
१० जेठ, चितवन । कोरोना संक्रमित चितवनका वृद्ध दम्पतीका छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार चितवन भरतपुर महानगरपालिका-६ गीतानगर केशरवागका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको थियो ।
शुक्रबार भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुका ५२ वर्षका छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
उनै छोराले बुवालाई क्यान्सरको उपचार गराउन भारत लगेका थिए । उनमा बिहीबार गरिएको परीक्षणमा कोरोना नदेखिएको अस्पतालले जनाएको छ । शंका लागेर पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको पाइएको छ । उनको अवस्था सामान्य छ । उनी भरतपुर कोरोना अस्पतालमा छन् ।
भरतपुरमा शुक्रबार गरिएको १०८ स्वाब परीक्षणमा १०७ जनाको नेगेटिभ आएको छ । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ५ जना पुगेको छ ।
यसअघि पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ का आमा छोरा संक्रमण पछि निको भएर घर फर्किसकेका छन् । भरतपुर कोरोना अस्पतालमा अहिले नवलपरासीका २ र चितवनका ३ जना उपचाररत रहेका छन् ।
प्रतिक्रिया 4