाट विभिन्न सेट जम्मा गरेर ल्याब बनाएको हो। किनकि, सबै ठाउँमा सबै सामान थिएन। धन्न हामी ल्याब क्षेत्रकै मानिस भएको कारण कहाँ कति ल्याब र त्यसलाई चाहिने सामान छ भन्ने कुरा थाहा भयो।

विशेषगरी भेटेरिनरीको ल्याबहरू स्ट्याण्डर्ट सेटअपको रहेछ।  पहिले सेटअप नभएको भए त यो लेभलको ल्याब सेटअप गर्न त वर्षौ लाग्छ। किनकि भौतिक पूर्वाधार र मेसिनहरू रातारात बनाउन गाह्रो हुन्थ्यो।

पहिला अन्य प्रयोजनको लागि सञ्चालन भएका ल्याब कोभिडको लागि सञ्चालन गर्नको लागि धेरै उपकरणहरू थप्नुपर्ने रहेछ, सबै हामीसँग थियो त ?

हो हामीसँग के सामान कता छ भन्ने कुरा थाहा नभएको भए उपकरण जम्मा गर्न गाह्रो हुन्थ्यो। के-के चाहिन्छ  र त्यो कहाँ पाइन्छ ? भन्ने कुरा हामीलाई पहिला नै थाहा थियो। कोभिडको लागि भनेर मागेपछि सामग्री भएकाहरूले नदिने कुरै थिएन। कुनै सामान कताबाट उठाएर ल्याइयो, कुनै कताबाट। सबैलाई कोभिडसँग लड्नु परेकाले सबैले सहयोग गरे।

भरतपुर अस्पतालमा ल्याब बनाउन पहिलेदेखि नै तयारी रहेछ। तर, कस्ले के भन्दिने ? कसले के । भरतपुर अस्पतालमा स्ट्रक्चर मिलेन। कृषि विश्वविद्यालयमा बनाउन खोज्दा अलिक डराएछन्। क्यान्सर अस्पतालले पनि यता नल्याउनु भनेर भनेछन्।

हामी गएपछि त्यहाँको स्थानीय निकाय र अन्य सरोकारवालाहरूसँग बस्यौ। हामीले उहाँहरूको कुरा नसुनिकन ठाउँ निरीक्षण गर्यौं। बढी सोधखोज गर्दा काम नहुने र कन्फ्युजन बढ्ने पक्का थियो।

दिनभरि हिँडेपछि हामीले त्यहाँ कृषि विश्वविद्यालयमा फाइनल गर्यौं। तर, रातभरिमा त्यहाँ त अर्को खिचडी पाकेछ। भोलिपल्ट यहाँ त हुँदैन भन्छन् सबै।  तर, हामीले उहाँहरूलाई सिधै भन्यौं, ‘यही ठाउँबाहेक अन्त सकिन्न, हुन्छ भने हुन्छ भन्नुस् नत्र हिँड्छौ।’

त्यसपछि पनि धेरै विरोध भयो। अन्तमा हामीले एस या नो मात्र भन्नुस् भन्यौं। उहाँहरूले एस भन्नु’भो त्यसपछि हामीले काम सुरु गर्‍यौं । ३० सेकेण्डको निर्णयले राम्रो काम भयो।

अहिले बनाएका ल्याब कोभिडको लागि मात्रै हो कि पछि पनि सञ्चालन हुन्छ?

यो ल्याब पछिसम्म पनि सञ्चालन गर्न मिल्छ। निरन्तरता दिने नदिने भन्ने कुरा राज्यको जिम्मा हो। यसलाई संरक्षण राज्यले नै गर्नुपर्छ। किनकि, अरू कुनै महामारी अथवा रोगमा पनि यो ल्याबले काम गर्छ।

अहिले हामीले जहाँ जुन ठाउँमा ल्याब सेट अप गरेका छौं। त्यो ओनरसिप सम्बन्धित संस्थाले लिएर पछिसम्म ल्याब सञ्चालन गर्नुपर्छ। अहिले सञ्चालन गरेका ल्याबले तीन करोड नेपालीको नमुना परीक्षण गर्न सक्छ।

यो ल्याब संरक्षण गर्नको लागी निती नियम बनाओस्। अझ झन राम्रो बनाएर जनताहरुलाई सस्तोमा गुणस्तरिय सेवा दियोस्।

अब प्रदेश सरकारले यी ल्याबहरू चलाउनुपर्छ। त्यहाँ रिसर्च गर्नुपर्छ। विभिन्न रोग डाइग्नोस्टिक गर्नुपर्छ। नत्र ती ल्याब फेरि पहिलेजस्तै थन्किन्छन्।

गोविन्द अकेला

अहिले तपाईंहरूले सञ्चालन गरेका ल्याबहरूको निरीक्षणपछि कसले गर्छ, ल्याबजस्तो कुरा अनुगमन त हुनुपर्ने होला  ?

