Comments Add Comment

पर्सामा जेठ ३ गतेयता नयाँ संक्रमित शून्य

चिकित्सक भन्छन्-परीक्षणको दायरामा कमी भयो

९ जेठ, काठमाडौं । पर्सामा जेठ ३ गतेयता नयाँ कोरोना संक्रमण देखिएको छैन । जेठ ३ मा दुईजनामा कोरोना संक्रमण पुष्टि भए पनि त्यसयता नयाँ संक्रमण नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

पर्सामा पहिलो पटक चैत २९ गते ३ जना भारतीयमा कोरोनाको संक्रमण फेला परेको थियो । तर वैशाख महिना भने पर्साका लागि सुखद् रहेन ।

वैशाखमा मात्रै ८२ जना संक्रमित भए । वैशाख १४ मा २ जना, वैशाख १५, १७ र २१ मा एक/एक जना, वैशाख २४ मा १७ जना, वैशाख ३० मा एकैदिन सबैभन्दा बढी ५७ जना, वैशाख ३१ मा ३ जना संक्रमित फेला परेका थिए ।

जेठ २ मा ४ जना र जेठ ३ मा २ जना संक्रमित भेटिएका थिए । पर्सामा अहिलेसम्म कूल संक्रमितको संख्या ९१ जना छ ।

पुष्टि भएकामध्ये तीन जना भारतीय नागरिक छन् भने ८८ जना नेपाली नागरिक छन् । पर्सामा संक्रमित भेटिएका तीनजना भारतीय नागरिकलाई वैशाख १४ गते डिस्चार्ज गरिएको थियो । तर एकजना भारतीयमा पुनः संक्रमण देखिएपछि उनलाई फेरि अस्पताल भर्ना गरिएको छ ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका मेसु डा. मदन उपाध्यायले जेठ ३ गतेयता नयाँ संक्रमण नभेटिनुमा परीक्षणको दायरमा आएको कमीलाई मान्दछन् ।

उनले अनलाइनखबसँग भने, ‘परीक्षण गर्ने पीसीआर किट र भीटीएम (स्वाब राख्ने भाँडो) अभावका कारण केही दिनयता परीक्षण कार्य रोकिन गयो । जसले गर्दा कन्ट्याक ट्रेसिङ गरिएका व्यक्तिहरुको स्वाब संकलन प्रभावित हुन पुग्यो । किट र भीटीएम आएसँगै दुई दिनदेखि फेरि स्वाब संकलन कार्य सुरु भएको छ । यसको रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ ।’

‘एक जना संक्रमितको कन्ट्याक ट्रेसिङबाट उनको परिवारलगायत छिमेकी पनि संक्रमित भएको केस हामीले पाएका छौं । यस्ता ट्रेसिङ गरिएका धेरै व्यक्तिहरुको परीक्षण हुनै बाँकी छ,’ डा. उपाध्यायले भने, ‘केही दिन नयाँ संक्रमण देखिएन भनेर कोरोना थामिएको भन्न मिल्दैन । त्यसैले सजगता अपनाउँदै परीक्षणको दर बढाउनु आवश्यक छ ।’

कन्ट्याक ट्रेसिङ कार्यदलका संयोजक एवं पर्साका जनस्वास्थ्य प्रमुख कामेश्वरप्रसाद चौरसियाका अनुसार कन्ट्याक ट्रेसिङ गरिएका २५० जनाभन्दा बढीको स्वाब संकलन हुन बाँकी छ । कन्ट्याक ट्रेसिङ गरिएका मध्ये २३२ जनाको भने स्वाब संकल भइसकेको उनले बताए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार जिल्लामा ५५० भन्दा बढीको कन्ट्याक ट्रेसिङ गरिएको छ । ‘किट र भीटीएम अभावले उनीहरु मध्ये २५० भन्दा बढीको स्वाब संकल हुन पाएको छैन,’ सहायक प्रजिअ बस्नेतले भने ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा ७१ जना र गण्डक कोभिड अस्पतालमा २५ जना गरी ९६ जना कोरोना संक्रमित पर्सामा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment