+
+
Shares

कीर्ते अभियोगमा वडासचिव पक्राउ, वडाध्यक्ष फरार

रासस रासस
२०७७ जेठ १० गते १४:२१

१० जेठ, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर (कीर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ ।

विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मिति केरमेट गरी फरक पारेर प्रतिलिपि जारी गरेको भन्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरको मुद्दा दायर भएको थियो ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले वडा सचिव कहार र रामग्राम–५ कि रुक्शाना शेषलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । फरार रहेका वडाध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रामग्राम–५ का सुबेदार शेष र रुक्शाना शेषको विवाहदर्ता प्रतिलिपि दिँदा केरमेट गरी मिति फरक पारिएको थियो । रुक्शानाका पति सुवेदारले सरकारी छाप दस्तखत किर्ते गरिदिने कार्यमा संलग्न वडाध्यक्ष गुप्ता, वडा सचिव कहारसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

उक्त कार्यमा आफ्नै श्रीमती रुक्शाना, वडाध्यक्ष गुप्ता, वडा सचिव कहार, तत्कालीन वडा सचिव नन्दलाल कहार, कार्यालय सहयोगी अमरलाल कहार गरी पाँच जना संलग्न रहेको भनी विपक्षी बनाइएको थियो । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले कीर्ते कागज बनाइदिने प्रतिवादी गोविन्द र किर्ते कागज प्रयोग गर्ने रुक्शानालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको तथा नन्दलाल कहारलाई रु ६० हजार धरौटीमा छाड्ने आदेश भएको अदालतका निमित स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिए । प्रतिवादीमध्येका कार्यालय सहयोगी अमरलालको भने केही दिन अगाडि मृत्यु भएको छ ।

“म वडा कार्यालयमा गई विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि सराइ अध्ययन गर्दा तत्कालीन गेरमी गाविस (हाल पाल्हीनन्दन–५) को दर्ता नं ४७ रहेको ०७० कात्तिक ४ मा जारी गरिएको विवाह दर्ता प्रमाणपत्रमा विवाह मिति ०६२ चैत १५ उल्लेख रहेकोमा वडा सचिव गोविन्द कहारले सोही दर्ता नंको प्रतिलिपि बनाउँदा केरमेट गरी विवाह मिति ०६० चैत १५ गते बनाई फरक पारेको पाएपछि प्रतिवादीहरुउपर कानूनबमोजिम सजायँको माग गर्दै मैले जाहेरी दिएको छु”, सुवेदारले जाहेरीमा उल्लेख गरेका छन् ।

पतिपत्नी सुबेदार र रुक्शानाबीच विवाद भएपछि रुक्शानाले जिल्ला अदालतमा अंश नामसारी मुद्दा दिएपछि अनुसन्धान हुँदै जाँदा उक्त रहस्य खुलेको थियो । वडाध्यक्ष गाउँमा खुला घुमिरहेकाले तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्नुपर्ने पीडित पक्षको माग छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?