Comments Add Comment

कोरोनाको खोप पर्खिनु उचित होइन, यो छिटै आउँदैन : अमेरिकी वैज्ञानिक

८ जेठ, काठमाडौं । एचआईभी भाइरसको विषयमा अनुसन्धान गरेका अमेरिकाका चर्चित वैज्ञानिक विलियम हेसलटाइनले अहिले कोरोना भाइरस (कोभिड–१९) को खोपको प्रतीक्षा गर्नु उचित नहुने बताएका छन् । उनले आफूलाई यो खोप छिटै बजार आउला भन्ने विश्वास नरहेको बताएका छन् ।

उनले कोरोना भाइरसको महामारी रोक्नका लागि खोपको प्रतीक्षा गर्नुभन्दा पनि बिरामीको राम्रो उपचार, उनीहरुको पहिचान र संक्रमण फैलिएको स्थानलाई आइसोलेसनमा राख्नुपर्ने बताए । अमेरिकी सरकारलाई सुझाव दिँदै उनले केही नेताले खोप आउने आशामा लकडाउन खुकुलो पार्ने निर्णय गर्नु सही रणनीति नभएको बताए ।

यसअघि निस्किएका अन्य प्रकारका कोरोना भाइरसको लागि बनाइएका खोपले पनि मानिसको नाकलाई संक्रमण हुनबाट बचाउन सकेका थिएनन् । नाकबाट नै यी भाइरस शरीरमा प्रवेश गर्ने सम्भावना बढी हुने गरेको मानिँदै आएको छ ।

हेसलटाइनका अनुसार विना कुनै उपचार र खोप विना पनि कोरोना भाइरसलाई नियन्त्रणमा लिन सकिन्छ । त्यसका लागि कोरोना भाइरसका संक्रमितको सही पहिचान जरुरी हुन्छ । साथै संक्रमितलाई आइसोलेसनमा राख्नु सबैभन्दा प्रभावकारी उपाय हो । बाँकी मानिसहरुले बारम्बार हात धुने, मास्क लगाउने, सफाइमा ध्यान दिने जस्तो बानी बसाल्नुपर्ने उनको सुझाव छ ।

हेसलटाइनका अनुसार चीन र अन्य एसियाली मुलुकमा यो वैकल्पिक रणनीतिलाई निकै प्रभावकारी रुपमा लागू गरिएको थियो । तर, अमेरिकामा भने यस्तो देखिएन । हेसलटाइनका अनुसार चीन, दक्षिण कोरिया र ताइवानमा वैकल्पिक रणनीति प्रभावकारी भएको र अमेरिका, रुस र ब्राजिलले भने यो रणनीति राम्रोसँग पालना गर्न नसक्दा महामारीको यो अवस्थामा आउनुपरेको बताए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment