Comments Add Comment

वीरगञ्जको गण्डक अस्पतालमा सुरु भयो कोरोना उपचार

८ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालले बिहीबारदेखि कोरोना संक्रमितको उपचार सुरु गरेको छ ।

सिद्धार्थ माविको आइसोलेसनमा रहेका २५ जना संक्रमितलाई ल्याएर उपचार सुरु गरिएको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

नारायणी उपक्षेत्रीय अस्पतालमा संक्रमितको चाप बढेपछि अस्पतालमा नअटाएकाहरुलाई विद्यालयको आइसोलेसन राखिएको थियो ।

कोभिड अस्पताल सञ्चालनका लागि वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले शनिबार नै हस्पिटलको साँचो नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।

कोभिड अस्पताल सञ्चालनको जिम्मेवारी पाएसँगै नारायणी अस्पतालले डा. सिंहलाई कोअर्डिनेटर तोक्दै आवश्यक जनशक्ति, स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापन मिलाएको हो ।

नारायणी उपक्षेत्रीय अस्पतालबाट पुनः जनरल सेवा सञ्चालन गरिने भएपछि गण्डक हस्पिटललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय भएको थियो ।
गण्डक अस्पतालबाट संक्रमितको उपचार गराउन नारायणी अस्पतालले ढिलाइ गरेपछि आलोचना समेत हुन थालेको थियो ।

तर नारायणी अस्पतालले भने आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीलगायतको व्यवस्थापन मिलाउँदा ढिलाइ हुन गएको बताएको छ ।

‘भौतिक संरचनाले मात्र अस्पताल सञ्चालन हुने कुरा आएन,’ डा. सिँहले भने, ‘अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, सञ्चालनको स्रोत तथा साधनको पनि आवश्यक हुन्छ । त्यसैको व्यवस्थापन मिलाउँदा ढिलाइ भएको हो ।’

७० बेडको आइसोलेसन वार्ड भएको कोभिड अस्पताल सञ्चालनमा लाग्ने सम्पूर्ण खर्च भने महानगरपालिकाले व्यहोर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment