Comments Add Comment

लकडाउनमा बालबच्चालाई गेमिङको लत !

अहिले अधिकांश बालबालिका फुर्सदिला छन् । शैक्षिक क्यालेन्डर नै अस्तव्यस्त भएको यो क्षणमा उनीहरूले लेखपढ गर्ने मेलोमेसो पनि हराएको छ । के पढ्ने, के गर्ने ? अन्यौलमा छन् धेरैजना । हुन त पढ्नका लागि साइत हेरिरहनुपर्ने होइन। पुराना पुस्तकहरू पढ्ने, लेख्ने गरे हुन्छ । तर, अहिलेको माहोलमा बालबच्चाहरुमा पढ्ने मुड सहजै बन्ने छाँट देखिँदैन ।

उनीहरू घरभित्रै छन् र यस्तो अवस्थामा कसरी दिन कटाउने भन्ने कुराले पनि सताएको हुनसक्छ । नियमित विद्यालय धाउने बानी परेका उनीहरूलाई यो फुर्सदको क्षण रमाइलो मात्र होइन, पट्यारलाग्दो पनि भएको हुनसक्छ । यस्तो क्षणमा उनीहरूलाई सही काममा व्यस्त राख्न सकिएन भने बिग्रने भय हुन्छ।

खासगरी पढ्ने वा काम गर्ने बानी छुट्नसक्छ। सुत्ने-उठ्ने एवं खाने तालिका गडबड हुनसक्छ । अहिले यस्तो जोखिम किन पनि रहन्छ भने उनीहरूको हातमा मोबाइल, ल्यापटप, टेलिभिजनको रिमोर्ट हुन्छ । यसैमा उनीहरू लिप्त हुनसक्छन् ।

अझ अहिलेका बालबच्चा मोबाइलमा गेम खेल्न हुरुक्कै हुने गर्छन् । मोबाइल पाउनसाथ एउटा कुनामा पसेर घण्टौंसम्म गेम खेलिरहन सक्छन् । यसले उनीहरूको मानसिक स्वास्थ्यमै असर पुग्ने खतरा हुन्छ । १८ जुन २०१८ मा विश्व स्वास्थ्य संगठनले पनि गेमिङको लतलाई मानसिक विकृति घोषणा गरेको छ । विशेषज्ञहरूका अनुसार यो एक समस्या हो जसको तुरुन्त उपचार गर्नुपर्ने हुन्छ ।

गेमिङको लत

गेमिङ कम्प्युटर गेमहरू वा कुनै विद्युतीय ग्याजेटहरू जस्तै फोन, ट्याब्लेट, ल्यापटप, प्लेस्टेसन आदिमा खेलिने खेलहरू हुन् । ५-६ वर्षका बच्चादेखि युवाहरू मात्रै होइन ४० वर्ष कटिसकेका मानिसहरूलाई पनि गेमिङको लतले सताएको पाइन्छ ।

गेमिङको मज्जामा भुल्दै जाँदा उनीहरूलाई एकोहोरो बनाउँछ र दिनरात त्यसैमा भुल्न थाल्छन् । यस्तै, शारीरिक खेलहरू खेल्नको सट्टा सोफा वा ओछ्यानमा बसेर आफ्नो ग्याजेटमा विभिन्न गेमहरू खेल्न मन पराउँछन् ।

यसले उनीहरू शारीरिक रुपले सक्रिय हुँदैनन् र शारीरिक विकास ठिकसँग हुन पाउँदैन । धेरै बेरसम्म गेम खेल्ने बानीले उनीहरूलाई आँखाको समस्याले पनि सताउनसक्छ ।

गेममा भुल्ने बच्चाहरू आफ्नो वरिपरिका मानिसहरूसँग धेरै बोल्दैनन् र उनीहरू एक्लै बसेर घण्टौंसम्म खेल्न थाल्छन् । यसले उनीहरूलाई अरूसँग घुलमिल हुने मौका दिँदैन र असामाजिक बनाउँछ । अध्ययनहरूका अनुसार छोरीको तुलनामा छोराहरू गेमिङको लत धेरै हुनेकुरा अगाडि आएको छ ।

जब बन्छ लत

गेमिङको लतका केही लक्षणहरू छन् । आफ्नो धेरै समय गेम खेल्दै बिताउने र यसको असर पढाइ, दैनिक क्रियाकलाप आदिमा पार्नुलाई लतको रुपमा लिन सकिन्छ ।

गेम धेरै खेल्नाले  सिर्जनात्मकतामा ह्रास आउन थाल्छ । उनीहरूले सकरात्मक चीजलाई गुमाउन थाल्छन् । गेमिङको लतले उनीहरूको मस्तिस्कको स्वास्थ्यमा पनि असर गर्न थाल्छ ।

मानसिक रोग विशेषज्ञका अनुसार कग्नेटिभ बिहेवरियल थेरापी, डि-एडिक्सन थेरापीका साथै औषधिहरूको सेवन गनुपर्ने सम्मको अवस्था आउनसक्छ ।

के गर्ने त ?

मोबाइल, ल्यापटप आदिमा बस्ने समय निर्धारण गरिदिनुपर्छ । निश्चित समय मात्र उनीहरूलाई मोबाइल वा ल्यापटप चलाउन दिने गरौं । साथै अन्य समय बालबच्चालाई एक्लो हुन नदिने । उनीहरूसँग कुनै न कुनै रुपमा सहभागी हुने। घरायसी कामकाजमा उनीहरूलाई व्यस्त राख्ने । खानेकुरा बनाउने, बगैंचामा खेल्ने, फूलहरू रोप्ने, चित्रहरू बनाउने जस्ता काममा खटाउने । उनीहरूसँग घरभित्रै अरु खेलहरु खेल्न सकिन्छ। जसले उनीहरूलाई स्क्रिनबाट मुक्त राख्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment