Comments Add Comment

हमाल भन्छन्–‘भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन’

नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतीय मिडियामा यसलाई लिएर टिप्पणी सुरु भइसकेको छ। नेपालले आफ्नो भू-भाग वार्ताको माध्यमबाट फिर्ता ल्याउने बताइसकेको छ ।

यो विषयमा नेपाली चलचित्रका कलाकारहरूले पनि आवाज उठाउन थालेका छन् । एकातिर, नायिका मनिषा कोइरालाले गरेको एक ट्विटको विषयलाई लिएर भारतीय मिडिया उनलाई तल्लो स्तरको गाली गलौजमा उत्रिएका छन् ।

यो विषयमा नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले पनि आफ्नो भनाइ सार्वजनिक गरेका छन् । नायक हमालले फेसबुकमा भिडियो नै सार्वजनिक गर्दै आफ्नो भनाइ राखेका हुन् । हमालले अंग्रेजी भाषामा सार्वजनिक गरेको आफ्नो विचारमा भनेका छन्–‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधिले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू-भाग हो ।’

हमालले भारतको पछिल्लो समयको गतिविधि स्वीकार्य नभएको पनि उल्लेख गरेका छन् । उनले सम्पूर्ण नेपाली जनताले आफ्नो सीमाको विषयमा कुनै पनि खालको सम्झौता नगर्ने उल्लेख गरेका छन् ।

हमालले नेपाल र भारतबीच उठेको सिमानाको समस्याले सिङ्गो देशका नागरिकलाई जस्तै आफूलाई पनि मर्माहत बनाएको बताएका छन् । उनले भारतलाई इतिहास पल्टाएर हेर्न पनि आग्रह गरेका छन्। हमालले भारतले भूकम्पको समयमा नेपालमा नाकाबन्दी लगाएर भारतले दिएको ठूलो दुःखलाई नेपालले कहिले पनि बिर्सन नसक्ने पनि बताएका छन् ।

उनले भनेका छन्–‘भारतले सिमानाको समस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कूटनीतिक तवरमा समस्या समाधान गर्न आवश्यक छ । सिमानाको समस्याले गर्दा नेपाली जनतामा उठिरहेको आक्रोशलाई शान्त बनाउन भारतले सहयोगी भावका साथ कदम चाल्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment