९ जेठ, काठमाडौं । देश लकडाउनमा छ, विकास निर्माणका काम लगभग ठप्प छन् । तर, काठमाडौंमा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्न थालेको काम रोकिएको छैन ।
लकडाउनपछि भएको अन्योलले धेरै भारतीय कामदार घर फर्किएपछि केही दिनसम्म काम नरोकिएको हैन । तर, उपलब्ध प्राविधिक र कामदारलाई परिचालन गर्ने नीति बनाएर नेपाल विद्युत् प्राधिकरणले यो काम जारी राखेको छ । अहिले चाबहिल र बुढानीलकण्ठ क्षेत्रमा तार भूमिगत गर्ने काम भइरहेको छ ।
प्राधिकरणले अलिहेसम्म दुई किलोमिटर सडक क्षेत्रमा यस्तो काम गरिसकेको छ । यसमा तारको लम्बाइका हिसाबले करिब २० किलोमिटर बराबर हो । आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार तीव्र गतिमा काम गर्न नसकिएपनि रोकिएको छैन ।
‘कामदारको अभाव छ, भारतबाट प्राविधि जनशक्ति ल्याउनुपर्ने छ। अहिले दुवैै देशमा लकडाउन भएकाले त्यो सम्भव भएको छैन,’ सिलवालले भने,’यहाँ जे जति स्रोत साधन उपलब्ध छ, त्यसबाट काम गरिररहेका छौं।’
अहिले चाबहिल क्षेत्रमा तार बिछ्याउने काम धमाधम भइरहेको छ। चाबहिल-गौशाला खण्ड खानेपानीको नयाँ पाइप राखेर कालोपत्रे गर्ने तयारी हुँदैछ। त्यसअघि नै तार बिछ्याइसक्ने योजना प्राधिकरणको छ ।

‘चाबहिलमा सडक भत्किएकै अवस्था भएकाले त्यहाँ मेसिनको प्रयोग गरेनौं,’ सिलवाल भन्छन्,’अन्य क्षेत्रमा भने हामी सडक नखनी मेसिनबाटै तार बिछ्याउँछौं ।’
यो परियोजनाको फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । पहिलो चरणको काम सन् २०२१ अक्टोबरसम्म सक्नेगरी भारतको केईआई कम्पनीसँग ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा तोकिएको क्षेत्रमा तार बिछ्याउन सात अर्ब खर्च गरिँदैछ ।
प्राधिकरणको रत्नपार्क र महाराजगञ्ज विद्युत् वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा हुन लागेको यो कामलाई पहिलो चरणको आयोजना भनिएको छ । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, बुढानीलकण्ठ, टोखा, गोङ्गबु, महाराजगञ्जलगायतका क्षेत्रमा तार भूमिगत गरिनेछ । रत्नपार्क वितरण केन्द्रअन्तर्गतका रत्नपार्क, न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल, जोरपाटी क्षेत्रमा पनि तार जमिनमुनि बिछ्याइनेछ ।
आयोजनाअन्तर्गत ११ हजार भोल्टेजको करिब चार सय ५० किलोमिटर र चार सय भोल्टेजको करिब आठ सय किलोमिटर तार भूमिगत गरिनेछ । यसै क्षेत्रमा करिब चार सय ५० किलोमिटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ । वितरण प्रणालीलाई स्वचालित बनाउन फिल्ड रिमोर्ट टर्मिनल युनिट पनि जोडिँदैछ । त्यसलाई नियन्त्रण गर्न स्युचाटारमा वितरण नियन्त्रण कक्ष पनि बनाइनेछ ।
यो प्रणाली जडान भएपछि विद्युत् वितरणको काम अझ बढी प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ ।

 
 
 
 
 
 
 
 
 
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4