हो, अहिलेसम्म प्रयोगशाला क्षेत्रलाई राज्यले राम्रोसँग सोचेको छैन्। हेरेको छैन। निजीले आफ्नो ल्याब चलाएको छ। त्यसको गुणस्तर छ/छैन कसैलाई मतलब छैन। केकति शुल्क लिएको छ सरकारलाई थाहै छैन। क्वालिटी रिपोर्ट र क्वालिटीको जनशक्ति छ/छैन भन्ने पनि थाहा छैन्।

अहिले त एउटा क्वालिटी मेन्टेन गरेका छौं हामीले । पछि राज्यले यसलाई निरन्तरता देला त ?

पछि क्वालिटी मेन्टेन गर्नको लागि त नीति नियम बनाउनुपर्यो। जनशक्तिहरू जुटाउनुपर्यो। भ्याकेन्सीहरू खुलाउनुपर्यो । अब राज्यले सम्भावित महामारीसँग जुध्नको लागि मेनपावर र ल्याबहरू तयार राख्नुपर्यो।

यो सबै ल्याबहरुलाई नियमन, नियन्त्रण र अनुगमन गर्नको लागी एउटा राज्यको निकाय छुट्टै चाहियो। अब देशभरको ल्याबहरूलाई नियमन र अनुगमन गर्न एनपीएचएलले सक्दैन। किनकि, त्यहाँ त जनशक्ति नै छैनन्। त्यो जनशक्तिले अब देशभरको ल्याबलाई धान्दैन ।

अब स्वास्थ्य मन्त्रालयले ल्याबहरू नियमन गर्न छुट्टै महाशाखा बनाउनुपर्‍यो। जस्तो कि औषधि व्यवस्था विभागले देशमा आउने औषधिहरूका नियमन गर्छ। एउटा ल्याबले हजारवटा टेस्ट गर्छ भने त्यसको नियमन गर्नुपर्छ कि पर्दैन ।

अब पनि ल्याब र त्यहाँ प्रयोग भएका किट र उपकरण नियमन भएन भने अत्यन्तै जोखिम उत्पन्न हुन्छ। अब एउटा छुट्टै यस्तो प्रयोगशाला महाशाखा हुनुपर्‍यो जसले एनपीएचएललगायतका देशभरका अन्य ल्याबहरूलाई नियमन गरोस्। किनकि, एनपीएचएल त एउटा ल्याब मात्रै हो। त्यसैले मुलुकभरिको ल्याब नियमन गर्न सक्दैन।

किनकि, देशभरिको स्वास्थ्य चौकी, अस्पताल र अन्य निकायहरुको ल्याबको गुणस्तरको बारेमा नियमन कसैले गरिरहेको छैन्। नियमन नै नभएको ल्याबबाट कस्तो रिपोर्ट आउला ? कसैले सोचेको छ। अब प्रयोगशालाको गुणस्तर नजाच्ने हो भने धेरै भद्रगोल हुन्छ।

ल्याब चलाउन सक्ने दक्ष जनशक्तिको के छ अवस्था ?

अहिले हाम्रो केही साथीहरूले भोलेन्टियर गरिरहेका छन्। केही सरकारी विज्ञहरूले पनि काम गरिरहेका छन्। सिस्टम र सिस्टम बाहिरका दुवै किसिमका जनशक्ति हामीसँग छ।

केस बढेर भयावह भयो भने १५० जना प्रयोगशालाकर्मीको नाम र नम्बर हामीले सरकारलाई उपलब्ध गराएका छौं। उनीहरू जुनसुकै बेला आएर काम गर्न सक्छन्। हामीसँग सबै किसिमको प्रयोगशालाकर्मी स्ट्याण्डबाई छन्। हामी जुनुसकै समयमा राज्यलाई चाहेको बेला जनशक्ति दिनसक्छौ। टेस्ट गर्ने मात्र होइन यो महामारी कसरी नियन्त्रण गर्ने इपिडिमियोलोजिस्टको जनशक्तिहरू पनि हामीसँग छ। राज्यले चाहेको खण्डमा जनसुकै बेला जनशक्तिहरू उपलब्ध हुन्छन्।

अनि अहिले कोभिड टेस्ट गरिरहेका ल्याबले सही रिपोर्ट दिन्छ भन्ने आधार के ?

अहिले हामीले प्रयोग भएका मेसिन अमेरिका जर्मनमा बनेका मेसिन हुन्। पहिलेदेखि चलिरहेको हो। यसमा आफ्नै इन्टरनल कन्ट्रोल छ। स्याम्पल कलेक्ट गर्दा गलत भएन भने अधिकांश पीसीआरमा पोजेटिभ आएको रिपोर्ट पोजेटिभ नै आउँछ। हामीले एक ल्याबमा पोजेटिभ आएपछि फेरि अर्को ल्याबमा पठाउँछौं। एनपीएचएलले पनि बेलाबेलामा हङकङ पठाउँछ। यो  बेलाबेलामा गरिरहनुपर्छ।

हामीले बनाएको ल्याबको रिपोर्ट एनपीएचएलमा ‘रि-कन्फर्म’ गर्दा पनि उस्तै आएकाले गलत रिपोर्ट आउँछ भन्ने शंकै छैन ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment